एमाले सांसद कँडेल भन्छन्: राष्ट्र बैंकमा डेपुटी गभर्नर थप्न हुँदैन

काठमाडौं । नेकपा (एमाले)का सांसद प्रा. डा. पुष्पराज कँडेलले नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर नै पर्याप्त हुने बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमाथिको छलफलका क्रममा उनले राष्ट्र बैंकलाई थप डेपुटी गभर्नर आवश्यक नरहेको धारणा राखे । बैठकमा सहभागी बैंकर्सले डेपुटी गभर्नरको संख्या दुईबाट तीन पुर्याउनुपर्ने प्रस्ताव राखेका थिए ।
सांसद कँडेलले हालको व्यवस्था पर्याप्त रहेको उल्लेख गर्दै बाह्य क्षेत्रको प्रतिनिधित्व आवश्यक ठानिए एक जना राष्ट्र बैंकभित्रबाट र अर्का एक जना बाहिरबाट नियुक्त गर्ने व्यवस्था गर्न सकिने बताए ।
‘निजी क्षेत्रका साथीहरूलाई दुई जना डेपुटी गभर्नरले नपुगेर तीन जना किन चाहिएको हो ? त्यसको तर्क के हो ? दुई जना पर्याप्त हुन्छन् । आवश्यक परे एक जना राष्ट्र बैंकभित्रबाट र अर्को बाहिरबाट ल्याउने व्यवस्था गर्न सकिन्छ,’ उनले भने ।
छलफलका क्रममा उनले राष्ट्र बैंकको सञ्चालक समितिमा महिलाको प्रतिनिधित्व नभएको विषय पनि उठाए । सरकारले सार्वजनिक निकायका बोर्डमा कम्तीमा एक जना महिला अनिवार्य रहने व्यवस्था गरेको स्मरण गराउँदै उनले राष्ट्र बैंकको बोर्डमा महिला सदस्य नहुनु र संशोधन विधेयकमा पनि त्यससम्बन्धी व्यवस्था समावेश नगरिनु दुःखद भएको बताए ।
सहकारी क्षेत्रको नियमनबारे बोल्दै सांसद कँडेलले छुट्टै सहकारी प्राधिकरण गठन गर्ने प्रक्रिया अघि बढिसकेको उल्लेख गरे । यस्तो अवस्थामा सहकारी क्षेत्रलाई राष्ट्र बैंकको कार्यक्षेत्रभित्र राख्नु उपयुक्त नहुने उनको भनाइ थियो ।
उनले विगतमा सहकारी नियमनको जिम्मेवारीबारे छलफल हुँदा राष्ट्र बैंकले आफ्नो क्षमता पर्याप्त नभएको भन्दै जिम्मेवारी लिन नचाहेको स्मरण गराउँदै अहिले छुट्टै प्राधिकरण गठनको तयारी भइरहेका बेला पुनः सोही जिम्मेवारी राष्ट्र बैंकलाई दिने व्यवस्था उपयुक्त नहुने बताए ।








