पशुपति क्षेत्रमा गङ्गामाई रथयात्रा सुरु

काठमाडौं । पशुपति क्षेत्रमा प्रत्येक वर्ष आषाढ शुक्ल सप्तमी अर्थात् अचला सप्तमीका दिन गरिने गङ्गामाई रथयात्रा सुरु भएको छ । पशुपति क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गामाईको दिव्य रथयात्रा गर्ने परम्परा छ ।
पशुपतिनाथ मन्दिर तथा पाशुपत क्षेत्रमा जलकी अधिष्ठात्री देवी गङ्गाको दिव्य रथ यात्रा तथा विशेष अर्चना उपासना गरेपछि पानी पर्ने एवं खडेरी नहुने विश्वास गरिन्छ । यो जात्रामा राज्यबाट हर्ष बढाइँका लागि गुरुज्युको पल्टनले सलामी समेत प्रदान गर्ने परम्परा छ । गङ्गामाई जात्राको प्रतीकका रुपमा यसलाई अहिले पनि पशुपति क्षेत्र विकास कोषले निरन्तरता दिँदै आएको छ ।
पाशुपत क्षेत्र शाक्त सम्प्रदायको समेत उपासना स्थल हो । यसैले पनि गङ्गामाई रथयात्राको विशेष महत्व छ । भगवान् पशुपतिनाथ मन्दिरको गर्भ गृहमा रहेको माता गङ्गाको अष्टधातुको मूर्तिलाई रथारोहण गराई पाशुपत क्षेत्रको देव मार्गमा परिक्रमा गराइन्छ ।
आज अपराह्न पशुपतिनाथको बज्रघरबाट रथयात्रा सुरु भएको कोष सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले जानकारी दिए । जात्रा आजै समापन हुने जनाइएको छ ।








