धर्नामा बसेकी विनु र महिलामन्त्री वादीबीच भेटवार्ता

काठमाडौं । सिंहदरबारको मूल प्रवेशद्वारमा धर्नामा बसेकी विनु यादवसँग महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले भेटवार्ता गरेकी छन् ।

मन्त्रालयमा आज भेटवार्तामा यादवले आफूले उठाउँदै आएका माग, न्याय प्राप्तिसम्बन्धी सरोकार, स्वास्थ्य उपचार, जीविकोपार्जन तथा आफ्ना मुद्दासँग सम्बन्धित विषयहरू मन्त्रीसमक्ष राखेकी छन् । उनले सम्बन्धित निकायबाट निष्पक्ष, प्रभावकारी तथा कानुन बमोजिम आवश्यक प्रक्रियाअघि बढाइ दिन आग्रह गरेको मन्त्री वादीको सचिवालयले जनाएको छ ।

जवाफमा मन्त्री वादीले यादवका माग तथा सरोकारप्रति मन्त्रालय गम्भीर र संवेदनशील रहेको उल्लेख गर्दै मन्त्रालयको कार्य क्षेत्रभित्र पर्ने विषयमा आवश्यक पहल, समन्वय तथा सहजीकरण गरिने विश्वास दिलाइन् । उनले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी कानुन बमोजिम विषयलाई उचित ढङ्गबाट अघि बढाउन मन्त्रालयले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।

भेटवार्ताका क्रममा यादवको स्वास्थ्य अवस्थाको विस्तृत परीक्षण, आवश्यक स्वास्थ्य उपचार तथा रोजगारी एवं जीविकोपार्जनका लागि आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको थियो । साथै, उनले उठाएका अन्य विषयहरू सम्बन्धित निकायमा आवश्यक पहल तथा कारबाहीका लागि पठाउने र अदालतमा विचाराधीन विषयहरू प्रचलित कानुन बमोजिम न्यायिक प्रक्रियाबाट निरूपण हुने विषयमा विचार विमर्श भएको थियो ।

मन्त्री वादीले नागरिकका गुनासा तथा सरोकारप्रति सरकार सदैव संवेदनशील रहेको उल्लेख गर्दै पीडितमैत्री सेवा प्रवाह, न्यायमा सहज पहुँच तथा कानुनी शासनको प्रभावकारी कार्यान्वयन सरकारको प्राथमिकता रहेको बताइन् । उनले मन्त्रालयको अधिकार क्षेत्रभित्र पर्ने विषयमा आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्न मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =