फिफा विश्वकप २०२६

विश्वकप २०२६ ले नयाँ च्याम्पियन नपाउने पक्का, पूर्वविजेताहरू नै उपाधि दौडमा

सन् १९७८ पछि पहिलो पटक अन्तिम चारमा सबै टोली पूर्व विश्व विजेता पुगेका छन्

काठमाडौँ। अन्तिम चारको समीकरण तय भए सँगै फिफा विश्वकप २०२६ ले यस पटक नयाँ च्याम्पियन पाउने सम्भावना समाप्त भएको छ। क्वार्टरफाइनलका सबै खेल सकिएसँगै सेमिफाइनलमा स्थान बनाउने चारै टोली यसअघि विश्वकप उपाधि जितिसकेका राष्ट्र हुन्।

अन्तिम चारमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँगै फ्रान्स, इङ्गल्यान्ड र स्पेन पुगेका छन्। यससँगै विश्व फुटबलका चार स्थापित शक्तिबिच उपाधिको प्रतिस्पर्धा हुने निश्चित भएको छ।

फिफा इतिहासमा ४८ वर्षपछि सेमिफाइनलमा पुग्ने चार टिम पूर्व विजेता हुन्। सन् १९७८ पछि पहिलो पटक अन्तिम चारमा सबै टोली पूर्व विश्व विजेता पुगेका छन्।

विश्वकप इतिहासमा अर्जेन्टिनाले हालसम्म तीन पटक (१९७८, १९८६ र २०२२) उपाधि जितेको छ। फ्रान्स दुई पटक (१९९८ र २०१८) विश्व विजेता बनेको छ भने इङ्गल्यान्डले १९६६ र स्पेनले २०१० मा एक–एक पटक ट्रफी उचालेका छन्। त्यसैले यस संस्करणको उपाधि पनि यी चारमध्ये कुनै एक राष्ट्रकै पोल्टामा जाने निश्चित भएको छ।

यसअघि क्वार्टरफाइनलसम्म पुगेका मोरक्को, बेल्जियम, नर्वे र स्विट्जरल्यान्डमध्ये कुनै पनि टोलीले विश्वकप उपाधि जितेका थिएनन्। उनीहरू सबै बाहिरिएसँगै पहिलो पटक विश्व विजेता बन्ने टोलीको सम्भावना पनि समाप्त भएको हो।

अब पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन आमनेसामने हुनेछन् भने दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिनाले इङ्गल्यान्डको चुनौती सामना गर्नेछ। यी दुई प्रतिस्पर्धाबाट विजयी हुने टोलीहरू विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित उपाधिका लागि फाइनलमा भिड्नेछन्।

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =