कांग्रेसमा ‘महाधिवेशन सरगर्मी’, नेताहरू छलफलमा व्यस्त

टुङ्गिएनन् सभापतिका उम्मेदवार

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबार शुरू हुँदैछ । महाधिवेशन शुरू हुन १ दिन मात्रै बाँकी छँदा पनि कांग्रेसभित्र सभापतिका उम्मेदवारहरू टुङ्गिएका छैनन् । साझा उम्मेदवार टुङ्ग्याउने भन्दै संस्थापन र इतर दुवै पक्षको बैठक गत सोमबारयता बसिरहेको छ । यद्यपि दुवै पक्षले सभापतिसँगै अन्य पदाधिकारीहरू टुङ्गिएका छैनन् ।

संस्थापन पक्षबाट बहालवाला सभापति शेरबहादुर देउवाले नै दाेहाेरिने बताएका छन् भने उपसभापति विमलेन्द्र निधिले पनि आफ्नाे अडान नछाड्ने बताएका छन् । दुई महिनाअगावै सम्पर्क कार्यालय खाेलेर बसेका निधिले कुनै पनि हालतमा सभापति पदकाे उम्मेदवारबाट ‘ब्याक’ नहुने दाेहाेर्‍याउँदै आएका छन् । उनले देउवाले नै १३औं महाधिवेशनका बेला ‘१४‍औं महाधिवेशनमा तपाईं उठ्नुस्’ भनेर भनेकाे स्मरण गर्दै आफू पछाडि हट्नेखाले उम्मेदवार नभएकाे जिकिर गरेका छन् ।

देउवाले भने आफूलाई चुनाैती दिएका निधिलाई पत्याएका छैनन् । देउवाले बुधबार बिहान ९ बजे बूढानीलकण्ठमा बसेकाे बैठकमा पनि निधिलाई बेलाएनन् । यसपछि देउवाले निधिलाई छाडेकाे नेताहरूले अनुमान लगाएका छन् । देउवानिकट नेता मीन विश्वकर्मा भने निधिसमेत साथमै रहेकाे बताउँछन् । बुधबारकाे बैठकमा उहाँ किन अनुपस्थित हुनुभयाे ? भन्ने प्रश्नमा उनले भने, ‘अर्काे बैठकबाट हुनुहुन्छ । बैठक बसिरहेकै छ । उहाँ आउनुहाेला ।’

संस्थापनइतर पक्षलाई सभापति र अन्य पदाधिकारीहरूकाे नाम टुङ्ग्याउन अझ सकस परिरहेकाे छ ।  प्रदेश र त्यसभन्दा तल्लो तहका मतपरिणामले यस पक्षले ‘एक नभए चुनाव हारिन्छ’ भन्ने विश्लेषण त गरेको छ, तर साझा उम्मेदवार बनाउन भने सकिरहेको सकिरहेको छैन । आकांक्षी बढी भएपछि याे पक्षलाई बढी सकस परेकाे हाे । यस पक्षमा वरिष्ठ नेता रामचन्द्र पाैडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा‍. शेखर काेइराला सभापतिका आकांक्षी छन् । उनीहरू तीनैजनाले आफ्नाे दाबी छाडेका छैनन् ।

त्यसाे त युवा नेताहरूले साझा उम्मेदवार बनाउन दबाब दिएपछि अर्का सभापतिकै उम्मेदवार महामन्त्री शशा‌ंक काेइरालाले भने आफ्नाे दाबी छाडेका छन् । नेता पाैडेललाई सभापतिकाे उम्मेदवार बनाउने प्रस्ताव गर्दै उनले आफ्नाे दाबी छाडेकाे घाेषणा गरेका हुन् । युवा नेताहरूले नेतृत्व नेताहरूले सहमतिमा नाम नटुङ्ग्याए आफूहरूले पदाधिकारी ‘टिम’ बनाउने चेतावनी दिँदै आएका छन् ।

उता कांग्रेसकै तेस्रो धार कृष्णप्रसाद सिटौला पक्षकाे पनि बैठक बसिरहेकाे छ । आफ्नै निवासमा सिटाैलाले बाेलाएकाे बैठकले आफ्नै प्यानल खडा गर्ने कि अरू नै कुनै पक्षलाई सघाउने भन्नेबारे निष्कर्ष निकाल्ने एक नेताले बताए । उक्त बैठकमा बिहान नेता रामचन्द्र पौडेल पनि पुगेका थिए । आफ्नो पक्षको बैठकबाट खाने खान भनेर निस्किए पौडेल सिटौला निवास पुगेका थिए । अन्य नेताहरूकाे राय बुझ्न भन्दै सिटाैला निवास पुगेका पाैडेलले आफ्ना पक्षका अन्य नेताहरूलाई ‘बस्दै गर्नुस्’ भनेर फाेनमा भनेका छन् ।

यद्यपि सिटौला पक्षले संस्थापन पक्षालाई नै सहयोग गर्ने निश्चितप्रायः भइसकेको छ । प्रदेशमा समेत देउवालाई सिटौलाले सहयोग गरेका थिए । १३औं महाधिवेशनमा समेत देउवालाई नै सहयाेग गरेर सिटाैला आफैँ पनि सभापतिका आ‌कांक्षी नेता हुन् ।

अहिलेसम्म कुनै पनि पक्षले सभातपिसँगै अन्य पदाधिकारीहरू टुङ्ग्याएका छैनन् । कांग्रेसमा दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीमा निर्वाचित हुनेछन् । यसमा कुनै पनि पक्षले टुङ्ग्याएका छैनन् । कांग्रेसमा काेषाध्यक्ष भने मनाेनीत हुने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *