राष्ट्र बैंक र निजी बैंकबीचको आवतजावतले स्वार्थको द्वन्द्व बढाएको छ: सांसद तामाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले नेपाल राष्ट्र बैंकका उच्च अधिकारी सेवा निवृत्त भएपछि निजी बैंकमा जाने र निजी बैंकबाट पुनः राष्ट्र बैंकको नेतृत्व तहमा आउने प्रवृत्तिले स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) को प्रश्न उठाएको बताएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमाथिको छलफलका क्रममा उनले ऐन संशोधनका क्रममा यस्ता विषयलाई स्पष्ट रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
सांसद तामाङले राष्ट्र बैंकका कर्मचारीकै संलग्नतामा बैंक स्थापना भएको भन्ने चर्चा बजारमा समेत हुने गरेको उल्लेख गर्दै यस्ता विषयको समाधान कानुनी रूपमै खोज्नुपर्ने बताए ।
‘राष्ट्र बैंकका विशेष श्रेणीका अधिकृतहरू अवकाशपछि निजी बैंकमा जाने, फेरि निजी बैंकबाट राष्ट्र बैंकको नेतृत्व तहमा आउन खोज्ने प्रवृत्ति देखिएको छ । यसले कतै स्वार्थको द्वन्द्व त सिर्जना गरेको छैन भन्ने प्रश्न उठेको छ,’ उनले भने ।
उनले आफूले कुनै आरोप नलगाएको स्पष्ट पार्दै ऐन संशोधनका क्रममा स्वार्थको द्वन्द्व हुन सक्ने अवस्था पहिचान गरी त्यसको समाधान गर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे ।
सांसद तामाङले राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मौद्रिक नीति पनि अपेक्षाअनुसार आउन नसकेको टिप्पणी गरे । उनले मौद्रिक नीति निर्माण प्रक्रियालाई थप स्वायत्त बनाउनुपर्ने आवश्यकता औँल्याउँदै राष्ट्र बैंकको संस्थागत स्वायत्ततासँगै मौद्रिक नीति छुट्टै समितिमार्फत तयार गर्ने व्यवस्था गर्नुपर्ने सुझाव दिए ।








