जस्केलाबाट होइन‚ मूलढोकाबाटै आउँछु : ‌ओली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असाधारण जनमतका साथ आफू फेरि पनि सत्ताको नेतृत्वमा आउने दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै ओलीले आफू झ्याल र जस्केलाबाट नभई मूलबाटो र मूलढोकाबाटै आउने बताएका हुन् ।

‘म झ्यालबाट, जस्केलाबाट नभई मूलबाटो र मूलढोकाबाट आउनेछु । असाधारण जनतमका साथ म मूलढोकाबाट फेरि पनि सत्ताको नेतृत्वमा आउनेछु । मेरा काम हेरेर नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाए‚’ उनले भने‚ ‘पार्टीका विभिन्न नेताका कुण्ठा, जलन, असन्तुष्टिबाट प्रधानमन्त्री बनेको पनि थिइनँ । असफलताहरूको संघर्षबाट, जाली मुद्दा जितेर, परमादेशबाट पनि प्रधानमन्त्री भएको थिइनँ । प्रधानमन्त्री पद दान दातव्यबाट प्राप्त हुने पनि होइन ।’

साथै उनले सत्तापक्ष गठबन्धनका नेताहरू धेरै हौसिएका कारण दशैँ आएजस्तो, आँगनमा केटाकेटी नाचेजस्तो देखिएको भनी व्यङ्ग्य समेत गरेका छन् ।

‘ममाथि निकै प्रहार गरेको देखियो र भइरहेको पनि छ । समृद्ध नेपाल‚ सुखी नेपालीको उद्देश्य बोकेर हिँडेको मानिसलाई यस्ता सानातिना गालीगलौजले खासै फरक पार्दैन । म आफ्नो उद्देश्यमा केन्द्रित छु‚’ उनले भने ।

आफूले तोकेको लक्ष्य उद्देश्यअनुसारकै व्यवहार आफ्नो सरकारले गरेको भन्दै पूर्वप्रधानमन्त्री ओलीले समृद्ध नेपाल‚ सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न एकीकृत माओवादीसँग चुनावी तालमेल र पछि पार्टी एकता गरिएको उनले बताए ।

‘लक्ष्य स्पष्ट थियो । राज्य संयन्त्र सञ्चालन गर्दा अपनाउनुपर्ने अनुशासन कायम गरेर म अघि बढेको थिएँ । कानुनी राजको पालना हुनुपर्ने मेरो धारणा थियो‚’ उनले भने‚ ‘उपयुक्त ठाउँमा उपयुक्त व्यक्तिको नियुक्ति गर्ने र नातावाद कृपावादको छायासम्म पर्न नदिने मेरा नीति थिए । मसँगका साथी सबैलाई यही नीति अवलम्बन गर्न जोड दिएँ । यसले कसैको अकांक्षामा धक्का अवश्य नै पुग्यो होला ।’

नातावाद र कृपावादको छायासम्म पर्न नदिने नीतिका कारण कतिपयका व्यक्तिगत लाभका अपेक्षा तत्काल पूरा नभएको भन्दै ओलीले भने‚ ‘मेरा कामले प्राप्त गर्दै गरेका उपलब्धिले कतिलाई जलन भयो होला । यस्ता कुराले मेरो पार्टीभित्रै समस्या पैदा भयो दुनियाँलाई थाहा छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *