शेर्पा र नेम्वाङको ईगोमा ‘प्रशिक्षक’

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिने घोषणा गरेसँगै अहिले नेपाली फुटबल तरंगित छ । प्रशिक्षक अलमुताइरीले एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण राजीनामा दिने निर्णय गरेको जानकारी गराएपछि अहिले अखिल नेपाल फुटबल संघभित्रको व्यक्तिवादी राजनीतिसमेत सतहमा देखिएको हो ।

भएको के थियो ?
पछिल्लो समय अखिल नेपाल फुटबल संघमा वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र अध्यक्ष कर्माछिरिङ शेर्पाबीचको सम्बन्धलाई लिएर गम्भीर ‘टसल’ रहँदै आएको छ । स्पष्ट रुपमा नेम्वाङ शेर्पासँग विभिन्न कार्यसँग असहमत रहेका छन् । शेर्पा भने आफ्नो गतिमा अघि बढिरहँदा पछिल्लो समय दुई पक्षबीच गम्भीर असम्झदारी रहँदै आएको छ । एन्फा स्रोत भन्छ‚ ‘सामान्य स्तरका छलफलमा समेत शेर्पा अहिले नेम्वाङलाई बाहिर राखेर अघि बढिरहेका छन् ।

‘कुनै समय नेम्वाङकै आँटमा शेर्पाले एन्फाको नेतृत्व मिलाएका थिए । तर बिचमा दुईबीचको असमझदारी निकै बढ्यो । असमझदारी घट्नुको साटो थप बढ्यो । हरेक कुरामा एक अर्काविरुद्ध षड्यन्त्र देख्न थालियो । जसको असर अहिले प्रशिक्षक सम्ममा आएर ठोकिएको हो ।’

एन्फा दुई वरिष्ठबीचको इगोमा प्रशिक्षक कसरी जोडिए त भन्ने विषयमा स्रोत भन्छ‚ ‘प्रशिक्षक मनमा लागेको कुरा स्पष्ट रुपमा राख्छन् । त्यसो त संस्थापन पक्षसँग स्वभाविक रुपमा प्रशिक्षकको छलफल हुन्छ । उपाध्यक्षजीलाई प्रशिक्षकले मतलब नगरेको फील हुन सक्छ । जसले गर्दा उनी प्रशिक्षकले एन्फा पधाधिकारीको विषयमा कुरा नगरून् भन्ने लागेको हुन सक्छ ।’ तर अलमुताइरीले केही साताअघिको एक अन्तर्वार्तामा पदाधिकारी सच्चिनुपर्ने बताएका थिए । जुन कुरा नेम्वाङले प्रशिक्षकसँग नै असहमति जनाएका थिए । फुटबल परिवर्तन हुन खेलसँग सम्बन्धित पदाधिकारीको मानसिकता परिवर्तन हुनुपर्ने बताएपछि नेम्वाङले असन्तुष्टी राखेको बताएका थिए ।

नेम्वाङले भने‚ ‘प्रशिक्षकले आफ्नो जिम्मेवारी सम्हाल्ने हो । एन्फा पदाधिकारीको विषयमा बयानबाजी गर्ने होइन भन्ने मेरो स्पष्ट आग्रह थियो ।

त्यहाँभन्दा बढी मैले हस्तक्षेप या कुनै दबाब दिने भने प्रश्नै उठ्दैन ।’नेम्वाङले संस्थापन पक्षले नियोजित रुपमा आफूलाई फसाउन खोजेको भन्दै विरोध जनाएका छन् ।

नेम्वाङले आफूमाथि अचानक यस्तो आरोप लगाएर राजीनामाको घोषणा गर्दा आफैँ आश्चर्यचकित भएको पनि बताए । ‘मलाई मुख्य प्रशिक्षकले मलाई दोष लगाएर राजीनामा दिन्छु भन्नेको कुरामा मलाई विश्वास नै लागिरहेको छैन ।’ विश्वास छ एन्फाले यस विषयमा छानबिन गर्नेछ । ‘म दोषी देखिएमा राजीनामा दिन तयार छु ।’ दोषी देखिए सजायको भागिदार हुनुपर्छ । मुख्य प्रशिक्षकको भनाइ ममाथि षड्यन्त्रपूर्वक तरिकाले आएको छ ।’

सम्झाइरहेको छु : शेर्पा
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने सबै कुराहरू अप्रत्यासित भएको बताए । उनले भने‚ ‘केहि समयअघिबाटै प्रशिक्षकबारेमा नकारात्मक कुराहरू बाहिर आए‚ जसले उसलाई आवेशमा ल्याएको हुन सक्छ । यद्यपि मैले उसलाई सम्झाइरहेको छु । राजीनामा दिने, स्वीकृत हुने भन्ने अहिले हुँदैन । कुरा मिल्छ ।’ उनले प्रशिक्षक अलमुताइरीले आफूले गरेको आग्रहलाई सकरात्मक रुपमा लिएको बताए।

‘मैले सम्झाइरहेको छु । उ सकारात्मक छ । यो विषयलाई धेरै अघि बढाउनु हुँदैन भनेको छु । उसले सकारात्मक रुपमा लिएको छ ।’ एन्फा महासचिव इन्द्रमान तुलाधारले प्रशिक्षकले राजीनामा नबुझाएको बताए । उनले भने‚ ‘अध्यक्षसँग कुरा गरेर फर्किनुभएको छ । राजीनामा बुझाउनुभएको छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *