दृष्टिविहीन आन्दोलन

योग्यता छ, अवसर पाए देख्ने सरह काम गर्छाैँ: दृष्टिविहीन तामाङ (भिडिओ)

संविधानको मौलिक हकमा अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको मूल प्रवाहीकरणमा ल्याइनेछ भनिएको छ तर त्यो अनुसार भएको छैन ।

काठमाडौँ । सर्लाहीको हरिवन नगरपालिका–१ का दृष्टिविहीन कृष्ण तामाङले स्नातक (ब्याचलर) उत्तीर्ण गरेका छन् । तर, उनको शैक्षिक प्रमाणपत्र अहिले पनि सिरानीमुनि थन्किएको छ । पढाइ पूरा गरे पनि योग्यताअनुसारको रोजगारी नपाएपछि उनी कहिले सडकमा गीत गाएर त कहिले धूप बेचेर जीवन गुजार्न बाध्य छन् ।

तर, पछिल्ला दिनहरूमा त्यो जीविकोपार्जनको बाटो पनि सहज छैन । सडकमा गीत गाउने वा धूप बेच्ने क्रममा उनले प्रहरीको धरपकड, लाठीचार्ज र लखेटाइसमेत भोग्नुपरेको छ ।

यो पीडा कृष्ण तामाङको मात्र होइन । उनीजस्तै दर्जनौँ दृष्टिविहीन नागरिकको हो ।

नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक, सम्मानजनक जीवन र रोजगारीको माग गर्दै हाल काठमाडौँको माइतीघर मण्डलामा विगत आठ दिनदेखि दृष्टिविहिनहरू आन्दोलनमा उत्रिएका छन् ।

दृष्टिविहीन कृष्ण तामाङ राज्यले आफूहरूको रोजगारीका लागि पर्याप्त कोटा नछुट्याएप्रति गुनासो गर्छन् । उनी आफू दृष्टिविहीन भएपनि आँखा देख्ने सरह नै योग्यता र दक्षता रहेको भन्दै राज्यले अवसर दिएको खण्डमा उस्तै काम गर्न सक्ने बताउँछन् ।

प्रस्तुत छ, उनै कृष्ण तामाङसँग मकालुखबरकर्मी तेन्जिङ डोल्मा तामाङले गरेको कुराकानीको सम्पादित अंश:

स्वागत छ यहाँलाई मकालुखबरमा, हजुर कहाँदेखि आउनुभयो ? यहाँको परिचय दिनुहुन्छ ?

मेरो नाम चाहिँ कृष्ण तामाङ । मेरो घर चाहिँ सर्लाही जिल्ला, हरिवन नगरपालिका वडा नम्बर १, बसोबास चाहिँ मेरो भक्तपुर । म भक्तपुरमा बस्न थालेको चाहिँ लगभग १० वर्ष जति भयो । म चाहिँ सानोठिमी कलेजमा पढ्थेँ पहिला । अनि मैले चाहिँ ब्याचलर पढेको छु ।

यहाँले ब्याचलर गर्नुभएको रहेछ, किन सडकमा गीत गाउन बस्नुभयो ?

यस्तो हो । राज्यले छुटाउनुपर्ने जुन त्यो पर्याप्त कोटा हामीलाई छैन रोजगारको लागि । अब हाम्रो माग चाहिँ के हो भने पढेलेखेकाहरूलाई चाहिँ त्यो अनुसारको अब हामीसँग पनि अब योग्यता छ, दक्षता छ । हाम्रो अब त्यो ब्याचलर पढेका, डिग्री गरेका सर्टिफिकेटहरू हामीले सिरानी मुनि राखेका छौँ, हामीलाई पनि चान्स दियोस् राज्यले, अवसर दियोस् । अवसर दिएको खण्डमा चाहिँ हामी अब हजुरहरू जस्तै देख्ने सरह हामी पनि गर्न सक्छौँ भन्ने चाहिँ हाम्रो चाहिँ मूल उद्देश्य हो ।

यहाँलाई कुन फिल्डमा अवसर दियो भने चाहिँ म गर्छु भन्ने लागेको छ ?

एजुकेसन फिल्ड, शिक्षणमा । अब हामी चाहिँ टिचिङ गर्न सक्छौँ । यावत, अब हामी त कम्प्युटर पनि चलाउन सक्छौँ हामी । हामीले त कम्प्युटर पनि सिक्या छौँ । अब हामीलाई जे होस् राज्यले चाहिँ अब प्रत्येक जस्तो हुन्छ नि अब कलकारखाना, उद्योग, प्रतिष्ठानहरूमा, हस्पिटलहरूमा हैन, हामीलाई सुहाउँदो, हामीले गर्न सक्ने कामहरू चाहिँ दियो भनेदेखि राम्रो हुन्थ्यो कि जस्तो लाग्छ ।

यसअघि यहाँले के गर्दै आउनुभएको थियो ?

मैले त धुप बेच्थेँ । अब धुप पनि हिजोआज बिक्न छोड्यो, अझ धुप बेच्दा पुलिसहरूले पनि लखेट्छन् । राज्यले हामीमाथि एकदम बर्बर दमन गरेको छ । राज्यको बर्बर दमनको विरुद्ध नै हामीले यो आन्दोलन छेडेका हौँ ।

अनि अर्को भनेको हाम्रा मागहरू छन् । जस्तै, अब पढेलेखेकाहरूलाई उस्तै रोजगारी दिनुपर्यो सरकारले । अनि नपढेकाहरूलाई चाहिँ उहाँहरूलाई अब कसरी हुन्छ, स्वरोजगारमूलक तालिम दिएर हुन्छ कि, लगानी गरेर हुन्छ कि, त्यो अनुसारको व्यवस्थापन गर्नुपर्यो ।

यो त संविधानकै मौलिक हकमा छ नि ! संविधानको मौलिक हकमा के भन्या छ भने- अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको मूल प्रवाहीकरणमा ल्याइनेछ भनिएको छ, हैन र ? तर त्यो अनुसार भएको छैन । किनभने रोजगार, स्वास्थ्य, शिक्षा, यो त प्रमुख मुद्दा हो नि । यो त संविधानले नै हामीलाई दिएको अधिकार हो । तर, त्यो अनुसार अहिले सरकार चलेको छैन ।

अनि परिवारमा चाहिँ कति जना हुनुहुन्छ ?

मेरो फ्यामिलीमा त हामी चार जना छौँ । मेरो श्रीमती, एउटा छोरा, एउटा छोरी ।

अनि यहाँले नै परिवार पाल्नुहुन्छ कि श्रीमतिले ?

म नै पाल्छु । उहाँ पनि म जस्तै दृष्टिविहीन हुनुहुन्छ । उहाँले पनि ब्याचलर गर्नुभएको  छ । अब मेरो छोराछोरी त सानासाना छन् । एक-डेढ वर्षको छोरी छ, पाँच-छ वर्षको छोरा छ, पढ्दैछ छोरा ।

भनेपछि यहाँहरूलाई सरकारले बाँच्नै नदिने परिस्थिति बनाएको भन्ने गुनासो तपाईंहरूको ?

हो, त्यही हो।

यहाँले चाहिँ सरकारसँग कस्तो आस गर्नुभएको थियो ?

हामीले त अब यस्तो हो । पहिलाको सरकारले हामीलाई केही पनि गरेन है । पहिलाको सरकारलाई हामीले यत्रो झक्झकायौँ, उहाँहरूले हाम्रो कुरा सुन्नुभएन । सुन्नुभएन भन्दा पनि जे होस् भत्ता त बढाएको थियो पहिलाको सरकारले । अहिलेको सरकारले त भत्ता पनि बढाएन ।

जो कि यो सरकारसँग हामीले यति विश्वास गरेका थियौँ कि अब युवाको सरकार छ । अहिले त अब दुई तिहाइ लगभग बहुमतको सरकार छ, रास्वपाको सरकार छ । यो सरकारले चाहिँ हामीलाई केही न केही गर्छ कि भन्ने ठूलो आश थियो हामीलाई । हामीले त अब रवि लामिछाने दाई जुन त्यो नख्खु कारागारमा हुँदा पनि हामी भेट्न गयौँ ।

उहाँहरूको लागि हामीले उहाँहरू सरकारमा आउनुभन्दा पहिला कति खट्यौँ । हामीले उहाँहरूलाई भोट पनि दिएका हौँ । तर, उहाँहरूले हामीलाई एउटा भोट बैंकको रूपमा मात्र प्रयोग गर्नुभयो । भोट बैंकको रूपमा प्रयोग गर्ने तर अधिकार दिने सवालमा चाहिँ कन्जुस्याइँ गर्ने, त्यही गरेको हुनाले हामी यहाँ आएका हौँ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

अब अन्त्यमा के भन्न चाहन्छु भने, सरकार भनेको सबैको अभिभावक हो । सरकारले सबै जनतालाई समानुपातिक हिसाबले व्यवहार गर्नुपर्यो । हामी पनि राज्यको नागरिक हौँ, हामी कुनै दोस्रो दर्जाको नागरिक होइनौँ । त्यही हो, सरकारले सबैलाई चाहिँ अब सम्मान व्यवहार गर्नुपरयो ।

हामी दृष्टिविहीन भएका, अपाङ्गता भएका व्यक्तिहरूलाई पनि राज्यले चाहिँ उचित हिसाबमा, अघि मैले भने नि पढेलेखेकाहरूलाई त्यो अनुसारको रोजगार दिनुपर्यो । नपढेकाहरूलाई उहाँहरूलाई त्यो अनुसारको तालिम दिएर हुन्छ कि कसरी हुन्छ, लगानी गर्नुपर्यो । यत्ति हो मेरो भन्नु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − one =