अफगानिस्तानमा सिमेन्ट कारखाना निर्माण सुरुः ५ हजारलाई रोजगारीको अवसर

एजेन्सी । युद्धग्रस्त अफगानिस्तानमा जारी पुनर्निर्माणका प्रयासहरूले स्थानीय नागरिकका लागि रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्न थालेका छन् ।
लामो समयदेखिको द्वन्द्व, आर्थिक प्रतिबन्ध, बेरोजगारी र गरिबीको चपेटामा परेको अफगानिस्तानले पछिल्लो समय आर्थिक चुनौतीहरूको सामना गर्न ठूला परियोजनाहरूलाई अगाडि बढाएको छ । यसै क्रममा परवान प्रान्तको जवल सिराज जिल्लामा नयाँ सिमेन्ट उत्पादन कारखानाको निर्माण कार्य सुरु गरिएको छ ।
करिब ९ करोड अमेरिकी डलरको लगानीमा निर्माण हुन लागेको यस आयोजनालाई अफगानिस्तानको औद्योगिक प्रगतिका लागि महत्वपूर्ण कदम मानिएको छ । परवान प्रान्तमा स्थापना हुन लागेको यो दोस्रो सिमेन्ट कारखाना हो भने सोही क्षेत्रमा तेस्रो कारखाना निर्माणको प्रक्रिया पनि छिट्टै सुरु हुने बताइएको छ।
निर्माणाधीन यस कारखानाको उत्पादन क्षमता दैनिक ५ हजार टन रहने र यसको निर्माण कार्य आगामी तीन वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ । यस आयोजनाबाट ५ हजार जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
आर्थिक मामिला हेर्ने उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादरले यो आयोजना अफगानिस्तानको आर्थिक आत्मनिर्भरता र आन्तरिक उत्पादन वृद्धिका लागि कोसेढुङ्गा सावित हुने बताए । उनकाअनुसार यो केवल एउटा कारखानाको निर्माण मात्र नभई देशको औद्योगिक विकासका लागि एक महत्वपूर्ण फड्को हो ।
हाल सिमेन्टमा ठूलो मात्रामा आयातमा निर्भर रहेको अफगानिस्तानले पुराना कारखानाहरूको जीर्णोद्धार र नयाँ कारखाना स्थापनालाई प्राथमिकता दिएको छ । स्थानीय आर्थिक विज्ञ इद्रिस मोहम्मदी जाजाईले उच्च बेरोजगारी दर मुलुकका लागि ठूलो चुनौती रहेको उल्लेख गर्दै यस्ता औद्योगिक आयोजनाले शिक्षित र दक्ष जनशक्तिलाई स्वदेशमै कामको अवसर प्रदान गर्ने बताए ।
परियोजना स्थल नजिकै किराना पसल सञ्चालन गर्दै आएका स्थानीय बासिन्दा मोहम्मद जहोरले कारखाना स्थापनाको खबरले उत्साह थपेको बताए । यसबाट क्षेत्रको गरिबी न्युनिकरण हुनुका साथै देशको अर्थतन्त्र बलियो बनाउन मद्दत पुग्ने उनको विश्वास छ । अन्तर्राष्ट्रिय एक्लोपन र आर्थिक संकटका बिच शुरु गरिएको यस प्रकारको पूर्वाधार विकासले अफगानिस्तानलाई आत्मनिर्भरताको बाटोमा लैजाने अपेक्षा गरिएको छ ।








