माओवादी महासचिव आकांक्षी : गुरुङकाे पनि ‘ईन्ट्री’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आज केन्द्रीय पदाधिकारीलाई पूर्णता दिँदैछ । यसका लागि माओवादी केन्द्रले दिउँसाे ३ बजेका लागि नवनिर्वाचित केन्द्रीय सदस्यहरूकाे बैठक ललितपुरकाे हेरिटेज प्लाजामा बाेलाएकाे छ । प्रवक्ता कृष्णबहादुर महराकाअनुसार केन्द्रीय समितिकाे बैठकअगाडि स्थायी समिति बैठक बस्नेछ ।

माओवादी केन्द्रकाे विधानले १५ सदस्यीय केन्द्रीय पदाधिकारीको व्यवस्था गरेको छ । विधानबमोजिम आजको बैठकले अध्यक्षसहितका पदाधिकारी टुङ्ग्याउँदैछ । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चुनौती दिने कोही पार्टीमा निस्किएका छैनन् । तर, त्यसपछिको कार्यकारी पद महासचिवमा भने आकांक्षी थपिने क्रम जारी छ ।

महासचिवको आकांक्षीकाे सूचीमा अब नेता देव गुरुङकाे नाम पनि थपिएकाे छ । यसअघि यो सूचीमा मुख्यतः वर्षमान पुन, जनार्दन शर्मा र पम्फा भुसाल मात्रै थिए । पुन, शर्मा र भुसाल आपसमा टसमस देखिन्छन् । उनीहरूले आपसलाई महासचिवको रूपमा पार्टीमा नस्वीकार्ने संकेत देखिएकाे बताइन्छ । नेताहरूकाअनुसार उनीहरूले आ-आफ्नो गुटसमेत खडा गर्न थालेका छन् ।

यसो हुँदा प्रचण्डले यी तीन जनाबाहेकका नेतालाई महासचिवकाे रूपमा ल्याउन सक्ने बताइन्छ । यसअघि नेता शक्ति बस्नेतले पनि आफू महासचिवको आकांक्षी भएको आफूनिकटका नेताहरूलाई बताएका थिए । त्यसाे त प्रचण्डले पुन, शर्मा र भुसालबाहेककालाई नै राेज्नुपरे बस्नेतलाई राेज्नसक्ने विश्लेषण गरिन्छ । त्यसाे त बस्नेतकाे नाम महाधिवेशन सकिन लाग्दा एकाएक आयाे । त्यसो त यसअघि पुन र शर्माको हानथाप हुँदा ०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रचण्डले बस्नेतलाई गृहमन्त्री बनाएका थिए ।

अहिले पनि पुन, शर्मा र भुसालबीच यस्तै आन्तरिक प्रतिस्पर्धा र मनमुटाव हुँदा प्रचण्डले यही नीति अख्तियारी गर्ने पार्टीवृत्तमा विश्लेषण गरिएकाे छ ।

उसो त महासचिवकाे आकांक्षीकाे यो सूचीमा गुरुङको नाम पनि थपिएको छ । माओवादी उच्च श्रोतकाअनुसार गुरुङको दाबी बलियो देखिएको पनि छ । माओवादीका नवनिर्वाचित एक केन्द्रीय सदस्य भन्छन्, ‘नेतृत्वमा उहाँ (देव गुरुङ) को नामबारे पनि छलफल भएको बुझेकाे छु । सम्भावनाकै कुरा गर्दा त उहाँ महासचिव बन्नुहुन्छजस्तो लाग्छ । यसै भन्न चाहिँ सक्दिनँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *