छानबिन समितिको निष्कर्ष : प्रशिक्षक अलमुताइरी दोषी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवाद छानबिनका लागि गठित समितिले प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी सदस्य पुरेन्द्रविक्रम लाखेले प्रतिवेदन राखेपका सदस्यसचिव रमेशकुमार सिलवाललाई बुझाएका हुन् । प्रतिवेदनमा मुख्य प्रशिक्षक अल्मुताइरी दोषी रहेको उल्लेख गरिएको छ ।

यो पनि : शेर्पा र नेम्वाङको ईगोमा ‘प्रशिक्षक’

छानबिन समितिले ११ बुँदे सुझावसमेत दिएको छ । समितिले एन्फालाई १५ दिनभित्र आचारसंहिता बनाई राखेपबाट स्वीकृत गराउनसमेत भनेको छ । यसैगरी अल्मुताइरीले आफ्नो व्यावसायिक आचरणगत बानी व्यहोरामा सुधार गर्नुपर्ने, विवादास्पद राजीनामासम्बन्धी फेसबुक पोस्ट हटाउनसमेत निर्देशन दिनुपर्नेलगायतका सुझाव दिइएको छ ।

यो पनि : राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामाको घोषणा

‘अल्मुताइरीले एन्फासँग गरेको सम्झौताबमोजिमका काममात्र गर्नुपर्ने र आगामी दिनमा विवाद सिर्जना हुने खालका कुनै पनि काम नगर्न/नगराउन एवं सामाजिक सञ्जाल र मिडियामा केही व्यक्ति, पदाधिकारी, अफिसियल, पत्रकार वा अन्य कसैप्रति लक्षित गरी धारणा सम्प्रेषण नगर्न ध्यानाकर्षण गर्दै सचेत गराउनुपर्ने देखिन्छ,’ समितिले प्रतिवेदनको निष्कर्षमा भनेको छ ।

पत्रकारले अनुमति लिनुपर्ने
११ बुँदे सुझावमा सञ्चारकर्मीमाथि समेत समितिले अंकुश लगाउने प्रयास गरेको छ । प्रतिवेदनमा सञ्चारकर्मीले कुनै खेल प्रशिक्षकसँग अन्तरवार्ता वा धारणा लिनु परे एन्फाका सूचना अधिकारीसँग पूर्वअनुमति लिनुपर्ने जनाइएको छ । साथै समितिले पत्रकारद्वय विभु श्रेष्ठ र विभा थापासँग प्रशिक्षकको विवाद दुवै पक्षलाई बोलाएर समाधान गर्न एन्फालाई निर्देशन समेत दिएको छ ।

यो पनि : अब्दुल्लाहको राजीनामाबारे के भन्छन् पंकज ?

साथै टिम व्यवस्थापकले प्रशिक्षकका गुनासा र समस्या तत्काल जिम्मेवार निकायमा पुर्‍याउनुपर्ने एन्फाले प्रशिक्षकलाई सुरक्षाको प्रत्याभूति गराउनुपर्ने, खेल क्षेत्रलाई धुम्रपान र मध्यपान निषेधित क्षेत्र बनाउँदै सोहीबमोजिमका कामहरू अगाडि बढाउनुपर्ने, एन्फाका सम्पूर्ण पदाधिकारी, प्रशिक्षकलगायतले आफ्नो पदीय मर्यादालाई ध्यानमा राखेर काम गर्न समेत भनिएको छ ।

विवाद आफैँ समाधान गर्नु
यसैगरी आगामी दिनमा एन्फामा कुनै समस्या वा विवाद सिर्जना भए आफैँ समाधान गर्न र नसके राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्तक्षेप नगराई राखेपलाई अनुरोध गर्ने सुझाव दिइएको छ । आन्तरिक समस्या समाधानका लागि सरकार गुहारेको भन्दै एन्फाको व्यापक आलोचना भएको थियो ।

यो पनि : प्रशिक्षक अलमुताइरीले अन्तर्वातामा बोलेको कुरामा मागे माफी

विश्व फुटबलको सर्वोच्च निकाय फिफाको गाइडलाइनअनुसार आन्तरिक समस्यामा सरकारी हस्तक्षेप स्वीकार्य नहुने भन्दै एन्फा नेतृत्वको आलोचना भएको थियो ।

के थियो विवाद ?
राष्ट्रिय टिमका प्रशिक्षक अल्मुताइरीले फेसबुकमार्फत समर्थकलाई सम्बोधन गर्दै १० साउनमा वरिष्ठ उपाध्यक्ष नेम्वाङलाई काम गर्न नदिएको, लगातार अवरोध सिर्जना गरिरहेको भन्दै आफूले राजीनामा दिने धम्की दिएका थिए । सामाजिक सञ्जालमा समर्थकमाझ लोकप्रिय रहेका अल्मुताइरीको उक्त स्ट्याटसपछि वरिष्ठ उपाध्यक्ष नेम्वाङको चर्को आलोचना भएको थियो ।

यो पनि : प्रशिक्षक अलमुताइरीबाट गल्ती भयो : पूर्व प्रवक्ता राई

उनले आफ्नो करिअर नै समाप्त गर्न प्रेरित भएको भन्दै एन्फामा उजुरी गरेका थिए । लगत्तै प्रशिक्षकले समेत एन्फामा उजुरी गरेपछि दुईबीचको विवाद उत्कर्षमा पुगेको थियो । पछि एन्फाको कार्यसमिति बैठकले समाधान प्रयास गरेपनि बैठकमा सहमति नभएपछि छानबिन गर्न खेलकुद मन्त्रालयलाई आग्रह गरेको थियो । मन्त्रालयले खेलकुदका सबै पक्ष राखेपले हेर्ने भन्दै छानबिन समिति बनाउन राखेपलाई जिम्मेवारी दिएको थियो ।

राखेपले पुरेन्द्रविक्रम लाखेको नेतृत्वमा राखेपका सदस्यहरू रेणुका श्रेष्ठ, सुवर्णकेशरी श्रेष्ठ, चन्द्रबदना राई, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विक, राखेप कानुन शाखा प्रमुख नारायणराज अर्याल र राखेप संघ संस्था समन्वय शाखाका प्रमूख सरोजकुमार पोखरेल रहेको समिति बनाएको थियो । समितिले संलग्न विभिन्न व्यक्तिसँग सोधपुछ गरेर प्रतिवेदन तयार गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *