क्रिकेटर सावित्री धामी सम्मानित

काठमाडौँ। एसीसी महिला यु–१९ प्रिमियर कप २०२६ मा गरेको ऐतिहासिक प्रदर्शनको कदर गर्दै क्रिकेटर सावित्री धामीलाई अमरावती बुटिक होटेलले नगदसहित सम्मान गरेको छ। बुधवार आयोजित सम्मान कार्यक्रममा होटेले धामीलाई नगद रु. ५० हजार प्रदान गर्दै सम्मान गरेको हो। धामीले एसीसी महिला यु–१९ प्रिमियर कप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताकी सर्वाधिक रनकर्ता बन्न सफल भएकी थिइन्।
उनले प्रतियोगिताभर २५६ रन जोड्दै नेपाली महिला यु–१९ क्रिकेटको इतिहासमा नयाँ कीर्तिमान कायम गरिन्। उनले प्रतियोगितामा लगातार तीन अर्धसत्तक प्रहार गर्दै नेपाली महिला क्रिकेट इतिहासमै लगातार तीन अर्धसत्तक बनाउने पहिलो खेलाडीको रूपमा इतिहास रचेकी छन्।
प्रतियोगितामा उनको उत्कृष्ट व्यक्तिगत स्कोर अपराजित ७८ रन रह्यो, जुन उनले सिंगापुर यु–१९ महिला टोलीविरुद्ध बनाएकी थिइन्। धामीले आफ्नो मेहनत र प्रदर्शनको कदर गर्दै सम्मान गरेकोमा अमरावती बुटिक होटेल परिवारप्रति हार्दिक आभार व्यक्त गरिन्।
धामीले उक्त सम्मानले आगामी दिनमा अझ मेहनत गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको नाम थप उँचो बनाउन प्रेरणा मिलेको बताइन्। साथै उनले उक्त सम्मान आफ्ना प्रशिक्षक, टोलीका साथीहरू, परिवार तथा सम्पूर्ण नेपाली क्रिकेट समर्थकहरूलाई समर्पण गर्दै भविष्यमा पनि देशका लागि उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
त्यसै गरी, अमरावती बुटिक होटेलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले सावित्री धामीको उपलब्धिलाई व्यक्तिगत सफलताभन्दा पनि नेपाली महिला क्रिकेटको इतिहासमा कोसेढुंगा साबित हुने बताए। उनले प्रतियोगिताकी सर्वाधिक रनकर्ता बन्दै लगातार तीन अर्धसत्तक प्रहार गरेर इतिहास रचेकी धामीको प्रदर्शन सम्पूर्ण नेपाली क्रिकेटका लागि प्रेरणादायी रहेको बताए।
श्रेष्ठले यस्ता प्रतिभावान् खेलाडीहरूलाई सम्मान गर्न पाउँदा गर्व लागेको उल्लेख गर्दै भविष्यमा पनि नेपाली खेलकुद, विशेष गरी महिला क्रिकेटको विकास र खेलाडीहरूको मनोबल अभिवृद्धिका लागि अमरावती बुटिक होटेल निरन्तर सहकार्य र समर्थनमा रहने प्रतिबद्धता जनाए।
जापानविरुद्धको क्वार्टर फाइनलमा सावित्रीको ४१ रनको योगदानले नेपालले जित दर्ता गर्दै एसीसी महिला यु–१९ एसिया कपमा स्थान सुरक्षित गरेको थियो। प्रतियोगितामा नेपालले इन्डोनेसियामाथि ९ विकेटको प्रभावशाली जित निकाल्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको थियो।








