हेमराज भण्डारी भन्छन्-

‘प्रचण्डले नै पार्टीमा नरहँदा पनि हुन्छ भनेपछि बाहिरिएँ’

काठमाडाैँ । केही हप्ताअगाडिकाे मकालुखबरकाे कार्यक्रम ‘मकालु टक्स’ मा नेकपा (माओवादी केन्द्र) का पाेलिटब्यूराे सदस्य हेमराज भण्डारीले भनेका थिए— ‘विकल्प खाेज्ने क्रममा विद्राेह पनि हुनसक्छ ।’ अन्तत: त्यही भयाे । आइतबार मात्रै भण्डारीसहितका धनकुटेली माओवादी केन्द्रका नेताहरूले सामूहिक राजीनामा दिए । यसपछि धनकुटा माओवादी केन्द्रविहीन भएकाे छ । जिल्लाका नेताहरूले भण्डारीकाे स्वतन्त्र अभियानलाई समर्थन गर्ने प्रतिबद्धत व्यक्त गरेका छन् ।

मतलब अब भण्डारीले मंसिर ४ मा हुने आसन्न प्रतिनिधि सभाकाे निर्वाचनमा धनकुटाबाटै स्वतन्त्ररूपमा उम्मेदवारी दिँदैछन् । ‘याे मेराे अन्तिम निर्णय हाे, पुन:विचार हुँदैन/गर्दिनँ,’ मकालुखबरसँग भण्डारीले भने । यसरी माओवादी क्रान्ति सफल हुन्छ ? भन्ने अर्काे जिज्ञासामा उनले भनेका छन्, ‘याे प्रश्नकाे जवाफचाहिँ प्रचण्डले दिनुहुन्छ ।’

उसाे त पार्टीभित्र र खासगरी पार्टी नेतृत्वसँग भण्डारीले वैचारिक तथा सैद्धान्तिक फरक मत दर्ज गरिरहन्छन् । यसकारण पनि उनी खासरूपमा र सकारात्मकरूपमा नेतृत्वकाे दृष्टिमा पर्दैनन् । भनिन्छ— डा. बाबुराम भट्टराई बाहिरिएपछि पार्टीमा वैचारिक मतभिन्नता राख्ने भण्डारी एक्ला नेता हुन् । उनी साेधिरहन्थे— धनकुटामा एकपटक कांग्रेसलाई जितायाैँ, एकपटक एमालेलाई जितायाैँ; अब कसलाई जिताउनुपर्ने ? उनकाे थप गुनासाे रहने गर्छ । २०७४ सालमा पार्टीबाटै र पार्टी नेतृत्वबाटै धनकुटेली जनता र नेता/कार्यकर्तामाथि धावा बाेल्ने काम भयाे, हेप्ने काम भयाे । यी वृत्तान्त सुन्दै गर्दा भण्डारीले भन्न छुटाउँदैनन्— हामीले जसरी भएपनि आफ्नाे जनताकाे, मतदाताकाे रक्षा गर्छाैँ । धनकुटामा केन्द्रबाटै नेताहरू आएर पार्टी बनाउन नपराेस् भन्ने मेराे चाहना छ ।

उसाे त अवस्था त्यस्तै नै भयाे । प्रदेश तथा जिल्लाका नेताहरूले सामूहिक राजीनामा दिएर धनकुटामा माओवादी केन्द्र नरहेकाे सन्देश दिए । किन पार्टी नै छाड्ने अवस्थामा पुग्नुभयाे ? भन्ने मकालुखबरकाे जिज्ञासामा भण्डारी भन्छन्— ‘नेतृत्वबाटै पार्टीमा नरहँदा पनि हुन्छ भन्ने भएपछि रहन मन लागेन, जनता र आफ्नाे ठाउँकाे माया लाग्याे । उनीहरूकाे रक्षा गर्नु आफ्नाे कर्तव्य सम्झेँ ।’

आफूले १५ दिनअगावै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा बुझाएकाेसमेत खुलासा भण्डारीले गरे । उनले भनेका छन्, ‘मैले मकालुखबरकै कार्यक्रममा पनि संकेत गरेकाे थिएँ । मैले १५ दिनअगाडि नै प्रचण्डलाई राजीनामा बुझाएकाे थिएँ । त्याे सार्वजनिक मात्रै आज गरिएकाे हाे । जे हाेस्— आफ्नाे जनताकाे रक्षा गर्न हाम्राे जिम्मेवारी हाे । हामी त्याे गर्छाैँ ।’

२०७४ सालमा पार्टीबाटै अपहेलित हुनुपर्‍याे, यसपटक धनकुटा छाड्दैनाैँ : हेमराज भण्डारी (अन्तर्वार्ता)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *