चीनबाट वर्षमानको सन्देश- ‘महासचिवमा मेरो दाबी कायमै छ’

काठमाडौँ । काठमाडौँमा पार्टीको ८औं राष्ट्रिय महाधिवेशन चल्दैगर्दा चीनमा रहेका माओवादी केन्द्रका नेता वर्षमान पुनले चिनियाँ नेताहरूलाई भेटे । काठमाडाैँकाे बन्दसत्रमा नेतृत्वका लागि रस्साकस्सी चलिरहेको बेला महासचिवका दाबेदारका रूपमा हेरिएका वर्षमानले चिनियाँ उपमन्त्री चेन झाओलगायतका नेताहरूलाई भेट्नुलाई अर्थपूर्ण रूपमा बुझिएकाे/हेरिएकाे छ ।

माओवादीमा महासचिवको दाबेदारका रूपमा वर्षमानसँगै जनार्दन शर्मा र पम्फा भुसाल छन् । ७औं राष्ट्रिय महाधिवेशनमा नै महासचिवको दाबेदारका रूपमा आफूलाई प्रस्तुत गरेका वर्षमान ८औं महाधिवेशनमा स्वाभाविक रूपमा महासचिवकै दाबेदार हुने/रहेको उनीनिकट एक नेता जिकिर गर्छन् ।

वर्षमानले चीनमा नेताहरूलाई भेटेर आफू राजनीतिक रूपमा सक्रिय नै रहेको, पार्टी जीवनमा अझै जिम्मेवारी लिएर काम गर्न सक्ने, महासचिवमा आफ्नाे दाबेदारी निरन्तर रहेकाेलगायतका सन्देश दिएको ती नेताको भनाइ छ । मकालुखबरसँगको कुराकानीको क्रममा ती नेताले भने, ‘माओवादीभित्र राम्रो र कार्यकर्ताहरूले पत्याउने नेताहरूमा उहाँकाे नाम अगाडि नै आउँछ, उहाँले चीनमा नेताहरूलाई भेटेर राजनीतिक सक्रियतामै छु भनेर सन्देश दिनुभएको हो । महासचिवकाे मेराे दाबेदारी निरन्तर कायमै छ है भन्न खाेज्नुभएकाे हाे ।’

यता उनीनिकटका नेताहरूकाे एक समूहले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई वर्षमानलाई नै ‘फ्लोर’ बाटै महासचिवका रूपमा अनुमाेदन गराउनुपर्छ भनेर दबाब बढाइरहेका छन् । त्यसो त वर्षमानले नेताहरूलाई भेटेर चीनबाट दबाब बढाएकोकाे रूपमा समेत विश्लेषण शुरू भएको छ । यसबारे राखिएको जिज्ञासामा ती नेता भन्छन्, ‘त्यसो चाहिँ भन्न सकिन्न । अहिले यसरी नजाऔँ ।’

ती नेताले यसअगि भने— ‘बरू उहाँले मेरो दाबी निरन्तर छ भनेर नेतृत्वलाई भन्न खाेज्नुभएकाे हाे याे चाहिँ भन्न सकिन्छ र हाे पनि यही नै ।’ वर्षमानले यसअघि पुसभित्रै महाधिवेशन भ्याउनेगरी आउन चाहेका थिए । तर, अस्पताले ‘डीस्चार्ज’ नगरेपछि उनी चीनमै रोकिएका छन् ।

यता जनार्दन पनि कुनै पनि हालतमा महासचिव बन्न चाहेका छन् । उनले त प्रज्ञा भवनबाहिर पत्रकारहरूसँग ‘म महासचिवका लागि याेग्य हुँ’ भनेर हाक्काहाक्की दाबीसमेत गरेका छन् । महाधिवेशन उद्घाटन समारोहमा साधारणतया: महासचिव [संगठनमा महासचिवकाे व्यवस्था हुँदा] ले गर्ने काम उद्घाेष गरेका जनार्दनले पछिल्लाे समय परोक्ष वा प्रत्यक्ष रूपमा प्रचण्डसँग ‘लबिइङ्ग’ बढाएका छन् ।

उनले ‘प्रचण्डपथ’ छोड्नु माओवादीको ठूलो भूल भएको दोहोर्‍याउँदै आएका छन् भने नेतृत्वमा प्रचण्ड नै निर्विकल्प हुने रटान लगाउँदै आएका छन् । त्यसो त वरीयताको हिसाबले जनार्दनभन्दा वर्षमान अगाडि छन् ।

यता ऊर्जा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेकी नेता पम्फाले पनि आफ्नो दाबेदारी निरन्तर रहेकाे बताउँदै आएकी छन् । प्रचण्डपछि पार्टीको जिम्मेवारी लिन आफू सक्षम रहेको उद्घोष नै गरिसकेकी उनले महासचिवबाट ‘ब्याक’ नहुने विभिन्न सञ्चारमाध्यमहरूमार्फत बताइसकेकी छन् ।

तर, महासचिवमा वर्षमान र जनार्दनकै बीचमै ‘टफ’ प्रतिस्पर्धा हुने आकलन गरिएको छ । पम्फालाई भने उपाध्यक्षमा अटाइने स्रोतले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *