रुचि र विज्ञताका आधारमा सांसदलाई जिम्मेवारी दिनुपर्छ: महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संसदीय दलका सदस्यहरूलाई उनीहरूको रुचि, ज्ञान र विज्ञताका आधारमा जिम्मेवारी दिनुपर्ने बताएका छन् ।
आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले सबै सांसदको सबै विषयमा समान रुचि र दक्षता नहुने भएकाले विषयवस्तुमा दख्खल भएका व्यक्तिलाई प्राथमिकता दिँदा मात्र सदनमा पार्टीको उपस्थिति प्रभावकारी हुने बताए ।
महासचिव पोखरेलले विषयवस्तुको पर्याप्त ज्ञान नभएका सदस्यलाई जबरजस्ती बोल्न लगाउँदा अपेक्षित प्रभाव नपर्ने तर्क गरे । उनले ठूलो पदमा भएकै आधारमा बोल्ने अवसर दिने परिपाटीले कतिपय अवस्थामा विषयवस्तु नै ओझेलमा पर्न सक्ने बताए ।
‘संसदीय दलका सदस्यहरूको सबै विषयमा समान प्रकारको रुचि र दक्षता नहुन सक्छ । आफ्नो रुचि, ज्ञान र दक्षता नभएको विषयमा जबरजस्ती बोल्दा प्रभाव पर्दैन । जसलाई जुन विषयमा रुचि छ, त्यसैका आधारमा जिम्मेवारी दिनुपर्छ,’ उनले भने ।
उनले नेतृत्व तहमा पनि विषयवस्तुको गहिरो ज्ञान भएका व्यक्तिलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे । ‘ठूलो पदमा भएकै आधारमा नेतृत्व गर्ने नाममा विषयवस्तु प्रभावकारी रूपमा प्रस्तुत नहुने समस्या हुन सक्छ । त्यसैले ज्ञान र दक्षतालाई आधार बनाएर विषय प्रस्तुत गर्न दिनुपर्छ,’ उनले भने ।
पोखरेलले सूचना र प्रविधिको वर्तमान युगमा प्रस्तुतिकरण शैलीले विशेष महत्व राख्ने उल्लेख गर्दै आफूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने क्षमता विकास गर्नुपर्ने बताए ।
उनले नागरिकको जीवनस्तर र बढ्दो आकांक्षाअनुसार मुलुकको आर्थिक वृद्धि हुन नसक्दा पार्टी र जनताबीच केही दूरी कायम भएको पनि बताए ।








