लिग २ क्रिकेटमा नेपालको खराब सुरुआत, नामिबियासँग ८ विकेटले पराजित

काठमाडौं । ब्याटिङ र बलिङ दुबैमा असफल भएपछि नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत आठौं त्रिकोणात्मक श्रृंखलामा खराब सुरुआत गरेको छ । आज आफ्नो पहिलो खेलमा नेपालले नामिबियासँग ८ विकेटको हार बेहोरेको छ । नेपालले दिएको १५८ रनको लक्ष्य नामिबियाले ३७।३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नामिबियाको जितमा तेस्रो नम्बरका ब्याटर यान जेन फ्राइलिन्कले ८९ बलमा ८ चौका र एक छक्कासहित सर्वाधिक ७७ रनको पारी खेले । त्यस्तै ओपनर माइकल भान लिंगेनले ७९ बलमा चार चौकासहित ५१ रनको अर्धशतकीय पारी खेले । यसैगरी चौथो नम्बरका निकोल लोफ्टी इटन १७ रनमा अविजित रहे ।

सातौं ओभरको पाँचौं बलमा नन्दन यादवले नेपाललाई ब्रेक थ्रु दिलाएका थिए । नन्दनले दुई रनमा ब्याटिङ गरिरहेका ओपनर एलेक्सेन्डर भोल्सेन्कलाई पवेलियनको बाटो देखाए । जतिबेला नामिबिया २१/१ को स्थितिमा थियो । त्यसपछि लिंगेन र फ्राइलिन्कले पारी सम्हालेका थिए । कप्तान रोहित पौडेलले नेपालका लागि दोस्रो सफलता दिलाए । उनले लिंगेनलाई बोल्ड गरेका थिए ।

त्यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले १५८ रनको सामान्य योगफल खडा गरेको थियो । योहानस जोनाथन (जेजे) स्मिथको सानदार बलिङ अगाडि नेपालको ब्याटिङ चल्न सकेनन् । जसका कारण ४६.५ ओभरमा सबै विकेट गुमाएको नेपालले मात्र १५७ रन जोड्न सक्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ६० बलमा सर्वाधिक ३१ रन जोडे । त्यस्तै उप–कप्तान दीपेन्द्रसिंह ऐरिले ३० तथा गुल्सन झाले २० रनको योगदान गरे । यसैगरी करण केसीले १८, विकेटकिपर तथा ओपनर आसिफ शेखले १६ र सोमपाल कामीले १५ रन बनाए ।

नेपालले पहिलो ओभरको दोस्रो बलमै ओपनर कुश भुर्तेललाई गुमाएको थियो । रोहित र दीपेन्द्रले पारी सम्हाल्न खोजेपनि सय रन कट्नुअघि ६ खेलाडी पवेलियन फर्किन बाध्य भए । त्यसपछि नेपालले चार विकेट खर्चिँदा मात्र ५८ रन जोड्न सक्यो ।

नामिबियाका लागि जेजे स्मिथले सर्वाधिक ६ विकेट लिए । त्यस्तै ज्याक ब्रासेल र बर्नाड शोल्ट्जको नाममा समान दुई विकेट रह्यो । अब श्रृंखलाको दोस्रो खेलमा नेपालले बिहीबार नेदरल्यान्ड्सको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =