सान मारिनो बन्यो ओलम्पिकमा पदक जित्ने सानो देश

केवल ३४ हजार जनसंख्या भएको देश सानमारिनो ‌ओलम्पिकमा पदक जित्ने सर्वाधिक सानो देश बनेको छ । जारी टोक्यो ओलम्पिक २०२० अन्तर्गत महिला ट्रयाप सुटिङमा एलेसान्द्रा पेरिलीले कास्य पदक जितेपछि सान मारिनो ओलम्पिकमा पदक जित्ने विश्वकै सबैभन्दा सानो देश बनेको हो ।

जारी टोक्यो ओलम्पिकमा अहिलेसम्म ५९ राष्ट्रले पदक जितेका छन् । जसमा पछिल्लो पदक जित्ने देश सान मारिनो बनेको छ । ५९ मध्ये ३१ देशले स्वर्ण जितेका छन् । जसमा चीन १४ स्वर्ण ६ रजत र ९ काश्यसहित शीर्ष स्थानमा रहँदा १३ स्वर्ण १४ रजत १० काश्यसहित अमेरिका दोस्रो तथा १३ स्वर्ण ४ रजत र ५ काश्यसहित जापान तेस्रो स्थानमा छ ।

सान मारिनोका लागि पेरिलीले बिहीबार पहिलो पदक जित्न सफल भइन् । उनले २९ स्कोर जोड्दै पदक पक्का गरेकी हुन् । यसअघि सन् २०१२ को लन्डन ओलम्पिकमा चौथो स्थानमा रहँदै पदकबाट वञ्चित रहेकी उनी टोक्योमा भने पदक जित्न सफल भइन् ।

बिहीबारको प्रतिस्पर्धामा अस्ट्रेलियाकी लेतिषा स्कान्लान अन्तिम प्रहारमा चुकेपछि उनको पदक पक्का भएको थियो । यस स्पर्धामा स्लोभाकियाकी जुजना रेहाक स्तेफेचेकोभाले स्वर्ण तथा अमेरिकाकी कैल ब्राउननिङले रजत जितिन् । सान मारिनोले यसपटक ओलम्पिकमा ५ खेलाडी पठाएको छ । उनीसँगै सुटिङमा अर्का पुरुष खेलाडी र जुडो,  कुस्ती र पौडीमा १-१ खेलाडीले सहभागिता जनाएका छन् ।

यसअघि, बुधबारमात्र फ्लोरा डफीले ट्रायथलनमा स्वर्ण पदक जित्दा बर्मुडा ओलम्पिकमा स्वर्ण जित्ने सर्वाधिक सानो देश बनेको थियो । यो कीर्तिमान भने बर्मुडाको नाममा कायम छ ।

यो पनि
सानो देशको ठूलो कीर्तिमान

यद्यपि ६३ हजार जनसंख्या भएको बर्मुडाको नाममा पदक जित्ने सबैभन्दा सानो देशको कीर्तिमान भने सानमारिनोले भंग गरेको छ । सन् १९७६ मा क्लारेन्स हिलले बक्सिङमा कास्य जित्दै उक्त कीर्तिमान राखेका थिए ।

बर्मुडालाई स्वर्ण पदक जित्ने सबैभन्दा सानो देश बनाउने क्रममा डफीले ट्रायथलनमा ५१ किलोमिटर पार गरेकी थिइन् । यो दुरी जम्मा ४० किलोमिटर लम्बाई रहेको बर्मुडामा एक छेउबाट अर्को छेउसम्म पुग्दाभन्दा लामो दुरी हो । हालसम्म ओलम्पिकमा १६ करोड ३० लाखभन्दा बढी जनसंख्या रहेको बंगलादेश पदकविहीन हुने ठूलो राष्ट्रका रुपमा रहेको छ । बंगलादेशबाट यो पटक ६ जनाले सहभागिता जनाएकोमा तीन जनाको चुनौती समाप्त भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *