यसकारण सम्झनामा रहिरहनेछ टोक्यो ओलम्पिक

काठमाडौँ । टोक्यो ओलम्पिकको औपचारिक समापन भएको छ । हरेक चार वर्षमा हुने विश्व खेलकुदको यो कुम्भमेला सर्वाधिक प्रतिष्ठित खेल प्रतियोगिता पनि हो । टोक्यो ओलम्पिकमा ३३ खेलका ३३९ स्पर्धामा प्रतिस्पर्धा भयो । जहाँ खेलाडीले गरेको संघर्ष लोभलाग्दो रह्यो । टोक्यो ओलम्पिकका केही लोभलाग्दा कहानी यस्ता बने ।

प्रतियोगिता एक वर्ष ढिलो र दर्शकविहीन रंगशाला
कोरोना महामारीका कारण सम्भव हुन्छ कि हुँदैन भन्ने धुकचुकका बिच ‌जापानले ‌ओलम्पिक प्रतियोगिता सम्पन्न गरेको छ । विश्वयुद्धताकाको झैँ यसपटक पनि ‌ओलम्पिक रद्द पो हुने हो कि भन्ने संशयका बीच ‘टोक्यो ओलम्पिक्स २०२०’ एक वर्ष ढिलामात्र सम्भव भयो । सन् २०२० मै हुनुपर्ने प्रतियोगिता कोरोना महामारीका कारण समयमै हुन सकेन ।

यो पनि : अमेरिकी पौडीबाज सेलेबको सनसनीपूर्ण प्रदर्शन, जिते पाँचौं स्वर्ण

टोक्यो ओलम्पिक्स २०२० नाममै आयोजना गरिएपनि प्रतियोगिता भने २०२१ मा मात्र आयोजना गर्न सकिएको हो । यस्तै कोरोना महामारीकै कारण प्रतियोगिता दर्शकविहीन बन्न पुग्यो । कोरोनाको बढ्दो संक्रमणका कारण दर्शकलाई रंगशालामा प्रवेश गर्न दिइएन ।

पहिलो पटक ४९ प्रतिशत महिला सहभागी
इतिहासमै पहिलो पटक सन् १९०० को वर्ष महिलाका लागि विशेष रह्यो । यो त्यहि वर्ष थियो‚ जुन वर्ष महिलाले पहिलो पटक ओलम्पिकमा भाग लिन पाएका थिए । पेरिस ओलम्पिकका नामले चिनिने यो ‌ओलम्पिकमा त्यसबेला कुल ९९७ खेलाडीमध्ये २२ महिला खेलाडी थिए ।

स्विट्जरल्यान्डकी हेलेन दे पोर्तालेस ओलम्पिक खेल्ने पहिलो महिला बनिन् ।

यो पनि : गुमनाम छन् ओलम्पिकमा स्वर्णपदक पाउने नेपाली

१२१ वर्षपछि महिला सहभागिताको कथा उत्साहजनक छ । यसपटकको टोक्यो ओलम्पिकमा ओलम्पिक इतिहासमै पहिलो पटक सर्वाधिक धेरै अर्थात् कुल सहभागीको ४९ प्रतिशत महिला सहभागी भए । पदक तालिकामा शीर्ष स्थानमा रहेका देशलाई पुरुषले भन्दा महिलाले बढी पदक दिलाए । यो अर्को हर्षको कुरा हो ।

समानताको हक
यो ओलम्पिककमा न्युजिल्यान्डकी भारत्तोलन खेलाडी (वेटलिफ्टर) लोरेल हबर्ड विश्वकी पहिलो ट्रान्सजेन्डर महिला(पुरूषबाट महिला बनेकी)हुन्‚ जसले ओलम्पिकमा भाग लिइन् ।

यो पनि : ‘रजतभन्दा कांस्यमा बढी खुसी !’

खेलमा पराजित भएपनि उनले समानताको आधारमा सहभागिता जनाउँदै सबैको मन जितिन् । फाइनल चरणमा नपुगेपनि उनले ओलम्पिकमा सहभागिता जनाउन पाएकोमा सबैलाई धन्यवाद दिइन् ।

खेल जित्नका लागि मात्र खेलिँदैन
कतारका एक खेलाडी मुताज एस्सा बारसिमले ओलम्पिक जित्नका लागि मात्र खेलिँदैन भन्दै मानवताको नमूना प्रस्तुत गरे । खेलाडीको भावना मानवीय मूल्यमा कति अहम् हुन्छ भन्ने सन्देश पनि दिए । बारसिमले फाइनलका क्रममा चोट बोक्न पुगेका इटालियन प्रतिद्वन्द्वी गियानमार्को तांबेरीलाई समेत स्वर्ण पदक दिलाए ।

पुरूष हाईजम्पको प्रतिस्पर्धाका क्रममा बारसिम र तांबेरी दुवैले समान २.३७ मिटरको जम्प लगाए । दुवै एकसाथ शीर्ष स्थानमा रहे ।

त्यसपछि इभेन्ट अफिसियलले नियमअनुसार दुवैलाई थप तीन जम्प प्रहार गर्न भन्यो । तीन जम्पमा पनि दुवैले समान २.३७ भन्दा टाढा जम्प गर्न असफल रहे । जब तीन जम्पपछि पनि विजेताको तय भएन‚ त्यसपछि अफिसियलले पुनः दुवैलाई एक-एक पटक जम्प गर्न भने । तर अघिल्लो जम्पका दौरान इटालीका खेलाडी तांबेरी चोटिल भएका थिए । उनले चोटको कारण देखाउँदै थप जम्प गर्न नसक्ने भन्दै फाइनलबाट नाम फिर्ता लिए । कतारी खेलाडी बारसिमले पनि नाम फिर्ता लिंदै दुवै खेलाडीले स्वर्ण बाँड्दै सबैलाई भावुक बनाए ।

यो पनि : सान मारिनो बन्यो ओलम्पिकमा पदक जित्ने सानो देश

पोशाकले दिलाएको चर्चा
ओलम्पिक २०२१ मा महिला खेलाडीको पोशाकको चर्चा भइरहन्छ । यसपटक पुरै कपडा पहिरिएको घटना चर्चामा रह्यो ।

महिलाको ‘सेक्सुअलाइजेसन’विरुद्ध जर्मनीका जिम्नास्टिक टीमले विरोध स्वरुप बिकिनी-कट लियोटार्डको स्थानमा पूरै शरीर ढाक्ने कपडा पहिरिएर स्पर्धामा भाग लिए । आफूलाई मन पर्ने पहिरन लगाउन पाउनुपर्ने कुराले यो ओलम्पिकमा राम्रो चर्चा पायो । अझ जर्मनी खेलाडीको कपडाको चर्चाले खेलभन्दा फरक अवस्थामा पुर्‍यायो ।

यो पनि : पुरुष फुटबलको ओलम्पिक स्वर्ण ब्राजिललाई

लड्दै उठ्दै दौडँदै
लड्न सहज हुन्छ तर‚ फेरि उठेर दौडनु झन मुस्किल‚ अझ जित निकाल्नु झनै कठिन कार्य हो । तर नेदरल्यान्डकी २८ वर्षीय एथलेटिक्स खेलाडी सिफान हसन यस्तै दुर्घटनाबाट इतिहास बनाउन सफल भइन् । २ अगस्टमा महिला १५०० मिटर दौडको छनौट चरणको खेलमा केन्याकी खेलाडी ट्र्याकमा लडिन् । नजिकै रहेकी सिफान पनि उनीसँग अल्झिएर लडिन् तर उनी लगत्तै उठेर दौडिइन् ।

उनी यस्तरी दौडिइन् कि सबैलाई पछि पार्दै उनी पहिलो स्थानमा दौड पूरा गर्न सफल भइन् । उनी दोस्रो खेलाडीको गल्तिबाट लडेकी थिइन् । उनले चाहेको भए प्रोटेस्ट गरेर सिधै अघिल्लो चरणमा जान सक्थिन् । तर उनले स्पोर्ट्सम्यानसीप मात्र देखाइनन्‚ पहिलो स्थानमा रहेर दौड पूरा गरिन् ।

यो पनि : सानो देशको ठूलो कीर्तिमान

मानसिक अवस्थामा खेलवाड नगरौँ
अमेरिकी जिम्नास्टिक साइमोन बाइल्स जारी ओलम्पिकमा चर्चामा रहिन् । खेलमा जितको पछिको कारण शारीरिक मात्र मानिन्थ्यो तर खेलाडीका लागि मानसिक रुपमा तयारी हुनु पनि उतिकै जरुरी छ । उनले मानसिक रुपमा तयार नभएको भन्दै फाइनलबाटै आफ्नो नाम फिर्ता लिएर एक नयाँ उदारण बनिन् ।

ग्रेटेस्ट अफ अल टाइम नामबाट प्रसिद्ध साइमोन ओलम्पिक र विश्वकपमा ३० पटक च्याम्पियन हुन् । ओलम्पिक इतिहासमा सर्वाधिक धेरै मेडल जित्ने खेलाडी बन्न उनी चार पदक टाढा थिइन् । तर उनले मेडलभन्दा मेन्टल हेल्थलाई ध्यानमा राखिन् ।

यो पनि : केन्याका किपचोगेलाई ओलम्पिक म्याराथनको स्वर्ण

पदक जित्ने साना देशको कीर्तिमान

ओलम्पिकमा पदक जित्ने सबैभन्दा सानो देश सान मारिनो बनेको छ । टोक्यो ओलम्पिकमा केवल ३४ हजार जनसंख्या भएको देश सानमारिनोकी  एलेसान्द्रा पेरिलीले कास्य पदक जित्दै ओलम्पिकमा पदक जित्ने विश्वकै सबैभन्दा सानो देशका रुपमा आफ्नो देशको नाम राखिन् । उनले महिला ट्रयाप सुटिङमा देशलाई काश्य पदक  दिलाइन् ।

यस्तै टोक्यो ओलम्पिकबाटै बर्मुडा ओलम्पिकमा स्वर्ण  पदक जित्ने  सबैभन्दा सानो देश बनेको छ। ६३ हजार जनसंख्या भएको बर्मुडाका लागि ‍फ्लोना डुफीले ट्रायथलनमा स्वर्ण जित्दै इतिहास बनाइन्।

‘प्ले लाइक अ गर्ल’
यो ओलम्पिकमा स्केटबोर्ड पहिलो पटक सहभागी गराइएको खेल थियो । तर, डेब्यू ओलम्पिकमा नै यो खेलका खेलाडीले इतिहास बनाए ।

जापानकी १३ वर्षीय मोमिजी निशयाले महिलाको व्यक्तिगत स्केटबोर्डमा स्वर्ण पदक जितिन् । रजत पदक ब्राजिलकै १३ वर्षीय रेसा लीलले जितिन् । कांस्य जापानकी १६ वर्षीय फुना नाकायामाले जितिन् ।

 

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =