माओवादी केन्द्रको आज पदाधिकारीको टुङ्गो लाग्ने

नवगठित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

काठमाडौँ । पार्टी पदाधिकारी चयन गर्न माओवादी केन्द्रको आज नवगठित केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक सोमबार अपराह्न ३ बजे सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने तय भएको हो ।

पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्नेछ । निवर्तमान अध्यक्ष तथा नवगठित केन्द्रीय सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सो बैठकले पार्टीको अध्यक्ष र पदाधिकारीहरू चयन गर्ने जानकारी दिएका छन् । प्रचण्डले आइतबार महाधिवेशन आयोजक समितिको तर्फबाट २९९ सदस्यीय केन्द्रीय सदस्यमा ६३ जना रिक्त राखेर २३६ जनाको नाम बन्द सत्र समक्ष प्रस्तुत गरेका थिए । खुल्लाबाट १११ जना र समावेशीबाट १२५ जना केन्द्रीय सदस्यहरूको नाम महाधिवेशनको बन्द सत्रले सर्वसम्मत रूपले पारित थियो ।

बाँकी ६३ जना केन्द्रीय सदस्य र पदाधिकारीबारे निर्णय भने पनि आज नव निर्वाचित केन्द्रीय कमिटीको बैठक बसेर टुङ्ग्याइने बताइएको छ । महाधिवेशनले लेखा आयोग प्रमुखमा पेशल खतिवडा, अनुशासन आयोग प्रमुखमा टंक राई र निर्वाचन आयोग प्रमुखमा विष्णुपुकार श्रेष्ठलाई निर्वाचित गरेको छ । आन्तरिक लोकतन्त्रलाई अवरोध गर्दै अध्यक्षले घोषणा गरेको अपुरो केन्द्रीय समितिलाई अनुमोदन गरेर महाधिवेशनको कर्मकाण्ड सकेको भन्दै आलोचना भएको छ । माओवादी केन्द्रको आज बस्ने केन्द्रीय समिति बैठकले १५ पदाधिकारी र थप केन्द्रीय सदस्यको मनोनयन गर्नेछ ।

३१ वर्षदेखि पार्टीको नेतृत्व गर्दै आएका प्रचण्ड फेरि अध्यक्षमा चयन हुने निश्चित छ । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षमा समस्या नभए पनि महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको दाबी छ । पम्फा भुसाल र शक्तिबहादुर बस्नेतको पनि महासचिवमा दाबी छ । पदाधिकारीमा करिब करिब सहमति भइसकेको प्रचण्डले हिजै बताइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *