प्रचण्डले वर्षमानलाई महासचिव बनाउलान् कि मनाउलान् ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को ८औं राष्ट्रिय महाधिवेशन पुस ११ देखि १८ गतेसम्म चल्यो । ८ दिन चलेको महाधिवेशनले २३६ जना केन्द्रीय सदस्य छान्यो , तर पदाधिकारी छान्न सकेन । अध्यक्षसहित पदाधिकारी चयन गर्न भनेर पुस १९ गते केन्द्रीय कमिटिको बैठक बस्यो । तर, त्यो बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै निरन्तरता दिनेबाहेकको निर्णय गर्न सकेन ।

भन्नलाई त्यो बैठकले पार्टीको १५ सदस्यीय केन्द्रीय पदाधिकारीको नाम टुङ्ग्याउने भनिएको थियो, तर त्यसो हुन सकेन । बैठकपछि प्रचण्डले पत्रकारहरूको प्रश्नमा भने, ‘वर्षमान पुन र ओनसरी घर्ती चीनमै हुनुहुन्छ, उहाँहरू पनि आउनुहुन्छ । त्यसपछि फेरि बैठक बस्छ । सबैको सहमति र मञ्जुरीमा बैठक बस्दा राम्रै हुन्छ भनेर यसो गरिएको हो ।’

महाधिवेशन चल्दै गर्दा वर्षमान र प्रचण्डबीच फोन संवाद भएको थियो । कुराकानीका क्रममा वर्षमानले पहिलो केन्द्रीय समितिको बैठकमा आफू पनि सहभागी हुने इच्छा व्यक्त गरेका थिए । यद्यपि त्यसबेला उनी अस्पतालबाट डिस्चार्ज भएकै थिएनन् । त्यसको दुई दिनपछि बल्ल उनी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्यसको केही दिन अघि काठमाडौँमा महाधिवेशन चल्दै गर्दा पुन र चीनका उपमन्त्री चेन झाओबीच भेटघाट भएको र उनले नेपालमा कम्युनिष्ट पार्टीको एकता हुनुपर्ने आशय व्यक्त गरेको समाचारसहितको तस्बिर पुनको सचिवालयले सञ्चारमाध्यमलाई उपलब्ध गरायो । जसलाई चीनले माओवादीको महासचिवमा चीनले पुनलाई समर्थन गरेको हो भन्ने रूपमा पनि अर्थ्याइयाे ।

प्रचण्डले नेता पुनकै आग्रहअनुरूप बैठकमा अध्यक्ष चयन गर्नेबाहेक पदाधिकारी चयनको प्रक्रिया नै अगाडि बढाएनन् । वर्षमानलाई माओवादीको नयाँ महासचिवको सशक्त दाबेदारको रूपमा हेरिएको छ । त्यसो त उनले सातौँ राष्ट्रिय महाधिवेशनमै महासचिव बन्न चाहेका थिए । तर, पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनलाई मिलाउँदा उनी महासचिव बन्न सकेनन् ।

यसपटक भने महासचिवमा निकै ठूलो रस्साकस्सी छ । वर्षमानका साथै नेता जनार्दन शर्मा, पम्फा भुसाल, देव गुरुङ र शक्ति बस्नेत महासचिवका आकांक्षी छन् । तर, पहिलो बैठकले पदाधिकारी नटुङ्ग्याइ साता दिनसम्म स्थगित गर्नुले पुनलाई नै महासचिव बनाउन खोजिएको हुनसक्ने कोणबाट पनि विश्लेषण हुन थालेको छ ।

नेता पुन दम्पती शुक्रबार चीनबाट नेपाल आइपुग्दैछन् । माओवादी केन्द्रको केन्द्रीय कमिटीकाे बैठक त्यसको पर्सिपल्टका लागि बोलाइएको छ । जुन बैठकले वरिष्ठ उपाध्यक्षदेखि सचिवसम्मका पदाधिकारी टुङ्ग्याउने भनिएको छ ।

तर, चर्चा महासचिवकै छ । अध्यक्षपछिको कार्यकारी पद भएकाले पनि यसो हुनु स्वभाविक नै हो । महासचिवको चर्चा भएसँगै महासचिवको दाबेदाबरी प्रस्तुत गरिरहेका नेताहरूको पनि स्वाभाविक रूपमा चर्चा हुने नै भयो । यसमा वर्षमानको बढी चर्चा हुन थालेको छ । १९ गते बसेको पहिलो बैठकले अध्यक्षबाहेकका पदाधिकारी नटुङ्ग्याउँदा भने यो चर्चा र विश्लेषण बढेको हो ।

माओवादीको तत्कालीन स्थायी समितिका एक सदस्यकाअनुसार महासचिवमा वर्षमानको सम्भावना बढेर गएको छ । ‘अब अहिलेको परिदृश्य हेर्दा त अनन्त कमरेडकै बढी सम्भावना छ जस्तो लाग्छ,’ ती नेताले भने, ‘पूरै पदाधिकारी टुङ्ग्याउन उहाँलाई नै पर्खेको भएर पनि यो सम्भावना बढेको अनुमान लगाउन गाह्रो छैन । तर, फेरि यस नै हुन्छ भन्न पनि सकिन्न ।’ प्रचण्डनिकट ती नेता थप्छन्, ‘नेतृत्वको तहमा यसबारे केही छलफल भएको पनि थाहा छ ।’

महासचिवमा जनार्दन र पम्फाले पनि आफ्नो उम्मेदवारी सशक्त रूपमा पेश गरेका छन् । देव र शक्तिको नाम भने पछि आएको हो । जनार्दन र पम्फाले आफूहरू  अध्यक्षमा प्रचण्डलाई मान्ने तर, महासचिवमा आफू नै सबैभन्दा बलियो उम्मेदवार रहेको बताउने गरेका छन् । उनीहरूले एकले अर्कोलाई महासचिवको रूपमा स्वीकारेर बस्ने स्थिति नभएको समेत माओवादी केन्द्रका नेताहरूकाे विश्लेषणा छ । र, यसप्रति प्रचण्ड सचेत छन् ।

यस्तो अवस्थामा प्रचण्डले जनार्दन र पम्फा दुवैलाई उपाध्यक्षमा राखेर वर्षमानलाई महासचिव बनाउन सक्ने अवस्था बन्नसक्ने प्रचण्ड निकट नेताहरू बताउँछन् । त्यस्तो अवस्थामा नेता देव गुरुङ र शक्ति बस्नेतलाई पनि उपाध्यक्षमै व्यवस्थापन हुनसक्ने नेता लीलामणि पोखरेल बताउँछन् । ‘महासचिव भनेको कार्यकारी पद हो, यसमा ठाउँ नपाएका कमरेडहरूको व्यवस्थापन भनेको उपाध्यक्षमै हुने हो । मर्यादाक्रममा जसरी भएपनि अगाडि नै हो । यस्तोमा त्यही हुन्छ । म यत्ति चाहिँ भन्छु देव कमरेड, शक्ति कमरेडलगायतका कमरेडहरूको व्यवस्था उपाध्यक्षमा हुन्न भन्ने के नै छ र ?’

नेता पुनलाई पछिल्ला वर्षहरूमा प्रचण्डका दाहिने हातका रूपमा हेरिन्छ । डा. बाबुराम भट्टराई माओवादीमै हुँदासम्म भट्टराईनिकट रहेका उनी भट्टराईले नयाँ शक्ति पार्टी खोल्दा सँगै गएनन् । त्यसपछि उनी प्रचण्डको नजिक हुन पुगे । नेता शर्मामाथि पार्टीभित्र गुट चलाएको आरोप छ । पम्फा, देव गुरुङलगायत माओवादी विभाजन गरेर मोहन वैद्य किरणसँगै गएका र पछि फेरि माओवादीमै फर्किएकाले उनीहरूलाई कम्तिमा यसपटक प्रचण्डले महासचिव बनाउँदैनन् भन्ने तर्कमा दम छ । बरु प्रचण्डले शक्तिलाई विश्वास गर्दै आएका छन्, जसको परिपुष्टि विगतका क्रमहरूले गर्दै आएका छन् । यसअघि ओली नेतृत्वको सरकार बन्दा जनार्दन, वर्षमान, पम्फालगायतको लुछाचुँडी चल्दा प्रचण्डले शक्तिलाई गृहमन्त्री बनाइदिएका थिए ।

उसो त जनार्दन पार्टीका संगठन विभाग प्रमुख र अहिलेका अर्थमन्त्री पनि छन् । यस्तै पम्फा ऊर्जामन्त्री छिन् । यस्तोमा पार्टी चलाउने जिम्मा वर्षमानलाई जानुपर्ने तर्कले पनि काम गर्ने नेताहरू बताउँछन् । माओवादी केन्द्रीय सदस्य हेमकुमार राई ‘सुरवीर’ भन्छन्, ‘एक जना व्यक्तिलाई एउटै मात्रै जिम्मेवारी भएको खण्डमा कामकाबारही मज्जाले अगाडि बढ्छ भन्ने त सत्य हो । यस्तोमा उहाँ (वर्षमान) कमरेडले नै महासचिव बनाइँदा राम्रो नै हुन्छ भन्ने छ हामीलाई त ।’ माओवादी विधानले महासचिवलाई ठूलो जिम्मेवारी दिएको छ । एक हिसाबले भन्ने हो भने पार्टी बनाउने जिम्मा नै महासचिवको हुन्छ ।

जे होस्— अहिलेको माओवादीभित्रको परिदृश्य हेर्दा महासचिवको सशक्त दाबेदार नेता पुन देखिन्छन् । बैठक साता दिन स्थगित गरेर उनैलाई कुरेर प्रचण्डले त्यसमा थप बल पुर्‍याएका छन् । यस्तो अवस्थामा प्रचण्डले कि त वर्षमान पुनकै नाम महासचिवमा प्रस्तुत गर्नेछन् वा उनलाई कुनै न कुनै रूपमा मनाएर अरु नेतालाई महासचिव बनाउनेछन् । त्यसका लागि पुस २५ सम्म कुनैपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *