चीनको ग्वाङ्सी क्षेत्रमा आएको बाढीपछि राहत र उद्धार कार्य तीव्र

एजेन्सी । दक्षिण चीनको ग्वाङ्सी जुआङ स्वायत्त क्षेत्रमा विगत केही दिनदेखि जारी मुसलधारे वर्षाका कारण आएको बाढीपछि राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । बाढी प्रभावित क्षेत्रमा सहयोग पुर्याउन चीनभरबाट उद्धार टोली, स्वयंसेवक र राहत सामग्री परिचालन गरिएको छ ।
ग्वाङ्सीको किनझोउ शहरमा छिमेकी गुआङडोङ प्रान्तको गाओझोउ शहरबाट आएको उद्धार टोलीले जुलाई ७ देखि नै राहत कार्य जारी राखेको छ । उक्त टोलीले बाढीमा फसेका बासिन्दाहरूको उद्धार गर्नुका साथै दैनिक उपभोग्य वस्तुको वितरण र जमेको पानी निकास गर्ने कार्य गरिरहेको छ । यस्तै, नान्निङको बिन्याङ काउन्टीमा पनि गुआङडोङ प्रान्तका दुई टोलीले बासिन्दाहरूको सुरक्षित स्थानान्तरण र आपतकालीन विद्युत् आपूर्तिमा सहयोग गरिरहेका छन् ।
यसैगरी, पूर्वी चीनको जियाङ्सी प्रान्तको युगन काउन्टीबाट आएको उद्धार टोलीले गुइगाङ सहरमा उद्धार र आपतकालीन सामग्री आपूर्तिमा सहयोग गरिरहेको छ । छिमेकी प्रान्तहरूबाट अत्यावश्यक राहत सामग्रीहरू बाढी प्रभावित क्षेत्रमा पठाउने क्रम जारी छ, जसमा ट्रक चालकहरूले स्वयंसेवी रूपमा सेवा प्रदान गरिरहेका छन् ।
यसैबीच, चीनको अर्थ मन्त्रालय र आपतकालीन व्यवस्थापन मन्त्रालयले ग्वाङ्सीको आपतकालीन प्रतिकार्य र पुनःस्थापना कार्यका लागि केन्द्रिय प्राकृतिक विपद् राहत कोषबाट थप ८ करोड युआन (करिब १ करोड १७ लाख ७० हजार अमेरिकी डलर) विनियोजन गरेका छन् । यसअघि जुलाई ६ मा पनि उक्त क्षेत्रका लागि ११० मिलियन युआन विनियोजन गरिएको थियो ।








