अग्रजको आरक्षण लोभले नेतृत्व विकास अवरुद्ध

पोखरा । १४ दिन लगाएर गणना सकिएसँगै नेपाली कांग्रेसले ४ वर्षका लागि नयाँ कार्यसमिति पाएको छ । मंसिर २७ गते भएको मतदानको गणना बिहीबार सकेर १ सय ३६ सदस्यीय समिति निर्वाचित गरेको छ । जसमध्ये १ सय ८ जना आफू पक्षका विजयी भएपछि शेरबहादुर देउवा पक्ष झनै बलियो बनेको छ ।

नेपाली कांग्रेसले विधान संशोधन गरेर क्लस्टरअनुसार नेतृत्व विकास गरेको छ । पहिले दुई जना सहमहा मन्त्री हुनेमा सबै जात, लिङ्ग र भेगलाई सहमहामन्त्रीमा स्थान ग्यारेन्टी गरिएको छ । केन्द्रीय सदस्यमा पनि महिला, खस-आर्य, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारु, पिछडिएको क्षेत्र, अल्पसंख्यक र अपाङ्गता भएको क्लस्टरबाट स्थान सुरक्षित गरिएको छ भने भूगोलमा सातै प्रदेशले दुई दुई जनाका दरले केन्द्रीय सदस्य पाएको छ ।

तर‚ सैद्धान्तिक रुपमा राम्रो देखिएको क्लस्टरको आरक्षणमा पनि हालिमुहाली भने चल्तापूर्जा नेताको भएको छ ।

विशेषगरी क्लस्टरको निर्वाचनमा चल्तापूर्जा नेताहरूले नै नछोड्दा नयाँलाई नेता बन्ने बाटो बन्द भएको छ । डा. डिला संग्रौला, पुष्पा भुसाल, डा. आरजु राणा देउवाजस्ता नेतृहरू पनि खुलातर्फ लड्ने ल्याकत राखेनन् । उनीहरूमा आफूहरू खुलाबाट प्रतिस्पर्धा गर्दा महिलामा नयाँ नेता जन्मन्छन् भन्ने सुझबुझ होइन‚ कहाँबाट उठ्दा आफ्नो जित निश्चित हुन्छ भन्ने लोभमात्र देखियो ।

कांग्रेसभित्रका चर्चित यी नेतृहरूले खुलामै चुनाव लडेको भए पनि जित्न सक्ने ल्याकत राख्थे । तर‚ उनीहरू महिला क्लस्टरमा छिरे, जसका कारण अरु नयाँको बाटो बन्द भयो ।

आदिवासी जनजाति क्लस्टर पनि अधिकांश चर्चित नेताहरूले नै कब्जा गरे । पटक पटक सांसद र मन्त्री बनेका नेताहरू जनजाति कोटामा उम्मेदवार भए र भाग निश्चित गरे । चिनकाजी श्रेष्ठ‚ उमेश श्रेष्ठ, टेकबहादुर गुरुङ, सीता गुरुङ लगायत नेताहरूले पनि खुलामा जाने ह्याउ देखाएनन् । अर्बपति विनोद चौधरी मधेशी कोटामै सीमित भए र चुनाव जिते ।

मानबहादुर नेपाली खुला सीटबाटै चुनाव जित्न सक्ने उम्मेदवार हुन् । तर‚ उनले पनि आफूलाई कोटाभन्दा माथी उठाउन चाहेनन् । प्रकाश रसाइली, नृपबहादुर वडलगायत नेताहरू पनि क्लस्टरभन्दा बाहिरबाटै आउन सक्ने थिए ।

मुस्लिम कोटाबाट जितेका अब्दुल रज्जाक र अब्दुल सत्तार पनि कोटाभन्दा माथी उठ्नुपर्ने नेताहरू हुन् । केही चर्चित नेताहरू भूगोलमा सीमित भए । प्रदेश नम्बर २ महिलातर्फबाट निर्वाचित चित्रलेखा यादव अघिल्लो महाधिवेशनमा कोषाध्यक्षमा पराजित भएकी हुन् ।

उनी केन्द्रमा राम्रो पहुँच राख्ने र देशभर परिचित नेतृ हुन् । गण्डकीबाट निर्वाचित ध्रुव वाग्ले नेविसंघमा एकछत्र राज गरेर केन्द्रमा स्थापित नेता हुन् भने कृष्णचन्द्र नेपाली पोखरेल हाल मुख्य मन्त्री छन् । गण्डकीबाटै निर्वाचित भएकी सरस्वती अर्याल महिला संघको केन्द्रीय उपाध्यक्ष हुन् । उनीहरूले पनि आरक्षणमा रमाउँदै नयाँ पुस्ताका लागि अवसर रोक्ने राजनीति गरे ।

लुम्बिनीको कोटाबाट निर्वाचित देवेन्द्रराज कँडेल, कर्णालीका राजीवविक्रम शाह लगायत नेताहरू खुला प्रतिस्पर्धा गर्नुपर्नेमा हार्ने डरले लुसुक्क क्लस्टरमा छिरे । मधेशी कोटाबाट निर्वाचित हुँदा खर्बपति बिनोद चौधरीमाथी धेरैले व्यंग्य नै गरे ।

त्यसो त केही यस्ता नेताहरू छन्, जसले सामान्य उपस्थितिमै महत्वपूर्ण पद हत्याउन सफल भए । कांग्रेस नेता धनराज गुरुङ उपसभापतिमा निर्वाचित हुनुअघि केन्द्रीय सदस्यमात्रै हुन् । उनीसँग पदाधिकारीमा काम गरेको अनुभव थिएन र अर्को कुरा उनी कमजोर मानिएको प्यानलबाट उम्मेदवार बनेका थिए । धनराजले बलियो दावेदार विजयकुमार गच्छदारलाई पल्टाइदिए ।

समग्रमा कांग्रेसले देशको विविधतालाई समेटेर विधान बनाए पनि निर्वाचित हुँदा विविधता देखिएन । लामो समय केन्द्रीय राजनीतिमा राज गरेका दाइ-दिदीहरूले नै कोटाको पद खाइदिएपछि नयाँ नेता बन्ने बाटो थुनियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *