शशांकले छाडे सभापतिकाे दाबी

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टी सभापतिको दाबेदारी छोडेका छन् । आसन्न १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने बताउँदै आएका कोइरालाले नेताहरूसँगकाे छलफलपछि आफ्नाे दाबेदारी छाडेका हुन् ।

शेरबहादुर देउवालाई परास्त गर्न भन्दै सभापतिको दाबी छाडेका उनले वरिष्ठ नेता रामचन्द्र पाैडेललाई सभापतिकाे उम्मेदवार बनाउन प्रस्ताव गरेका छन् । मंगलबार पूर्वमहामन्त्री प्रकाशमान सिंहकाे निवास चाक्सीबारीमा बसेकाे संस्थापनइतर पक्षकाे बैठकमा महामन्त्री काेइरालाले आफ्नाे दाबेदारी छाड्ने बताएका हुन् ।

काेइरालाले आफूले दाबेदाबरी फिर्ता लिँदै गर्दा आफ्नै समूहले सभापति जित्नुपर्ने सर्त राखेकाे छलफलमा सहभागी एक नेताले बताए । संस्थापनइतर पक्षले एकैजना सभापति उम्मेदवार बनाउने काेसिस गरिरहेकाे छ । त्यसकै कसरतस्वरूप पाैडेल पक्षका नेताहरू साेमबारयता निरन्तर छलफलमा छन् ।

पूर्वमहामन्त्रीसमेत रहेका नेता प्रकाशमान सि‌ंहले भने आफू कुनै पनि हालतमा ‘ब्याक’ नहुने अडान लिएका छन् । यसकै सन्देश दिन उनले अनामनगरमा सम्पर्क कार्यालयसमेत खडा गरेका छन् । उनले अबकाे कांग्रेसकाे नेतृत्व आफूले सम्हालनुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *