गुणस्तरीय पूर्वाधार निर्माणमा इन्जिनियरको भूमिका महत्वपूर्ण: मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मुलुकको समृद्धिका लागि गुणस्तरीय र दिगो पूर्वाधार निर्माणमा इन्जिनियरहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

आइतबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले सडक, पुल, जलविद्युत, प्रसारण लाइन, सिँचाइ तथा सूचना प्रविधिलगायतका क्षेत्रमा आधुनिक पूर्वाधार निर्माण गर्ने मुख्य जिम्मेवारी प्राविधिक जनशक्तिको काँधमा रहेको बताए ।

उनले सरकारले गुणस्तरीय, सुरक्षित र वातावरणमैत्री पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे ।

मन्त्री श्रेष्ठका अनुसार जलविद्युत उत्पादन विस्तार, राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण सञ्जालको सुदृढीकरण, सिँचाइ प्रणालीको आधुनिकीकरण र डिजिटल पूर्वाधार विकास सरकारको रणनीतिक योजनाका हिस्सा हुन् ।

उनले अब परियोजनाको सफलता केवल बजेट खर्चको आधारमा नभई समयमै सम्पन्न भएको, लागत अनुशासन कायम गरिएको र नागरिकले प्रत्यक्ष लाभ पाएको आधारमा मूल्यांकन गरिने बताए ।

‘सडक, पुल, जलविद्युत, प्रसारण लाइन, सिँचाइ, खानेपानी, भवन र सूचना प्रविधिलगायत आधुनिक पूर्वाधार विकाससँगै देशको समृद्धिको आधार निर्माण गर्ने जिम्मेवारी इन्जिनियरहरूको काँधमा छ,’ उनले भने ।

मन्त्री श्रेष्ठले पूर्वाधार विकासको नयाँ चरणमा प्रवेश गरिरहेको उल्लेख गर्दै इन्जिनियरहरूबाट उच्च व्यावसायिक दक्षता, नैतिकता र नवप्रवर्तनशील सोचको अपेक्षा गरिएको बताए ।

उनले ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै जलविद्युत उत्पादन वृद्धि, प्रसारण पूर्वाधार विस्तार, क्षेत्रीय विद्युत व्यापार र नवीकरणीय ऊर्जा प्रवर्द्धनमा दक्ष इन्जिनियरहरूको योगदान निर्णायक हुने बताए ।

‘पूर्वाधार केवल कङ्क्रिट, फलाम र सिमेन्टका संरचना मात्र होइनन् । यी आर्थिक विकास, सामाजिक न्याय, उत्पादन वृद्धि, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधार गर्ने महत्वपूर्ण माध्यम हुन्,’ उनले भने ।

मन्त्री श्रेष्ठले पूर्वाधार विकासलाई भौतिक संरचनाको निर्माण मात्र नभई सामाजिक न्याय र आर्थिक समृद्धिको आधारका रूपमा बुझ्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + nineteen =