संसदमा ओलीको कडा बोली तर बिझाउने शैली

काठमाडौं । संसदमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट बाहिरिएपछि मंगलबार पहिलो पटक प्रतिनिधिसभालाई सम्बोधन गरेका छन् । डेड घण्टा लामो सम्बोधनका क्रममा उनले वर्तमान सत्ता गठबन्धनको आलोचना, सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनस्थापना हुने गरी भएको फैसलाको विरोध र आफू नेतृत्वको सरकारले गरेका कामकारबाहीको प्रशंसा गरे ।

‘विपक्षीको’ भनिने संसद बैठकमा ओलीले ‘विपक्षी दलको नेता’ले जस्तै संसद तताउने भाषण गरे । विपक्षी दलको नेताले सरकारको कामको आलोचना गर्नु र आफू सरकारमा हुँदा गरेको कामको प्रचार गर्न खोज्नु राजनीतिक आचरण हो जसलाई ओलीले पच्छ्याएका छन् । तर, मंगलबारको सम्बोधनमा उनको शैली र पारा भने ‘बिझाउने खालकै’ रह्यो । दुई-दुई पटक संसद विघटनको प्रयास गरेका दुई तिहाइको सरकारबाट अल्पमतमा परेर सत्ताबाट बाहिरिनुपरेको ‘पीडा’ वा ‘आक्रोश’ ब्यक्त गर्ने क्रममा उनको शैली र कतिपय भाषा भने अशोभनीय थियो ।

आफू र आफ्नो पार्टीप्रति भरोसा, सत्तारुढ गठबन्धनप्रति आक्रोश र प्रश्नहरु मिश्रित उनको सम्बोधन विगतमा सत्ता र शक्तिको रापतापमा हुँदाको जस्तै शैली अर्थात् बिझाउने खालको थियो । आफैंले दुई-दुई पटक भंग गरेको प्रतिनिधिसभामा सम्बोधन गर्दै गर्दा उनले कतै पनि गल्ती स्वीकार गरेनन्, बरु अदालतकै फैसलाप्रति असन्तुष्टि जनाए । त्यो पनि रुखो शैलीमा ।

संसदमा विपक्षी दलको नेताका रुपमा सरकारलाई प्रश्न गर्नु जायज र आवश्यक हो । तर ती प्रश्नहरुमा शीष्टता र अन्य दल तथा नेताको इज्जत पनि गर्न सक्नु विपक्षी दलको र नेताकै गरिमाको कुरा हो । जुन मंगलबारको सम्बोधनमा पूर्वप्रधानमन्त्री ओलीले देखाउन सकेनन् ।

ओलीले संसदमा उही दम्भ, उहि प्रतिशोध, उहि शैलीमा कुण्ठा पोखे । पटक पटक तिखा शब्दहरुले विरोधिलाई प्रहार मात्र गरेनन् । प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने सांसदहरुलाई ‘१६२ जनाको जत्था’को अशोभनीय उपमा दिए । परिस्थिति बदलियो, समय बदलियो तर, संसदले ओलीको बदलिएको शैली पाउन सकेन, विपक्षी दलको नेताबाट भएको सम्बोधनमा अपेक्षित भद्रता भेटाउन मुस्किल पर्यो । अरु त अरु उनले आफ्नै दलका वरिष्ठ नेता र आफ्नो विरोधमा रहेको सांसदहरुलाई ‘केही मान्छेहरु’ भनेर मानमर्दन गरे । ‘केही मान्छेहरु पाउँला र खाउँला भनेर पछि लाग्या लाग्यैछन् उनीहरुलाई मन्त्री बनाइदिनुस् न प्लिज, जसले मेरो पार्टीलाई केही घाटा होला त्यो सहुँला बुझाउँला,’ ओलीले हेपाहा शैलीमा भने ।

उनले सरकारलाई असंवैधानिक र अप्रजातान्त्रिक मात्र भनेनन् ‘जाली निवेदनबाट आएको’ आरोप लगाए । सरकारको नीति तथा कार्यक्रमलाई ‘एउटा सेतो कागजको टुक्रो’ भनेर होच्याएका उनले त्यहाँ उल्लेखित कुराहरु सामान्य रहेको मात्र भनेनन् भाषा र ब्याकरणको पाठ पनि पढाए । संसदमा विपक्षी दलको नेताका रुपमा सरकारलाई प्रश्न गर्नु जायज र आवश्यक हो । तर ती प्रश्नहरुमा शीष्टता र अन्य दल तथा नेताको इज्जत पनि गर्न सक्नु विपक्षी दलको र नेताकै गरिमाको कुरा हो । जुन मंगलबारको सम्बोधनमा पूर्वप्रधानमन्त्री ओलीले देखाउन सकेनन् ।

प्रधानमन्त्रीले पारी जाँदा मैले बनाएको पुल तर्नुपर्छ !
विपक्षी दलको नेताले सत्तापक्षलाई कटाक्ष गर्छ यो स्वभाविक हो । तर, कस्तो विषयमा कस्ता शब्द प्रयोग गर्छ भन्ने कुराको अर्थ हुन्छ । कस्तो नेताले कस्तो विषयमा जस लिन खोज्छ त्यसले पनि नेताको उचाइ बताउँछ । मंगलबार केपी ओलीले आफू नेतृत्वको सरकारले दार्चाुलामा बनाएको एउटा पुलमा जस लिन खोजे ।

यस्तोमा ओलीले देउवालाई ओलीको कटाक्ष गरे, ‘तपाईंको घरबाट पारीपट्टि जान अघिल्लो सरकारले बनाएकै पुल तर्नुपर्छ ।’ आफू सरकारमा आउनुअघि महाकाली नदीमा पुल बनाउन भारतले सहमति नदिने गरेको पनि उनले उल्लेख गरे । ‘मैले कुरा गरेर सहमति लिएपछि तुइनहरू विस्थापित भएका छन्, पुलहरु बनेका छन्,’ उनले भने, ‘त्यो त सम्माननीय प्रधानमन्त्रीजीलाई थाहा छ, उहाँको घरबाट पारीपट्टी पिथौरागढ जानु पर्‍याे भने अघिल्लो सरकारले हालिदिएको पुल तरेर जानुपर्छ ।’ यसबेला प्रधानमन्त्री शेरबहादुर देउवाको अनुहारको भावभंगी र हाउभाउले असहज महसुस गरिरहेको देखाउँथ्यो ।

जबकी दार्चुलामै तुइनबाट खसेर जयसिंह धामी बेपत्ता भएको घटना सेलाएको छैन । उनले त्यसलाई ‘भारतका कारण’ भन्ने तर्क दिंदै तुईन विस्थापित भएको जिकिर गरे । ‘तुईनहरु विस्थापित भएका छन्’ उनले भने ।

१६५ को जत्था
सांसद नीति निर्माता हुन । उनीहरु जनताका प्रतिनिधिहरु हुन । तर, अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्ने १६५ सांसदलाई जत्थाको संज्ञा दिए । उनले यो शब्दको प्रयोग कुनै एउटा सम्झौता अनुमोदन हुन्छ कि हुँदैन भनी प्रश्न गर्दा उनले भने ‘तपाईँसँग त १६५ जनाको जत्था छँदैछ नि, ल्याए भै गो नि ।’

सांसदलाई जत्था शब्द प्रयोग गर्दै ओलीले सोधेको प्रश्न हो- एमसीसी के गर्नुहुन्छ ? सत्तारुढ दलहरुले २५ साउनमा सार्वजनिक गरेको सरकारको साझा न्यूनमत कार्यक्रम, अमेरिकाको अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे मौन छ । सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी सम्झौता दुई वर्षभन्दा लामो समयदेखि संसदमा विचाराधीन छ । ओली सरकारले यसलाई अनुमोदन गर्न चाहेको थियो, तर साबिकको कम्युनिस्ट पार्टी (नेकपा) भित्रै यस विषयमा एकमत रहेन । सम्झौतामा नेपालको राष्ट्रिय हित विपरीतका विषय समेत रहेको भन्दै पार्टीभित्रबाटै विरोध भएपछि नेकपाले अध्ययन कार्यदल समेत बनाएको थियो । त्यसबेला प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसले भने एमसीसी सम्झौता छिटो पास गर्न दबाव दिएको थियो ।

अहिले संसदको समीकरण फेरिएको छ । नेकपाको एकता खारेज भएर एमाले र माओवादी केन्द्र ब्यूँतिएको मात्र छैन, २८ असारको सर्वोच्च अदालतको फैसलासँगै पुनस्र्थापित प्रतिनिधिसभामा नेकपा एमाले प्रतिपक्षमा छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतको समर्थनमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् । तर एमसीसी सम्झौताबारे सत्तारुढ गठबन्धन एकमत छैन । कांग्रेस एमसीसी सम्झौता संसदबाट अनुमोदनको पक्षमा भए पनि अरु दल सम्झौता परिर्माजनको पक्षमा छन् ।

यस्तो अवस्थामा विपक्षी दलका नेता ओलीले प्रधानमन्त्री देउवालाई ‘एमसीसी के गर्नु हुन्छ ?’ भनी सोध्नु जायज प्रश्न हो । सरकारको साझा न्यूनतम कार्यक्रममा एमसीसी नभेटेको भन्दै उनले भनेका छन्, ‘एमसीसी बिर्सनु भयो कि क्या हो ? मैले कतै देखिनँ । नेपाली जनताले जान्न चाहेको छ सम्माननीय प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी तपाईं ?’

जिब्रो पनि कति चपाउनुहुन्छ, चपाउँदा चपाउँदा जिब्रोमा पनि रगत आइसक्यो होला ।’ एमाले अध्यक्ष ओलीको प्रश्न जायज थियो । तर, प्रधानमन्त्रीले डराएर जिब्रो चपाउन थालेको र जिब्रोमा रगत आएको छ भनी कसरी ओलीले थाहा पाउँछन ? अर्थात, यो शब्द प्रयोग नगरेको भए भद्रता र शीष्टता झल्कने थियो ।

यो प्रश्न ठीक छ । तर, शब्द थोपर्दै ओलीले थपेका छन्, ‘अहिलेको गठबन्धन सरकारमा हुँदा तपाईंहरुले एमसीसी सम्झौता गर्नुभएको थियो जस्तो लाग्छ । एमसीसीको बारेमा त यो संयुक्त सरकारको साझा न्युनतम कार्यक्रममा छैन, यसलाई बिर्सनु भयो कि क्या हो ? मैले त देखिनँ । अनि केपी ओलीले कतै एमसीसी पास गर्नुपर्छ भनेको क्लिप खोजेर वातावरण बनाउन खोज्नुहुन्छ । गाली गर्ने अनि मेरै क्लिप बजाएर वातावरण बनाउन खोज्ने ? तपाईंहरूको साझा न्युनतम कार्यक्रममा एमसीसी के गर्नुहुन्छ ? भन्नुपरेन ? चुपचाप लागेको छ । नेपाली जनताले जान्न चाहेको छ, सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं एमसीसी के गर्नुहुन्छ ? । तपाईं त बहुत मजबुत प्रधानमन्त्री हुनुहुन्छ, १६५ सिट तपाईंको साथमा छ, तपाईंको पछाडि छ स्ट्रोङ । कसैको सर्पोट चाहिँदैन, कसैको मद्धत चाहिँदैन । त्यो १६५ को सबल जथ्थाले के भन्छ ? एमसीसी पास गर्ने, फेल गर्ने कि चुप लाग्ने ?’

जिब्रो चपाउँदा चपाउँदै रगत आइसक्यो होला
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले संसदमा केही गम्भीर प्रश्न उठाए– साझा न्यूनतम कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याउने विषय खोइ ? आफु प्रधानमन्त्री हुँदा संसदबाट लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको चुच्चे नक्सा जारी भएको, चुच्चे नक्साका लागि संविधान संशोधन गरेको र लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ता ल्याउने भनी किन भन्न नसकेको भन्ने प्रश्न गरे । उनले यो प्रश्न उठाउनु जायज मात्र होइन गम्भीर पनि छ । यो राष्ट्रियतासंग जोडिएको विषय हो र प्रतिपक्षीले सरकारलाइ खबरदारी गर्ने विषय पनि हो । सरकारको नीति तथा कार्यक्रममा यसलाई एक समस्याका रुपमा मात्र उल्लेख गरिएको विषयलाई उनले उठाउनु जायज थियो ।

तर, पहि जायज प्रश्न गर्दा ओलीले प्रयोग गरेका शब्दहरु भने तिखा छन । सभ्य भनिने संसदमा असभ्य सुनिने खालका रहे । ‘एउटा शब्दावली लेख्नुभएछ साझा न्युनतम कार्यक्रममा- छिमेकीहरुसँगको सीमा विवाद कुटनीतिक पहल के-के बाट टुङ्ग्याइनेछ । छिमेकीहरुसँग भन्नाले कुन कुन छिमेकीसँग कहाँ-कहाँ, के-के समस्या छ ? छिमेकीहरुसँगको सीमा समस्या कहाँ कहाँ के-के छ ? कति साह्रो डराएको यो सरकार ? डराउनुको पनि हद हुन्छ नि । जिब्रो पनि कति चपाउनुहुन्छ, चपाउँदा चपाउँदा जिब्रोमा पनि रगत आइसक्यो होला ।’ एमाले अध्यक्ष ओलीको प्रश्न जायज थियो । तर, प्रधानमन्त्रीले डराएर जिब्रो चपाउन थालेको र जिब्रोमा रगत आएको छ भनी कसरी ओलीले थाहा पाउँछन ? अर्थात, यो शब्द प्रयोग नगरेको भए भद्रता र शीष्टता झल्कने थियो ।

अन्यथा उनले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपाली भूमि भएको उल्लेख गर्दै ‘लिम्पियाधुुरा, लिपुलेक र कालापानी भारतसँग वार्ता गरेर फिर्ता ल्याउँछु भन्न किन सक्नुभएन ? त्यस्तो खुट्टा कमाउनुपर्ने कसले बनायो ?’ प्रश्न गरे । आफू प्रधानमन्त्री हुँदा यो भूमिलाई नक्सामा समेट्नुका साथै संविधान संशोधन गरेको स्मरण गर्दैै उनले अब यो भूमि छाड्ने अधिकार कसैलाई नभएको बताए । अहिलेको सरकारले फिर्ता गर्न नसकेमा आफूहरु सरकारमा आएपछि गर्ने भन्दै उनले भने, ‘तपाईँले फिर्ता लिन सक्नुभएन भने हामी छौं ।’ ओलीका सिमा सम्बन्धी यी प्रश्न र सम्बोधनको सार भने गम्भीर छ ।

भ्रष्टाचारको छानबिन गर्न चुनौती तर, आफूले किन नगरेको भन्नेबारे मौन
सरकारले नीति तथा कार्यक्रममा स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारबारे छानबिन गर्ने कुरा उल्लेख गरेकोमा उनले छानबिन गर्न चुनौती दिए । उनले सँगै क्यान्टोनमेन्टमा भएको भ्रष्टाचार, ललिता निवासको सार्वजनिक जग्गा प्रकरण, स्वास्थ्य मन्त्रालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका स्वास्थ्य उपकरणहरुबारे पनि छानबि गर्न सरकारलाई चुनौती दिए । जुन सही थियो । तर यसले सँगै के प्रश्न पनि उब्जाएको छ भने यी काण्डहरुबारे जानकार ओलीले आफ्नै पालामा यी काण्डहरुबारे छानबिन चाहिँ किन नगराएका होलान् ?

जाँदा जाँदै आफ्नै बैरी !
करिब डेढघण्टे सम्बोधनमा ओलीले सुरुमा प्रचण्डलाई कटाक्ष गरे । बिचमा सरकार र प्रधानमन्त्री देउवाको अनि अन्तिममा आफ्नै वरिष्ठ नेता माधव नेपालको । प्रचण्ड, माधव नेपाल र ओली नेकपामा सँगै रहेका नेताहरु हुन् । माधव नेपाल एमालेमा लामो समयदेखिका सहयात्री हुन ओलीका । तर, ओलीले आफ्नो सम्बोधनको सुरुवात र अन्त्यमा आफ्नैलाई बैरी जसरी गाली मात्र होइन होच्याउने र खिसिट्युरी पनि गरे । हुन त यो उनको नयाँ बानी भने होइन । ब्यङ्ग्य गरे, आलोचनामा शीष्टता नहुँदाको भद्दापनाले बेलाबेला उनका तर्कहरुलाई नै फितला बनाइरहेका थिए ।

सम्माननीय प्रधानमन्त्रीज्यू मेरै पार्टीका केही मान्छेहरु पाउँला र खाउँला भनेर तपाईँका पछि कुदेका छन् । सम्माननीय प्रधानमन्त्रीज्यू तिनीहरूलाई मन्त्री दिनुस् न ! किन विलम्ब गर्नुभएको ? हिरिक हिरिक भएका छन् विचराहरू मन्त्री खानका लागि !

सम्बोधनको अन्तिममा ओलीले माधव नेपालको नाम नलिएर देउवालाई माधव नेपाल पक्षका सांसदलाई न्त्री बनाइदिन बिन्ती गरे । दुई हात जोड्दै उनले भने, ‘मेरा मान्छेलाई मन्त्री बनाइदिनुस् न प्लिज !’ ओलीले आफ्नो दलमा केही घाटा भए पनि माधव नेपाल पक्षलाई मन्त्री दिन हात जोडेर बिन्ती गर्दै देउवासँग आग्रह गरेका हुन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यू मेरै पार्टीका केही मान्छेहरु पाउँला र खाउँला भनेर तपाईँका पछि कुदेका छन् । सम्माननीय प्रधानमन्त्रीज्यू तिनीहरूलाई मन्त्री दिनुस् न ! किन विलम्ब गर्नुभएको ?’, ओलीले भने, ‘हिरिक हिरिक भएका छन् विचराहरू मन्त्री खानका लागि प्लिज !’

देउवालाई हात जोडेर नमस्कारसहित बिन्तीको शैलीमा ओलीले अगाडि भने, ‘यति त गराइसक्नु भयो, पछिपछि हिँडेका छन् । कुदेका छन्, फ्याँफ्याँ, स्वाँस्वाँ गरेका छन् । मन्त्री खानपाउँ भनेका छन् । बिहान बेलुकै चाकरीमा हाजिर भएका छन् । मन्त्री दिनुस् प्लिज !’

माधव नेपाल पक्षले ओली नेतृत्वको सरकार ढालेर देउवाको नेतृत्वमा सरकार बनाउन सहयोग गरेको थियो । तर नेपाल पक्ष हालसम्म सरकारमा सहभागी नभएको अवस्थामा ओलीले कटाक्ष गरेका हुन् । उनले सम्बोधनमा अर्को अर्थपूर्ण वाक्य बोले । ‘बरु यसले मेरो पार्टीलाई अलिअलि घाटा गर्ला त्यो सहुँला बुझाउँला ।’ यसलाई अहिलेको सरकारमा जाने एमाले सांसदहरुलाई कारबाही गर्ने चेतावनीका रुपमा पनि लिन सकिन्छ ।

यसरी ओलीले मंगलबारको सम्बोधनमा केही गम्भीर केही विपक्षी हुनुका नाताले पाउने शंकाको सुविधासहितको सम्बोधन गरे तर, उनको शैली र कतिपय शब्द छनोट अनि हाउभाउमा भने दम्भ र बिझाउने शैली देखिन्थ्यो ।

सम्बन्धित समाचार

प्रतिक्रिया

One thought on “संसदमा ओलीको कडा बोली तर बिझाउने शैली

  1. बाजे अन्तत दुख पोख्ने ठाउँ भन्या संसद नै हो रछ नि, यहि कुरा साडे ६ मैना पैलै बुझिदुएको भए न देश ले दुख पाउथ्यो न जनताले दुख पाउथे न बुढा आफैले १४ वर्ष जेल बसेर गरेको संघर्ष प्रती को जन विस्वास घट्थ्यो !!! हिजो देश ले नेता मान्ने मान्छे आज केही झुण्डको मात्र बा हुन पर्या छ नेता मान्ने जनता घटिराछन !!
    भगवानले कल्याण गरून् !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *