अब्दुल्लाहको राजीनामाबारे के भन्छन् पंकज ?

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार (आज) फेसबूकबाटै राजीनामाको घोषणा गरे । प्रशिक्षक अब्दुल्लाहले आफ्नो राजीनामाको कारण एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ्गलाई देखाए । उनलाई नेम्वाङ्गले मेन्सन गरी नेपाली फ्यानहरुलाई माफी माग्दै लेखेका छन्, ‘आशा गर्दछु कि अब तपाईं (नेम्वाङ्ग) खुसी हुनुभयो होला ।’

नेपाली फुटबल टोलीले राम्रो प्रशिक्षक पाएको विश्लेषण शुरु हुँदैगर्दा आएको अब्दुल्लाहको राजीनामाको समाचार त बन्ने नै भयो, सँगै वरिष्ठ उपाध्यक्ष नेम्वाङ्ग पनि विवादको सतहमा देखिएका छन् । यू–१६ टोलीमा योग्य खेलाडीलाई बाहिर राखेर आफ्नो छोरालाई जबरजस्ती टोलीमा घुसाएको आरोप खेपिसकेका नेम्वाङ्ग पुनः विवादको सतहमा देखिएका हुन् ।

यद्यपि नेम्वाङ्गले अब्दुल्लाहको राजीनामाको घोषणासँग आश्चर्य प्रकट गरेका छन् । नेम्वाङ्ग भन्छन्— ‘म पनि आश्चर्यचकित छु कि किन उनले राजीनामाको घोषणा गरेका छन् ?’ यस्तै नेम्वाङ्गले आफूले राजीनामा दिन बाध्य पारेको प्रमाणित भए आफूले पनि राजीनामा दिने स्पष्ट पारेका छन् । ‘उनले मेरो कारणले राजीनामाको घोषणा गरेको भनेका छन्,’ नेम्वाङ्गले भने, ‘यदि मेरै कारणले राजीनामा दिनुपर्ने स्थिति सिर्जना भएको भए म आफैं पनि राजीनामा दिन तयार छु । तर, प्रमाणित चाहिँ हुनुपर्छ ।’

‘अब्दुल्लाहले तनावमा छु भनेका छन्’
एन्फाका प्रवक्ता किरण राईकाअनुसार पशिक्षक अब्दुल्लाहले आफू केही दिनयता तनावमा रहेको बताएका थिए । फेसबूकद्वारा राजीनामाको घोषणा गरेपछि एन्फा कार्यालय पुगेका अब्दुल्लाहले आफू केही दिनयता तनावमा रहेको बताएका थिए । ‘म केही दिनयता तनावमा छु,’ प्रशिक्षक अब्दुल्लाहलाई उद्धृत गर्दै राईले भनेका छन् । ‘उहाँ एन्फामा आउनुभएको थियो,’ राईले भने, ‘तनावमा छु भन्नुभएपछि हामीले आराम गर्नुस् भनेर पठाएका छौँ ।’

राईकाअनुसार अब्दुल्लाहले आधिकारिक राजीनामा पत्र भने बुझाएका छैनन् ।

नेम्वाङ्ग–अब्दुल्लाहबीचको सम्बन्धबारे आफूलाई खासै जानकारी नरहेको बताएको राईले थपे— ‘बीचमा के भयो थाहा छैन । सम्बन्धकै कुरा गर्दा त्यति नराम्रो त थिएन जस्तो लाग्छ मलाई चाहिँ । त्यो खासमा उहाँहरुले नै जान्ने कुरा हो ।’ राईले अब्दुल्लाहले राजीनामा घोषणा गर्नुको कारण एन्फाको राजनीति भने नभएको जिकिर गरे । भने— ‘एन्फा आफैंमा एक प्रतिष्ठित संस्था हो । एन्फालाई सबैको साझा संस्था हो र सबैले राम्रो बनाउनुपर्छ भन्ने लागेको छ । तर, उहाँ (अब्दुल्लाह) ले राजीनामाको घोषणा गर्नु भने राजनीति कारण होइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *