प्रशिक्षक अलमुताइरीबाट गल्ती भयो : पूर्व प्रवक्ता राई

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्वप्रवक्ता किरण राईले फुटबलको पछिल्लो विवादमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबाट गल्ती हुन पुगेको आरोप लगाएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित छानबिन समितिसमक्ष मंगलबार बयान दिँदै पूर्वप्रवक्ता राईले सामान्य विषयमा समेत प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत एन्फा वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङलाई आक्षेप लगाएर गल्ती गरेको बताए ।

एन्फामार्फत नै समाधान गर्नुपर्ने विषयमा प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालका माध्यमबाट आरोप लगाउने कार्य उचित नभएको उनको भनाइ थियो । प्रशिक्षक अलमुताइरी अनुशासनको दायराबाट बाहिर गएको राईले आरोप लगाए ।

एन्फामा अनुशासन समिति र अपिल समिति हुँदाहुँदै पनि सामाजिक सञ्जालको प्रयोग गर्नु गलत कार्य भएको उनले स्पष्ट पारे । युवा तथा खेलकुद मन्त्रालयको निर्देशनमा राखेपले गठन गरेको छानबिन समितिले आजदेखि एन्फा पदाधिकारी लगायतसित बयान लिन थालेको छ ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङसितको विवादका कारण प्रशिक्षक अलमुताइरीले राजीनामाको घोषणा गर्नुभएको थियो । उक्त घटनाको छानबिन गर्न मुख्य प्रशिक्षक अलमुताइरी र वरिष्ठ उपाध्यक्ष नेम्वाङले एन्फामा निवेदन दिएका थिए ।

उजुरीपछि एन्फाले छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई गुहारेको हो । मन्त्रालयले सो घटनाको छानबिन गर्न राखेपलाई निर्देशन दिएको थियो । राखेपले फुटबल विवाद समाधान गर्न राखेपका बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा सात सदस्यीय

छानबिन समिति गठन गरेको थियो । समितिले मंगलबारदेखि विभिन्न व्यक्तिसित बयान लिन थालेको छ । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *