सुनझोडा खोलामा आफैले शिलान्यास गरेको पक्की पुलको सुनील शर्माले गरे उद्घाटन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद सुनील शर्माले मोरङको सुनझोडा खोलामाथि निर्माण सम्पन्न मोटरेबल पक्की पुलको उद्घाटन गरेका छन् ।
पथरीशनिश्चरे नगरपालिका–२ र उर्लाबारी नगरपालिका–३ जोड्ने करिब ३० मिटर लामो पुल निर्माण सम्पन्न भएपछि दशकौँदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीयवासीलाई राहत पुगेको छ ।
वर्षायाममा खोला तरेर विद्यालय जानुपर्ने विद्यार्थी, उपचारका लागि अस्पताल पुग्नुपर्ने बिरामी तथा दैनिक आवतजावत गर्ने सर्वसाधारणका लागि पुलले सहजता ल्याएको स्थानीयले बताएका छन् ।
स्थानीयवासीका अनुसार पुल नहुँदा वर्षाको समयमा खोला पार गर्नु निकै जोखिमपूर्ण हुने गरेको थियो । पुल निर्माणपछि स्वास्थ्य, शिक्षा, बजार तथा दैनिक जीवनयापनका काममा सहज पहुँच पुगेको उनीहरूको भनाइ छ ।
पुल निर्माणका लागि डा. शर्माको पहलमा संघीय सरकारको सहरी विकास मन्त्रालयबाट ८ करोड ६४ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । निर्माणको ठेक्का विराटनगरस्थित कार्की बन्धु कन्स्ट्रक्सन प्रालिसँग ५ करोड ६८ लाख ९४ हजार रुपैयाँमा सम्झौता गरिएको थियो ।
डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु भएको आयोजना समयमै सम्पन्न भएको जनाइएको छ ।
विशेषगरी २०८२ साल जेठ १७ गते शनिबार डा. शर्माले यही पुलको शिलान्यास गरेका थिए । शिलान्यासका क्रममा स्थानीयसँग गरेको प्रतिबद्धता पूरा गर्दै उनले निर्माण सम्पन्न पुलको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा स्थानीयको उत्साहपूर्ण सहभागिता रहेको थियो । फूलमाला र बाजागाजासहित स्थानीयले शर्माको स्वागत गरेका थिए ।
पुल उद्घाटनपछि कांग्रेस नेता शर्माले आफ्नो बाल्यकाल स्मरण गर्दै खाली खुट्टा सुनझोडा खोला तरेर हिँड्नुपरेका दिन सम्झिए । उनले विकासको वास्तविक अर्थ नागरिकको दैनिक जीवन सहज बनाउनु भएको बताए ।
निर्वाचनमा पराजित भएपछि पनि शर्मा जनतामाझ सक्रिय रहँदै आएका छन् । उनले स्वास्थ्य उपचारबाट वञ्चित नागरिकका लागि निःशुल्क उपचारको व्यवस्था मिलाउने, आकस्मिक स्वास्थ्य सहयोग उपलब्ध गराउने तथा खानेपानी समस्या भएका क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
सुनझोडा खोलामाथिको पुललाई स्थानीयले विकाससँगै जनतासँग गरिएको प्रतिबद्धता पूरा भएको उदाहरणका रूपमा लिएका छन् ।








