विदेश जाने युवाको संख्या पोहोरभन्दा बढी, तर अहिले कोही बोलेनन्: ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले विदेश जाने युवाको संख्या अघिल्लो वर्षको तुलनामा बढेको भए पनि त्यसबारे कसैले आवाज नउठाएको टिप्पणी गरेका छन् ।

आइतबार एमाले सांसदहरूका लागि आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले अघिल्लो वर्ष वैदेशिक रोजगारीमा जाने युवाको विषयलाई लिएर व्यापक बहस भएको स्मरण गर्दै अहिले भने संख्या बढ्दा पनि मौनता देखिएको बताए ।

‘विदेश मान्छे पठाइए, विदेश गए भनेर उधुम हल्ला थियो। पोहोर साल यतिबेला खपिनसक्नु हल्ला थियो,’ उनले भने, ‘पोहोर साल यतिबेला भन्दा अहिले यतिबेला संख्या बढी गएको छ बाहिर। चुपचाप छ ।’

ओलीले अहिले विदेश जाने युवालाई ‘अधिकार’को रूपमा व्याख्या गर्न थालिएको पनि टिप्पणी गरे ।

‘पोहोर स्वाभाविक थिएन, अहिले स्वाभाविक। कुरो र कुलो जता पनि जान्छ भनेजस्तै उनीहरूले कुरा बङ्ग्याउँछन् । जनताको हितविपरीत आफ्नो संकीर्ण हितका लागि प्रयोग गर्छन्,’ उनले भने ।

उनले यस्ता बङ्ग्याइएका विषयलाई सच्याएर सही सूचना जनतासमक्ष पुर्‍याउने प्रमुख माध्यम संसद् भएको बताए ।

कानुन निर्माणका लागि आवश्यक बहुमत आफूसँग नभए पनि जनताको हितका विषय उठाउने उपयुक्त मञ्च संसद् नै रहेको उनको भनाइ थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + twenty =