माओवादी नेता पुनसँग चिनियाँ उपमन्त्रीले भने- नेपालका बाम दलहरू मिलून्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन झाओबीच भेटवार्ता भएको छ । स्वास्थ्योपचारका क्रममा चीनको सेनजेनमा रहेका नेता पुनले सोमबार चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा उपमन्त्री झाओसहितको टोलीसँग भेटवार्ता गरेका हुन् ।

भेटमा विभिन्न विषयमा छलफल भएको नेता पुनको सचिवालयले जनाएको छ । ‘उहाँहरूले माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनको सफलताको शुभकामना दिनुभयो, अध्यक्ष क. प्रचण्डको नेतृत्वमा माओवादी अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै चिनियाँ कम्युनिस्ट पार्टी र नेकपा माओवादी केन्द्र सबैभन्दा नजिकका मित्र भएकाले आगामी दिनमा यो सम्बन्ध अझ बलियो बनाउने कुरा गर्नुभयो,’ नेता पुनको भनाइ उद्धृत गर्दै सचिवालयले उल्लेख गरेको छ ।

नेपालको समसामयिक राजनीति, वामपन्थीहरूबीचको सहकार्य र एकता, अगामी चुनावमा हुने तालमेल तथा वाम घटकहरूका बीचको पार्टी एकताका विषयमा पनि चिनियाँ मन्त्रीले चासो राखेको सचिवालयले जनाएको छ । चिनियाँ पक्षले नेपालका बामदलहरू एक भएर अघि बढून् भन्ने शुभेच्छा व्यक्त गरेको थियो ।

जवाफमा नेता पुनले विचार मिल्ने तथा असल क्रान्तिकारी कम्युनिस्टहरूका बीचमा पार्टी एकता गर्ने, त्यो सम्भव नभए सहकार्य र गठबन्धन गरेर आगामी चुनाव र त्यसभन्दा पछिसम्म जानका लागि माओवादी तयार रहेको बताए ।

विगतमा एमाले अध्यक्ष केपी ओलीको संविधान विरोधी, पार्टीको विधान र सहकार्यको भावना विरोधी गतिविधिका कारण नेकपा एकताले निरन्तरता पाउन नसकेको र अहिले पनि ओलीकै कारण एमालेसँग सहकार्य सम्भव नभएको बताएका नेता पुनले ओली गुणात्मक रुपमा रुपान्तरण भएर आएमा सहकार्यका लागि छलफल गर्न सकिने बताएका थिए ।

नेता पुनले अहिलेको गठबन्धन आगामी चुनावसम्म जाने र त्यसपछि पनि सहकार्य गर्न तयार रहेको बताएका थिए ।

भेटमा चिनिया पक्षले एमसीसी परियोजनाका बारेमा पनि चासो राखेको थियो । जवाफमा एमसीसीबारे नेपालमा बहस चलिरहेको र गठबन्धनले समेत अध्ययनका लागि कार्यदल बनाएको प्रसंग उल्लेख गर्दै नेता पुनले कार्यदलको रिपोर्ट आएपछि राष्ट्रिय हितअनुकूल हुनेगरी मित्र राष्ट्रहरूको सहयोग स्वीकार गर्ने नेपालको नीतिअनुरूप सरकार र गठबन्धन अघि बढ्ने बताएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा नेता पुनले चिनियाँ उपमन्त्रीसँग दुई देशबीचको सम्बन्ध, चिनियाँ कम्युनिष्ट पार्टी र माओवादी केन्द्रको सम्बन्ध विस्तारलगायतका विषयमा विस्तृत छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

उपमन्त्रीसहितको चिनियाँ टोलीसँगको भेटवार्ताका क्रममा पुनकी पत्नीसमेत रहेकी पूर्व सभामुख तथा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्ती पनि सहभागी थिइन् ।

काठमाडौँबाट असोज १३ गते उपचारका लागि बैंकक पुगे पनि त्यहाँ अपेक्षित सुधार नभएपछि नेता पुन थप उपचारका लागि चीन पुगेका हुन् । उनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेजमा उपचार भइरहेको छ ।

नेता पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएपछि उनी द्विपक्षीय भेटवार्तामा जुटेको पनि सचिवालयले जनाएको छ । वंशाणुगत तथा विश्वमा विरलै देखिने जन्डिस रोगका कारण झण्डै ३ महिनादेखि उपचार गराइरहेका नेता पुन उपचारका लागि केही परिक्षण थाँती राखेर माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनका लागि नेपाल आउन चाहेका तर अध्यक्ष प्रचण्डसँगको परामर्शमा चिनियाँ नेतासँगको भेटवार्ताको समय समेत तय भएकाले महाधिवेशनमा अनुपस्थित रहेको पनि सचिवालयले जनाएको छ ।

पुन माओवादीको नयाँ महासचिवका आकांक्षी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *