पदाधिकारीका उम्मेदवार छान्न देउवाले बोलाए बैठक

काठमाडाैँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । देउवाले आज बिहान ९ बूढानीलकण्ठमा पदाधिकारीका उम्मेदवार छान्न बैठक बोलाएका हुन् ।

बैठकमा १४ औं महाधिवेशनमा संस्थापन पक्षको प्यानल निर्माणका विषयमा छलफल हुने काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । देउवाले बैठकमा आकांक्षीहरुको कुरा सुन्ने र जितिने गरि टिम बनाउन खोज्ने बताइएकाे छ ।

देउवा पक्षमा उपसभापति, महामन्त्री, सहमहामन्त्रीका आकांक्षी धेरै देखिएका छन् । सभापतिमा देउवाले उम्मेदवारी दिने निश्चित छ भने सभापतिपछि दोस्रो पद (दुईजना उपसभापति) मा वर्तमान उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का मुख्य दाबेदार छन् ।

महामन्त्रीमा वर्तमान सहमहामन्त्री प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, नेताहरु एनपी साउद, रमेश लेखक र प्रवक्ता विश्वप्रकाश शर्माको दाबी छ । देउवा टिमबाट खसआर्यतर्फको सहमहामन्त्रीमा मोहन बस्नेत, सुरेन्द्र पाण्डे, गोविन्द भट्टराईलगायतको पनि दाबी छ ।

दलिततर्फको देउवा समूहबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा, लक्ष्मी परियार र सुजाता परियार सहमहामन्त्रीका दाबेदार हुन् । प्रमुख दाबेदार भने मानबहादुर र मीनबहादुर नै हुन् । यस्तै मुस्लिम कोटाको सहमहामन्त्रीमा देउवा समूहबाट केन्द्रीय सदस्यहरु फर्मूल्लाह मन्सुर र अत्तहर कमाल मुसलमानबीच हानथाप छ ।

महिलातर्फको सहमहामन्त्रीमा देउवा समूहबाट धेरै दाबेदार देखिएका छन् । चित्रलेखा यादव, पुष्पा भुसाल, डीना उपाध्याय, डा. डिला संग्रौला, ईश्वरी न्यौपाने र अम्बिका बस्नेत लगायतको नाम सहमहामन्त्रीका रूपमा चर्चामा छ ।

यसैगरी आदिवासी जनजातिको कोटाबाट हुने सहमहामन्त्री पदमा देउवा समूहबाट भीष्मराज आङ्देम्बे, चीनकाजी श्रेष्ठ र बहादुर लामा प्रमुख दाबेदार हुन् । मधेसीफतर्फ सहमहामन्त्री छनोट गर्न पनि देउवालाई सकस छ । देउवा समूहबाट महेन्द्र यादव, अजय चौरासिया, महेश चौरसिया, जंगीलाल राय र रामसरोज यादवलाई सहमहामन्त्रीको मुख्य दाबेदारका रूपमा हेरिएको छ ।

यस्तै थारु सहमहामन्त्रीमा देउवा समूहबाट रामजनम चौधरी र योगेन्द्र चौधरीको नाम चर्चामा छ भने पिछडिएको क्षेत्रबाट चुनिने एकजना सहमहामन्त्रीका लागि देउवा समूहबाट केन्द्रीय सदस्य जीवनबहादुर शाही र पूर्वसांसद राजीवविक्रम शाहीको दाबी छ । हुम्लाका जीवन र जाजरकोटका राजीवमध्येबाट एक जना देउवा पक्षबाट सहमहामन्त्रीको उम्मेदवार हुने बताइन्छ ।

यसैबीच, संस्थापन इतरले पनि सभापतिमा साझा उम्मेदवार चयन आजसम्ममा टुंग्याउने तयारी गरेको छ । मंगलबार दिनभर चाक्सीबारीस्थित नेता प्रकाशमान सिंह निवासमा बसेको बैठकले साझा उम्मेदवार चयन गर्न नसकेपनि सहमतिको नजिक पुगेको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । उनका अनुसार आजसम्ममा सभापतिको साझा उम्मेदवार चयन गर्ने उनको दाबी छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिका लागि एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट छानिने व्यवस्था रहेको छ ।

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेस विधानमा व्यवस्था गरिएको छ । त्यस्तै निर्वाचित बाहेक ३३ जनालाई सभापतिले मनोनित गर्ने विधानमा व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *