मानवताको मेडल : एकै स्पर्धामा दुई स्वर्णको कथा

कसरी सम्भव भयो प्रतिस्पर्धीलाई पनि स्वर्ण पदक दिलाउन

ओलम्पिक स्वर्ण जित्नु कुनै पनि खेलाडीको एक स्वर्ण सपना हुन्छ । खेलाडीको सफलताको मापनको कडी पनि हो यो । किनभने त्यसभन्दा माथि टेक्ने शायदै अर्को खुट्किलो होला । तर सबैले सधैँ यस्तैमात्र नसोच्ने रहेछन् ।

विपक्षीलाई हराउँदै अघि बढ्नु, उसलाई उछिन्नु र पदक जित्नु सामान्यतया खेलको नियम हो । खेलाडीले यहि नियम नै पालना गर्नुपर्छ, गर्ने गर्छन् । तर खेलमा कुनै बेला यस्तो क्षण पनि आउने रहेछ जुनबेला कुनै खेलाडीले यसरी पनि सोच्ने रहेछन् कि ‘मेरो प्रतिस्पर्धीले पनि स्वर्ण पदक जित्ने कुनै उपाय छ कि !’

कतारी खेलाडी मुताज एस्सा बारसिमले यहि कुराको पुष्टि गरे ।

उनले ओलम्पिकमा स्वर्ण पदकमात्र जितेनन्, खेल भावना मानवताको कसीमा कति मूल्यवान हुन्छ भन्ने सन्देश पनि दिए । मानवताको मेडल अमूल्य हुने सन्देश दिए । सँगै, खेलाडीले छोटो समयमै कति राम्रा कुरा सोचेर निर्णय लिँदा रहेछन् भन्ने सन्देश पनि दिए ।
उनले आफूले त स्वर्ण पदक जिते नै आफूसँगै प्रतिस्पर्धा गरेका खेलाडीलाई पनि स्वर्ण दपक दिलाए । बारसिमले आफूसँग उही स्पर्धामा प्रतिस्पर्धा गराइरहेका र आफूलाई नै हराएर पदक जित्न भरमग्दुर प्रयत्न गरिरहेका इटालीका प्रतिद्वन्दी गियानमार्को ताम्बेरीलाई समेत स्वर्ण पदक दिलाउन सफल भए ।

आखिर कसरी सम्भव भयो त एउटै स्पर्धामा दुई स्वर्णपदक …

टोकियो ओलम्पिकमा पुरूष हाईजम्पको स्पर्धा चल्दै थियो । बारसीम र ताम्बेरी दुवै एकअर्कालाई हराएर स्वर्ण पदक जित्ने कोसिसमा थिए । दुवैले समान २.३७ मिटरको जम्प लगाए । दुवै एकसाथ शीर्ष स्थानमा रहे । त्यसपछि पदकको छिनोफानो गर्न इभेन्ट अफिसियलले नियमअनुसार दुवैलाई थप तीनपटक जम्प गर्न भने । तीन जम्पमा पनि दुवैले समान २.३७ मिटरभन्दा बढी जम्प गर्न सकेनन् । तीन जम्पपछि पनि विजेता तय नभएपछि अफिसियलले दुवैलाई पुन: एक-एक पटक जम्प गर्न भने । तर, अघिल्लो जम्पका क्रममा ताम्बेरीलाई चोट लाग्यो । उनी घाइते भए । चोटको कारण देखाउँदै थप जम्प गर्न नसक्ने भएपछि फाइनलबाट नाम फिर्ता लिए ।

मतलब उनले स्वर्णको आशा मार्नु र रजतमा चित्त बुझाउनुको विकल्प रहेन ।

यस्तोमा कतारी खेलाडी बारसीमसामु स्वर्ण जित्ने सुवर्ण अवसर थियो । किनभने एकपटक जम्प गर्नासाथ उनले स्वर्ण जितिहाल्थे । तर ताम्बेरीको चोट र उनको आँखामा छचल्केको आँसु देखेका बारसीमको
दिमागले केही मिलिसेकेन्डमै असाधारण कुरा सोच्यो । उनले अफिसियललाई सोधे मैले पनि नाम फिर्ता लिएँ भने के हुन्छ ? अफिसियलले ‘रुल बुक’ हेरेर भने ‘तिमिले पनि नाम फिर्ता लिएको खण्डमा हामीले दुवैजनालाई स्वर्ण दिनुपर्ने हुन्छ ।’ यो सुनेपछि खुसी भएका बारसीमले आफ्नो पनि नाम फिर्ता लिए । यो निर्णयले अचम्मित र आश्चर्यचकित भएका ताम्बेरीले आँशु झार्दै बारसीमलाई अंगालोमा बेस्सरी कसे ।

त्यसपछि दुवैलाई स्वर्ण पदक दिइयो । ताम्बेरीसँग स्वर्ण पदकको साझेदारी गरेपछि बारसीमले भने ‘खेलमा जित्नुमात्रै सबथोक होइन । हामीले आउने पुस्तालाई मानवताभन्दा ठुलो मूल्य केहीको पनि हुँदैन भन्ने सन्देश दिएका छौं ।’
आफैँलाई छक्क पार्ने खालको बारसीमको निर्णय र त्यसले दिलाएको खुसीले पुलकित ताम्बेरीले पनि ओलम्पिककै सर्वाधिक मूल्यवान स्वर्ण पदक जितेको बताए ।

उनले कतारी ‘प्रतिद्वन्दी’ बारसीमलाई गम्लङ्ग अँगालो हाल्दै लामो फन्को लगाए । विश्व खेलकुद यो दुर्लभ दृष्यको साक्षीमात्र भएन‚ खेल भावना र मानवताको यो सर्वोत्तम स्वादिलो उदाहरणले ओलम्पिकको गौरव बढाएको महसुस पनि गर्‍यो ।

यो दुर्लभ उदाहरण विश्वभरि वर्षौंसम्म खेल क्षेत्रमा मात्र होइन‚ मानवताको क्षेत्रमा पनि सम्झिइरहनेछ । र सुन्ने जो कोहीले पनि बारसीमको उदार खेल र मानवीय भावनालाई स्याब्बास भनिरहनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *