२०७४ सालमा पार्टीबाटै अपहेलित हुनुपर्‍याे, यसपटक धनकुटा छाड्दैनाैँ : हेमराज भण्डारी (अन्तर्वार्ता)

‘ठूला नेताहरूमा हामीले जे गर्दा पनि हुन्छ भन्ने भ्रम छ’

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता हेमराज भण्डारीले यसपटक धनकुटाबाट संघमा माओवादी केन्द्रले नै प्रतिनिधित्व गर्ने दाेहाेर्‍याएका छन् । ‘हामीले एकपटक कांग्रेसलाई जितायौँ, एकपटक एमालेलाई जितायौँ । अब यसपटक त्यहाँबाट जनताको प्रतिनिधित्व माओवादी केन्द्रले नै गर्छ,’ नेता भण्डारीले ‘मकालु टक्स’मा भनेका छन् ।

विगतमा धनकुटाकाे माओवादी केन्द्र पार्टीबाटै अपहेलित हुनुपरेकाे सुनाउँछन् नेता भण्डारी । त्यही भएर पनि यसपटक त्यसको क्षतिपूर्तिस्वरूप धनकुटाबाट प्रतिनिधि सभामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रले प्रतिनिधित्व गर्न पाउनुपर्ने माग छ उनकाे । उनी भन्छन्, ‘यसपटक माओवादी केन्द्रले त्यहाँबाट प्रतिनिधित्व गर्न पाउनुपर्छ । नभए हामी विकल्प खोज्छौँ ।’ यस सन्दर्भमा यसपटक आफूहरू ‘ईफ-बट’ मा नअल्झिने भनाइ छ नेता भण्डारीको, भन्छन्— ‘यो मेरो मात्रै कुरा होइन, सिङ्गो धनकुटेली जनताको माग हाे । हामी त्यसैलाई संस्थागत गरेर जान्छौँ । अब हामी धेरै अपमानित हुन सक्दैनौँ ।’

उनको चेतावनी छ— ‘यसपटक हामीलाई प्रतिनिधित्व गर्न दिइएन भने हामी आफैँ नै अगाडि जान पनि तयार छौँ ।’ प्रतिनिधित्व गर्न नदिइएकाे खण्डमा आफूहरूले आफ्नै चुनाव चिह्नमार्फत् आफूहरूको साथमा रहेका जनताको रक्षा गर्ने भनाइ नेता भण्डारीको छ, थप्छन्— ‘धनकुटाबाट यसपटक माओवादी केन्द्रले प्रतिनिधित्व गर्छ, याे ज्ञात रहनुपर्छ आमनेता र कार्यकर्ताहरूमा । त्यसमा गठबन्धनले पुनःविचार गर्नुपर्छ ।’

‘ठूला नेताहरूमा हामीले जे गर्दा पनि हुन्छ भन्ने भ्रम छ’

वैचारिक नेताको छवि बनाएका नेता भण्डारी विश्लेषण-क्षमतासमेत राख्छन् । उनी भन्छन्— ‘हाम्रा ठूला नेताहरूमा हामीले जे गर्दा पनि भइहाल्छ भन्ने भ्रम छ ।’ हुन पनि पछिल्लो राजनीतिक ‘सिनारियो’ त्योभन्दा खासरूपमा फरक देखिँदैन । नेपाली राजनीतिमा पछिल्लो समय आफूखुसी विभिन्न निर्णय गर्ने र त्यसलाई जनताले अनुमोदन गर्नैपर्छ भनेर धाक लगाउने परम्परा देखिएको छ । यसलाई नजिकबाट नियालेका नेता भण्डारी भन्छन्, ‘यो भनेको नेताहरूको भ्रम हो । यहाँबाट उहाँहरू निस्कनुपर्छ ।’

अहिले गठबन्धबाट नकारात्मक सन्देश जनतामा गइरहेको विश्लेषण छ नेता भण्डारीको । ‘विचार/बहसहरू सकिँदै गएका छन् । जनतामा जाँदा त मुद्दा लिएर जानुपर्ने हो, त्यो मुद्दा छैन । हामीले गम्भीरपूर्वक समीक्षा गर्नुपर्छ । यदि बाँडीचुँडी खानका लागि मात्रै हो भने गठबन्धन गर्नु पाप हो,’ नेता भण्डारी भन्छन् ।

नेताहरूलाई आसन्न चुनावपछि बन्ने सरकारमा पनि प्रमुख राष्ट्रिय पदहरूमा क-कसलाई ल्याउने भन्नेबारे अहिल्यै टुङ्ग्याएर लानुपर्छ भन्ने लागेको उनले बताए । यसले झनै समस्या थपिरहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘हामीले जे-जे गर्छौँ, त्यसैलाई जनताले अनुमोदन गर्छन् भन्ने लाग्छ नेताहरूलाई । यो निकै ठूलो भ्रम हो । जनता अब बुझ्ने भइसकेका छन् । यससी छक्याउन पाइँदैन ।’

‘अहिलेको राजनीतिक दायित्व पुराना नेताहरूले पूरा गर्न सक्दैनन्’

नेता भण्डारी पुराना पुस्ताबाट अब धेरै आशा गर्न नसकिने जिकिर गर्छन्, भन्छन्— ‘एउटै व्यक्तिले हरेक समयका राजनीतिक दायित्व पूरा गर्न सक्दैनन् ।’ अघिल्लो पुस्ताले राजनीतिक परिवर्तनमा महत्त्वपूर्ण योगदान गरेको र त्यसलाई सम्मान गर्दै अब पछिल्लो पुस्ताले राजनीतिक दायित्व बहन गर्नुपर्ने टड्कारो आवश्यकता रहेको उनी बताउँछन् । ‘एउटै नेताले फरक-फरक राजनीतिक तथा सार्वजनिक दायित्व पूरा गरेर लगेको इतिहास कमै मात्रै छ । अबको दायित्व पुराना नेताहरूबाट सम्भव छैन । अब नेतृत्व फेरिनुपर्छ,’ उनले भनेका छन् ।

तर, पछिल्लो पुस्ता आफैँमा ‘सकारात्मक हस्तक्षेपकारी’ नभएको विश्लेषण छ भण्डारीको छ । ‘हामी लाछी पुस्ता भयौँ । देशलाई यस्तो बनाउँछौँ भन्न नसक्ने, यहाँ पुर्‍याउँछौँ भन्न नसक्ने भयौँ । हामीले नेपाललाई नेपालजस्तै बनाउँछौँ भनेर अगाडि बढ्न नसक्ने भयौँ । अब युवाहरूले पनि आफूलाई परिवर्तन गर्नुपर्‍यो,’ नेता भण्डारीले भनेका छन्, ‘अब पुस्ताले हिम्मत गर्नुपर्छ । सकारात्मक नेतृत्वको विकल्प दिनुपर्छ । कार्यक्रमसहित, प्रतिबद्धतासहित अगाडि जानुपर्छ । व्यक्तिले मात्रै हुँदैन, सामूहिक संघर्षमा जानुपर्छ ।’

‘आफ्नो धरातल छाडेपछि माओवादी बिग्रियो’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोहोर्‍याउँदै आएका छन् कि— माओवादी माओवादीजस्तो रहेन । हुन त स्वाभाविकरूपमा यो देखिँदै पनि आएको छ । २०६४ सालमा मुलुकको पहिलो शक्ति बनेको माओवादी केन्द्र अहिले तेस्रो शक्तिमा सीमित छ । किन यस्तो भयो (?) भनेर राखिएको जिज्ञासामा नेता भण्डारीको सटिक जवाफ छ, भन्छन्— ‘माओवादीले आफ्नो वर्ग धरातल छोड्यो ।’

सँगै उनी थप्छन्, ‘माओवादी उत्पीडितहरूले बनाएका थिए, पसिना बगाएर खाने किसानहरूले बताएका थिए, वर्षभरी काम गरेर पनि खान नपुगेकाहरूले बनाएका थिए, आफ्नो छोराछोरीहरूलाई राम्रो शिक्षा-दीक्षा दिन नसक्नेहरूले बताएका थिए, छुट्टै जात भएकै कारण अपहेलित हुनुपरेकाले बनाएका थिए । तर, जब माओवादी सत्तामा पुग्यो, उनीहरूको रक्षार्थ केही गर्न सकेन । त्यसपछि माओवादी हरायो/बिग्रियाे ।’ अब पनि माओवादीले आफूलाई सुधारेन भने माओवादीको योभन्दा अझ डरलाग्दो स्थिति आउने भनाइ उनको छ ।

माओवादी शक्तिमा गइसकेपछि माथि उल्लिखित सबैका लागि केही नगरेको र उनीहरूमा निराशा छाउन थालेको भनाइ नेता भण्डारीको छ । ‘यी सबैको सांकेतिक एकताको प्रतीक थियो माओवादी । सरकारमा आएपछि त्यो वर्गलाई उसले प्राथमिकता दिन सकेन । माओवादीमाथि भर परेको जनता निराश भयो । त्यसैबाट माओवादीको क्षयीकरण भयो ।’ त्यस्तै युवा पुस्ता; अझ त्यसमा पनि जनसेनाहरूको व्यवस्थापन गर्न नसकेका कारण पनि माओवादीप्रतिको जनताको विश्वास घटेको विश्लेषण नेता भण्डारीको छ । ‘त्यो सेना समायोजनाको प्रश्न मात्रै होइन, अरु धेरै ठाउँ माओवादी चुक्यो,’ उनले भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *