फिफा विश्वकप २०२६

विश्व फुटबलको सबैभन्दा रोचक प्रतिस्पर्धा: अर्जेन्टिना र इङ्ल्यान्ड फेरि आमनेसामने हुँदै

काठमाडौं। फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्विजरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले सेमिफाइनलमा स्थान सुरक्षित गरेपछि विश्व फुटबलका दुई पुराना प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ल्यान्ड फेरि विश्वकपको मैदानमा आमनेसामने हुने भएका छन्।

यसअघि नर्वेलाई २-१ ले हराउँदै इङ्ल्यान्डले अन्तिम चारमा स्थान बनाएको थियो। अर्जेन्टिना र इङ्ल्यान्डबीचको प्रतिस्पर्धा केवल फुटबलमा सीमित छैन। यी दुई देशबीचको सम्बन्ध सन् १९८२ को फकल्यान्ड (माल्भिनास) टापु युद्धसँग पनि जोडिएको छ।

दक्षिण एटलान्टिकस्थित उक्त टापुको स्वामित्वलाई लिएर अर्जेन्टिना र बेलायतबीच भएको करिब १० हप्ताको युद्धमा बेलायत विजयी भएको थियो। त्यसयता यी दुई राष्ट्रबीच हुने फुटबल खेललाई खेलभन्दा बढी राष्ट्रिय प्रतिष्ठाको लडाइँका रूपमा पनि हेरिने गरिन्छ। विश्वकप इतिहासमा अर्जेन्टिना र इङ्ल्यान्ड पाँच पटक आमनेसामने भएका छन्।

सन् १९६२, १९६६ र २००२ मा इङ्ल्यान्ड विजयी भएको थियो भने सन् १९८६ को क्वार्टरफाइनलमा अर्जेन्टिनाले २–१ को ऐतिहासिक जित निकालेको थियो। सोही खेलमा डिएगो म्याराडोनाले गरेको विवादास्पद “ह्यान्ड अफ गड” गोल र त्यसपछि पाँच खेलाडीलाई छल्दै गरेको “गोल अफ द सेन्चुरी” आज पनि विश्वकप इतिहासका सबैभन्दा चर्चित क्षणमध्ये पर्छ।

सन् १९९८ मा दुवै टोली २–२ को बराबरीपछि पेनाल्टी सुटआउटमा पुगेका थिए, जहाँ अर्जेन्टिना विजयी भएको थियो। यसरी विश्वकपमा इङ्ल्यान्डले तीन खेल जित्दा अर्जेन्टिनाले दुई खेलमा सफलता हात पारेको छ, जसमा एउटा पेनाल्टी सुटआउटबाट आएको जित पनि समावेश छ।

समग्र आधिकारिक अन्तर्राष्ट्रिय भेटमा भने इङ्ल्यान्डको पल्ला केही भारी देखिन्छ। दुवै टोलीबीच हालसम्म १४ खेल हुँदा इङ्ल्यान्डले ६ खेल जितेको छ, अर्जेन्टिनाले २ खेल आफ्नो पक्षमा पारेको छ भने ५ खेल बराबरीमा सकिएका छन्। अब २०२६ विश्वकपको सेमिफाइनलमा यी दुई फुटबल महाशक्ति फेरि आमनेसामने हुँदैछन्।

चार दशकअघि म्याराडोनाको जादु र फकल्यान्ड युद्धको भावनात्मक पृष्ठभूमिले विश्वलाई तानेको यो प्रतिस्पर्धा यसपटक लियोनेल मेस्सीको सम्भावित अन्तिम विश्वकप यात्रा र इङ्ल्यान्डको उपाधि सपनाबीचको रोमाञ्चक भिडन्तका रूपमा हेरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 17 =