अमेरिकी पौडीबाज सेलेबको सनसनीपूर्ण प्रदर्शन, जिते पाँचौ स्वर्ण

काठमाडाैँ । अमेरिकी पौडीबाज सेलेब ड्रेसलले टोक्यो ओलम्पिकमा सनसनीपूर्ण प्रदर्शन जारी राखेका छन् । उनले अहिलेसम्म यो प्रतियोगितामा पाँच स्वर्ण जितिसकेका छन् ।

आइतबार बिहान भएको चार गुणा १०० मिटर मिड्ले रिलेमा विश्व कीर्तिमानसहित स्वर्ण जित्दै ड्रेसलले स्वर्ण संख्या पाँच पुर्‍याएका हुन् । उनीसँगै राएन मर्फी,  माइकल आन्द्रे र ज्याक अप्पलले तीन मिनेट २६.७८ सेकेण्ड टाइमिङ निकाल्दै विश्व कीर्तिमान कायम गरेका हुन् । उनीहरुले सन् २००९ मा रोममा भएको वर्ल्ड च्याम्पियनसिपमा अमेरिकाले नै राखेको ३ मिनेट २७.२८ सेकेण्डको कीर्तिमान तोडे ।

उनले आइतबार बिहानै भएको ५० मिटर फ्रिस्टाइलमा २१.०७ सेकेण्डको ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका थिए । २४ वर्षीय सेलेबले त्यसअघि चार गुणा १०० मिटर फ्रिस्टाइल र १०० मिटर फ्रिस्टाइलमा ओलम्पिक रेकर्डसहित स्वर्ण जितेका थिए । यस्तै उनले १०० मिटर बटरफ्लाइमा पनि नयाँ विश्व कीर्तिमानसहित स्वर्ण पदक हात पारेका छन् ।

ड्रेसलले २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा २ स्वर्ण जितेका थिए । उनलाई ‘नेक्स्ट माइकल फेल्प्स’ को रुपमा समेत हेरिएको छ । विश्व पौडीका लेजेण्ड अमेरिकन माइकल फेल्प्सले २०१६ को रियो ओलम्पिकपछि सन्यास लिए । रियो ओलम्पिकमै ड्रेसलले फेल्प्ससहितको टिमबाट चार गुणा १०० मिटर फ्रिस्टाइल रिलेमा र चार गुणा १०० मिटर मिडले पनि स्वर्ण जितेका थिए । त्यतिबेला उनी १९ वर्षका थिए ।

त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै आएका ड्रेसलले २०१७ को फिना वर्ल्ड च्याम्पियनसिपमा ७ स्वर्ण पदक जितेका थिए । यस्तै २०१९ को वर्ल्ड च्याम्पियनसिपमा ६ स्वर्ण र दुई रजत पदक जितेका थिए । माइकल फ्लेपले बेइजिङ ओलम्पिकमा भाग लिएका पौडीका सबै ८ स्पर्धामा स्वर्ण जित्दै इतिहास रचेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *