कांग्रेस निर्वाचन

पहिलो चरणमै होला सभापतिको छिनोफानो ?

ठमाडौँ । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि १४औं महाधिवेशनअन्तर्गत मतदान प्रक्रिया चलिरहेको छ । महाधिवेशनमा सभापति पदका लागि शेरबहादुर देउवा, डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, र कल्याण गुरुङ चुनावी मैदानमा छन् । अबको ४ वर्षसम्मका लागि आफ्नो नेतृत्व छान्न देशभरबाट ४ हजार ७ सय ४३ जना प्रतिनिधि काठमाडौँ आएका छन् । उनीहरूसँगै अरु धेरै नेता कार्यकर्ताहरू पनि काठमाडौँमा भेला भएका छन् ।

कांग्रेसमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार सभापतिमा वियजी भइहाल्ने व्यवस्था छैन । विधानअनुसार सभापतिमा ५१ प्रतिशत मत ल्याउनैपर्ने भएकाले पहिलो चरणबाट सभापतिको छिनोफानो हुने/नहुने कुराको चासो सर्वत्र बढेको छ । अर्कातिर प्यानलहरू सधैँभन्दा बिल्कुलै फरक खालका बनेकाले पनि चुनावमा को विजयी होला र पहिलो चरणमै सभापतिको छिनोफानो होला ? भन्ने प्रश्न थप चासोको विषय बन्न पुगेको छ ।

सभापतिमा ५ जना उम्मेदवार रहेपनि वर्तमान सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच नै खास प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । संस्थापनइतर पक्षबाट प्रकाशमान सिंह र संस्थापन पक्षका विलेन्द्र निधि पनि सभापतिको उम्मेदवार छन् । उनीहरूले पनि सकेसम्म जित्ने नत्र पनि दोस्रो हुने दाबी गर्ने गरेका त छन्, तर मुख्य प्रतिस्पर्धा भने देउवा र कोइरालाबीच नै हुने सम्भावना उच्च रहेको विश्लेषक र कांग्रेस नेता-प्रतिनिधिहरू बताउँछन् ।

आइतबार सभापतिका प्रत्याशीमध्येका एक विमलेन्द्र निधिले पहिलो चरणबाट कसैले पनि आवश्यक बहुमत नल्याउने र दोस्रो चरणमा देउवाबोहकका सबै उम्मेदवारको समर्थन कोइरालालाई हुने दाबी गरेका छन् । कतिपय विश्लेषकहरूले यो कुरामा दम भएको टिप्पणी गरिरहेका छन् । तर पहिलो चरणमा देउवाको बहुमत पुग्दैन भन्न भने नसकिने नेताहरू बताउँछन् ।

देउवालाई यो महाविधेशनमा विजयकुमार गच्छदार, कृष्ण सिटौला र राप्रपाबाट आएका सुनिलबहादुर थापालगायतको समर्थन छ । तर उनीसँग १३औं महाधिवेशनमा साथ दिएका सबै नेताहरू छैनन् । यसले भने उनलाई कमजाेर बनाएकाे छ । उनका लामो समयदेखिका सारथि विमलेन्द्र निधि नै उनीसँग छैनन् । १३औं महाधिवेशनमा उनीसँगै रहेका अर्जुननरसिंह केसी पनि उनीसँग छैनन् ।

यतिमात्र होइन, खासगरी युवा पुस्तामाझ ठूलो आशा जगाएका र प्रभाव राखेका मानिने विश्वप्रकाश शर्मालाई पनि देउवाले गुमाएका छन् । धेरै पहिलेदेखि नै शर्माको विरोधमा रहँदै आएका नेता कृष्णप्रसाद सिटौलालाई साथमा लिँदै शर्मालाई अलग्गिन बाध्य बनाएको र यो शर्माप्रति देउवाको कृतग्न व्यवहार भएको भनेर उनीसँग रुष्ट हुने नेताहरू पनि भेटिन्छन् ।

यसरी केही आफ्ना विश्वासपात्र नभएको र केही नयाँ अनुहारहरू थपिएको अवस्थामा देउवा छन् । तर, उनलाई पार्टीको र देशको पनि सत्ता र सरकार हुनुको फाइदा भने अवश्य हुनेछ । यही बलले पनि उनले पहिलो चरणमै ५१ प्रतिशत मत ल्याउने आँकलन गर्नेहरू पनि छन् । अर्कोतिर एक कार्यकालमा उनले खास केही गर्न नसकेको र शारीरिक रूपमा पनि अब बृद्ध भइसकेकाले नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्नेको मत पनि कम छैन । यसको प्रत्यक्ष फाइदा चाहिँ कोइरालालगायत उम्मेदवारहरूलाई हुने नै भयो ।

१३औं महाधिवेशनमा देउवाले दोस्रो चरणमा जित हासिल गरेका थिए । तर, यसपटक भने उनी दोस्रो चरणमा जान चाहँदैनन् । किन पनि भने उनलाई दोस्रो चरणमा जाँदा अन्य प्रत्याशीहरू एकठाउँमा उभिने उनलाई डर छ । यसको संकेत पनि उनले पाइसकेका छन् । हिजो सभापतिका प्रत्याशी निधिले पहिलो चरणबाट कसैले बहुमत नल्याउने र दोस्रो चरणमा अहिलेको नेतृत्व परिवर्तनका लागि बाँकी सबै उमम्मेदवार एकै ठाउँमा उभिने बताएका छन् । आज प्रकाशमान सिंहले पनि पहिलो चरणबाट आफूले जित्ने र नजितेको खण्डमा नेतृत्व परिवर्तन गर्ने बताएका छन् ।

देउवालाई यसैको डर छ । फलतः उनले प्रतिनिधिहरूसँग सामीप्यता बढाइरहेका छन् । यत्तिसम्म कि— उनले आफूले मतदान गरिसकेपछि पनि प्रतिनिधिहरूसँग मत मागेका छन् । मतदान गरेपछि मेसमै पुगेका उनले आफूलाई जिताउन माग गरेका थिए । उनले हिजो प्रतिनिधिहरुसँगै लाइन लागेर आफैँ पस्केर खाना पनि खाएका थिए ।

देउवालाई सभापतिमा पराजित हुँदा आफू प्रधान मन्त्रीबाट पनि विस्थापित हुनुपर्ने चिन्ता अर्कोतिर छ । यसको प्रकटीकरण उनले आइतबार लैनचौरमा आयोजित एक कार्यक्रममा गरेका छन् । उनले भनेका थिए— ‘मलाई जिताइदिनुस्, यदि म हारेँ भने पार्टीको आन्तरिक चुनाव त नजित्नेले कसरी सरकार चलाउँछ भनेर मलाई सरकारबाट हटाउँछन् ।’

पहिलो चरणमा देउवालाई बहुमत पुर्‍याउनबाट रोक्न सके दोस्रो चरणमा आफूले बहुमत पुर्‍याउने शेखर पक्षको रणनीति छ । यसरी हेर्दा पहिलो चरणमा देउवा दह्रो देखिन्छन् त दोस्रो चरणमा गए शेखर दह्रो देखिन्छन् ।

नेतृत्व कसको पाेल्टामा पर्छ, त्याे हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *