प्रचण्ड- नेताहरू चोर हुन् त ?, कांग्रेस कार्यकर्ता- हाे हाे‍… (भिडिओसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूलाई गाउँघरमा ‘चोर’ भन्ने गरेको अभिव्यक्ति दिएपछि कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोह उनकै भाषणमा केन्द्रित भयो । उनीपछि बोल्ने हरेकजसो प्रमुख पार्टीका नेताहरूले लिङ्देनको कटाक्ष गरे । लिङ्देनले भनेका थिए, ‘सबै राजनीतिक दलहरूलाई आग्रह गर्न चाहान्छु कि, देशको राजनीति आम जनताको दृष्टिकोणमा लिकबाट बाहिर गएको देखिन्छ । हाम्रो गाउँघरतिर पार्टीको कार्यकर्ता आए भने कुनचाहिँ चोर आएछ भन्छन् मान्छेहरू । हाम्रो अवस्था यो छ ।’

उनी त्यतिमा मात्रै रोकिएनन्, थपे— ‘सरकार सरकारजस्तो छैन, संसद् संसद्जस्तो छैन । अदालत अदालतजस्तो छैन । यो सबलाई ठिक लगाउने कसले ? यो सबलाई ठिक लगाउने राजनीतिले । तर राजनीति ठिक छैन । त्यो राजनीतिलाई कसले ठिक लगाउने ? नेताले । तर नेताहरुले पूर्णरूपमा विश्वास गुमाएको छ । अब देशमा राष्ट्र प्रमुखको रूपमा राजसंस्था लागू गरौँ ।’

उनले ठूला पार्टीहरूको महाधिवेशन औपचारिकतामा मात्रै सीमित भएको भन्दै नेतृत्वप्रति बिग्रिएको छवि सुधार्ने अवसरको रूपमा पूरा गर्न सुझाए ।

त्यसपछि बोल्न आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस कार्यकर्ताहरूलाई सोधे, ‘नेताहरू आए भने गाउँघरमा चोर आए भन्छन् भन्नुभयो । यो साँचो हो त साथीहरू ?’

भृकुटीमण्डपको एउटै स्वर सुनियो— हो हो हो… ।

प्रचण्डले त्यसलाई स्कीप गरेर भने— होइन, गलत हो ।

फेरि भृकुटीमण्डपबाट कर्कटध्वनी गुञ्जियो— हो हो हो… ।

प्रचण्डले प्रश्न गर्न छोडेर अघि बढे । ‘यो केको निम्ति भनियो ? जतिबेला लोकतन्त्रका निम्ति संघर्ष गरेका दल र नेताहरूलाई बदनाम गर्न खोजिन्छ । त्यहाँ निरंकुशता र तानासाह जन्माउने षड्यन्त्र हो भनेर बुझ्न जरुरी छ,’ उनले लिङ्देनप्रति संकेत गर्दै भने, ‘कहीँ न कहीँ तानासाही त्यसरी नै आउने गर्दछ । त्यसकारण हामी सतर्क हुन जरुरी छ ।’

लिङ्देनपछि बोल्ने अधिकांश नेताहरूले उनलाई प्रतिउत्तर दिएर फर्किए । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पनि राजसंस्था अब फर्किन सम्भव नभएको बताए । ‘नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको छ । सावधान भन्न म चाहान्छु । प्रतिगामी तत्त्वहरूलाई भन्न चहान्छु, फेरि शिर उठाउने दुस्साहस नगर्नुस्, अब नदीको प्रवाह अगाडि बढिसकेको छ,’ उनी थप्छन्, ‘त्यसो हुनाले नेपालमा राजतन्त्रको कुनै भविष्य छैन । कुनै सम्भावना छैन । राम्रो के हुन्छ भने, राजाले पनि नयाँ पार्टी खोले हुन्छ । नत्र एउटा व्यापार गरेर बसे हुन्छ । नेपालको रक्षा हामी नेपाली जनताले गर्न सक्दछौँ ।’

पुर्वप्रधान मन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लिङ्देनलाई बाच्छोको संज्ञा दिए । ‘हरेक नेता चोर हुन्छन् भन्ने कुरा बोकेर हिँड्ने ? भर्खर भर्खर अध्यक्ष भएको रापताप होला । भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि कुद्छ के,’ लिङ्देनप्रति लक्षित गर्दै उनले भने, ‘नयाँ सभापति भएको अलिकति रापताप होला । अलि समयपछि ठिक होला भन्ने मलाई लाग्छ ।’

ओलीले कोही जन्मिँदै शासक भएर जन्मिन्छ भन्ने सिद्धान्त, नागरिक स्वाभिमानविपरीत भएको भन्दै राजसंस्थाको विरोध गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *