नगर सभापतिबाट केन्द्रमा छलाङ मारेका मेयर वड

धनगढी । करिब साढे चार वर्षअघि २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनपूर्व कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर को बन्ने वा कसलाई बनाउने भन्ने विषयमा काँग्रेसमा छलफल चल्यो । देश संघीय गणतान्त्रिक राज्य व्यवस्थामा गइसकेपछि नगरपालिकाबाट उपमहानगरपालिका बनेको धनगढीको पहिलो मेयर बन्न थुप्रै आकांक्षी देखिए । त्यसमध्ये काँग्रेसको धनगढी नगर सभापतिसमेत रहेका नृपबहादुर वड पनि मेयरका आकांक्षीका रुपमा खडा भए । पार्टीको नगर सभापति भएकै कारण पनि उनले आकांक्षा राख्नु स्वभाविक थियो ।

मेयरको टिकट फुत्काउन नेताहरु जिल्लादेखि केन्द्र राजधानीसम्म धाउन थाले । मेयरको आकांक्षा राखिरहँदा वडविरुद्ध पार्टी भित्रकैले चलखेल शुरु गरे । ‘दलित समुदायको व्यक्तिलाई मेयरको टिकट दिए कसैले भोट दिँदैनन्, दियो भने नमस्कार गर्नुपर्छ’ भन्ने निकृष्ट शैली पनि अपनाइयो । उनी यसबाट कतिपनि विचल्लित र निराश भएनन् बरु उनलाई फाइदा नै पुग्यो । जातीय नारा उठाएर उनलाई कमजोर बनाउने खेल सफल भएन । कसैले जातीय नारा लगाएर उनलाई कमजोर बनाउन खोज्दा उल्टै उनलाई नै फाइदा पुग्यो । पछि उनले मेयरको टिकट पनि पाए । आफ्ना निकटतम प्रतिद्वन्द्वी मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित गरे ।

सुदूरपश्चिमकै एकमात्र उपमहानगरपालिकाको मेयर बनेपछि नृप वडको थप चर्चा शुरु भयो । धनगढीलाई उनले देशकै उत्कृष्ट उपमहानगरपालिकाको रुपमा उभ्याए । उनी थप चर्चित बने । जुन चर्चाले उनलाई पार्टी राजनीतिमा अगाडि बढ्न सहज बन्यो । काँग्रेसको १३औँ महाधिवेशनका क्रममा पनि कैलाली काँग्रेसको सभापतिका आकांक्षी देखिएका उनले पछि नगरसभापतिमै चित्त बुझाउनुपर्‍यो । नगरसभापति रहँदै गर्दा उनी पछि मेयरमा निर्वाचित भएका हुन् । यसपटक पार्टीको १४औँ महाधिवेशनमा पनि उनी जिल्ला सभापतिका आकांक्षी थिए । उनले धनगढीमै पार्टीको एक कार्यक्रममा सभापतिको उम्मेदवारी घोषणासमेत गरिसकेका थिए । जसका लागि उनले भित्री तयारी पनि गरिरहेका थिए ।

कैलाली क्षेत्र नम्बर ५ को क्षेत्रीय अभिवेशनमा उनले सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधिसमेत चुनिए । क्षेत्रमा सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिएपछि उनको लोकप्रियताको आँकलन गरियो । नभन्दै मेयर वड पार्टीको १४औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनको यो पार्टीमा भएको सबैभन्दा ठूलो छलाङ हो । उनले नगर सभापतिबाट एकैपटक पार्टीको केन्द्रीय सदस्य बन्ने सौभाग्य पाए । संस्थापन पक्षबाट प्यानलमा पर्न सफल भएका उनलाई जित हात पार्न झन सहज बन्यो । दलित कोटामा पाँच जनाका लागि भएको निर्वाचनमा लोकप्रिय मत ल्याएर दोस्रो नम्बरमा रहँदै केन्द्रीय सदस्य निर्वाचित भए उनी ।

जिल्ला अधिवेशन स्थगित हुँदा फाइदा
कैलालीमा काँग्रेसको वडा, पालिका र क्षेत्रीय अधिवशेन सम्पन्न भयो । तर जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि गर्ने गरि स्थगित भयो । प्रदेश अधिवेशन गर्ने जिम्मेवारी पनि कैलालीलाई दिइएपछि समय अभाव भन्दै जिल्ला अधिवेशन स्थगित गरिएको थियो ।

जिल्ला अधिवशेन स्थगित भएपछि जिल्ला सभापतिका लागि उम्मेदवारीसमेत घोषणा गरेको मेयर वडलाई केन्द्रीय सदस्यमा उम्मेदवारी दिन पाउने अवसर जुट्यो । काँग्रेस सभापति शेरबहादुर देउवा र देउवा पत्नी डा। आरजु राणा देउवासंग राम्रो सम्बन्ध भएका वडले संस्थापन प्यानलबाटै उम्मेदवारी दिन पाए । जसमा उनी सफल पनि भए । यसअघिको जिल्ला अधिवशेनमासमेत जिल्ला सभापतिका उम्मेदवार बन्न नपाएका वड अगामी अधिवशेनमा पनि सभापतिमा आकांक्षा राख्दाराख्दै केन्द्रीय सदस्य बन्न पुगेका छन् । उनले राजनीतिक रुपमा छलाङ मारेका छन् ।

राजनीतिक यात्रा
घरपरिवारमा राजनीतिक पृष्ठभूमि नभएका वडको राजनीतिक यात्रा २०४६ सालदेखि सुरुवात भएको हो । त्यसबेला नेपाल विद्यार्थी संघमा आवद्ध भएका उनले २०४९ मा पार्टीको क्रियाशील सदस्यता लिएका थिए । त्यसयता उनी पूर्णकालीन रुपमा राजनीतिमा होमिए । २०५१ सालमा धनगढी-५ जाईको वडा सभापति भएका वड २०५७ मा तत्कालिन धनगढी नगरपालिकाको नगर सचिव बने ।

वडाको सभापति हुँदै नगर सचिवसम्म भएपछि उनले कहिल्यै राजनीतिक रुपमा पछाडि सर्न परेन । युवा वर्गको नेतृत्व गर्दै आए । २०६२/६३ को दोस्रो जनआन्दोलनमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरे । त्यसक्रममा उनी पक्राउ पनि परे । ९६ दिनसम्म जलेमा बसे । काँग्रेसको सक्रिय कार्यकर्ता भएर गाउँमै बसेका उनले माओबादी द्वन्द्वका बेला पनि गाउँ छोडेनन् । बरु द्वन्द्वकालमै नगरसभापति बने । त्यसबेला काँग्रेस, एमालेलगायतका नेताहरु पलायन हुने गरेका थिए ।

धनगढीमा राम्रो छाप छोडेका वड २०७४ को स्थानीय तहको निर्वाचनमा मेयरमा निर्वाचित भए । लामो समय नगरसभापति हुँदै धनगढीको मेयरसमेत बन्न सफल भएका उनले अहिले केन्द्रीय सदस्य बनेर आफ्नो राजनीतिक यात्रालाई सुनिश्चित र थप सुरक्षित बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *