प्रदेश सरकार गठनमा अपवित्र साँठगाँठ नगर्न झलनाथ खनालको चेतावनी

काठमाडौं । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले कुर्सी मोह र व्यक्तिगत स्वार्थका लागि दक्षिणपन्थी शक्तिसँग ‘अपवित्र साँठगाँठ’ नगर्न पार्टी पंक्तिलाई चेतावनी दिएका छन् । उनले अहिलेको जटिल राजनीतिक परिस्थितिमा सम्पूर्ण वामपन्थी शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन् ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेता खनालले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको दाबी गरे । नयाँ सरकार गठनसँगै मुलुकका समस्या समाधान हुने जनआशा निराशामा परिणत भएको उनको भनाइ छ ।

उनले वर्तमान सरकारकै पालामा राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनजीविका, जनताको सूचनाको हक, छिमेकी मुलुकसँगको सम्बन्ध तथा राज्यका अंगहरूबीचको सम्बन्ध समेत खलबलिन थालेको आरोप लगाए ।

‘यो देशका श्रमजीवी जनता खोलामा हामफाल्न र आत्महत्या गर्न बाध्य हुन थालेका छन्,’ खनालले विज्ञप्तिमा भनेका छन् । ‘यस्तो जटिल परिस्थितिमा बढ्दो विदेशी हस्तक्षेप र घरेलु अस्तव्यस्तताविरुद्ध आम जनता, तमाम देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरू एकताबद्ध भएको देख्न चाहन्छन् ।’

विगतमा नीतिहीन, वर्ग दृष्टिकोणविहीन र गुटगत स्वार्थका आधारमा दक्षिणपन्थी शक्तिसँग सहकार्य गर्दा कम्युनिस्ट आन्दोलनले क्षति बेहोरेको उल्लेख गर्दै उनले फेरि त्यही गल्ती दोहोरिने खतरा रहेको बताए ।

विशेषगरी प्रदेश सरकार गठनका लागि भइरहेका राजनीतिक कसरतप्रति संकेत गर्दै उनले कुनै पनि नयाँ राजनीतिक समीकरणअघि पार्टीको केन्द्रीय संयोजन समितिको बैठक बोलाउन नेतृत्वसँग माग गरेका छन् ।

‘कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुभन्दा अगाडि कम्तीमा केन्द्रीय संयोजन समितिको बैठक बोलाइयोस् । आजको आवश्यकताका बारेमा कमिटीमा विस्तृत रूपले छलफल गरियोस्,’ उनले भनेका छन् ।

उनले थप भनेका छन्, ‘क्रान्तिकारी उद्देश्य र वर्ग दृष्टिकोणलाई सर्वोपरि राखेर मात्र प्रदेश सभामा सरकार बनाउने सम्बन्धमा नीति निर्णय गरियोस् र पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदलतिर जानबाट संस्थागत रूपमा बचाइयोस् ।’

केही नेताको व्यक्तिगत स्वार्थ र कुर्सी मोहका कारण सम्झौतावादी प्रवृत्ति बढ्न सक्ने भन्दै खनालले अहिले पदका लागि साँठगाँठ गर्ने समय नभई सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्ने बेला भएको बताएका छन् ।

उनले वामपन्थी शक्तिहरूलाई आग्रह, पूर्वाग्रह, दम्भ र घमण्ड त्यागेर वैचारिक आधारमा एकताबद्ध हुन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =