फिल्मका लागि ‘लभ सङ’ किन बनाउँदैनन् राजनराज ?
सिर्जनाका लागि तन–मन एकाग्र हुनुपर्ने भन्दै उनले ऊर्जा क्षय हुँदा केही समय विश्राम लिनुपरेको बताए ।

काठमाडौँ । आगामी असोज १६ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘चमेलीको पोइ’ को पहिलो गीत ‘ओई ओई चमेली, तम्रा शेरे खोई’ सार्वजनिक भएको छ । गीतमा चर्चित गायक तथा संगीतकार राजनराज शिवाकोटीले संगीत संयोजनसँगै स्वर दिएका छन् ।
सोमबार राजधानीमा आयोजित गीत रिलिज कार्यक्रममा शिवाकोटीले पछिल्लो समय आफ्ना पुराना शैलीका मेलोडी, लव सङ तथा सुगम संगीत कम सुनिनुको कारणबारे खुलासा गरेका छन् ।
चलचित्रकर्मीहरूको रुचि र मागअनुसार आफूले पछिल्लो समय काम गरिरहेको उनले बताए । उनले चलचित्र क्षेत्रमा आउनुअघि एल्बमका लागि धेरै मेलोडी र लव सङहरू सिर्जना गरेको स्मरण गरे ।
‘मैले योभन्दा अगाडि कस्तो किसिमको सिर्जना गर्थे भन्ने धेरैलाई जानकारी रहेनछ । चलचित्र क्षेत्रमा आउनुभन्दा अगाडि एल्बमका लागि धेरै काम गरेको थिएँ,’ उनले भने, ‘सम्धी ज्यू सम्धी ज्यू, वार्ता गराई देऊदेखि ‘डाँफे झैँ नाच्ने’ जस्ता गीतहरू ६० को दशकमा मैले बनाएका सिर्जना हुन् । त्यसबेला मेलोडी, लव सङ र सुगम संगीतलाई प्राथमिकता दिन्थेँ ।’
उनले पछिल्लो समय चलचित्रकर्मीहरूले डान्सिङ गीतलाई बढी प्राथमिकता दिने भएकाले लव सङमा काम गर्ने अवसर कम भएको बताए ।
‘अहिले चलचित्रकर्मीहरूले डान्सिङ गीत भन्नुभएकाले लव सङमा हात हाल्नै पाइन्,’ शिवाकोटीले भने ।
उनका अनुसार चलचित्रमा मेलोडी गीत समावेश गर्दा त्यसले चलचित्रलाई थप उचाइ दिन सक्छ । त्यसका लागि चलचित्रकर्मीहरूले पहल गर्नुपर्ने उनको भनाइ छ ।
‘चलचित्रमा राख्ने हो भने मेलोडी सङ चल्छ । चलचित्रकर्मीहरूले अलिकति पहल गरिदिनुभयो भने, यस्तो सुगम गीत चल्नुपर्छ भनेर आग्रह गर्नुभयो भने म तयार छु,’ उनले भने ।
उनले बीचको समयमा आफूले आफ्नै प्रयासमा ‘फूल बुट्टे सारी’ जस्तो गीत सिर्जना गरेको पनि बताए । २–३ वर्षको ग्यापपछि संगीतमा कमब्याक राजनराज शिवाकोटीले केही समयको विश्रामपछि पुनः संगीत क्षेत्रमा सक्रिय हुन थालेको बताएका छन् ।
सिर्जनाका लागि तन–मन एकाग्र हुनुपर्ने भन्दै उनले ऊर्जा क्षय हुँदा केही समय विश्राम लिनुपरेको बताए ।
‘क्रियटरहरूको इनर्जी बिस्तारै क्षय हुँदै जाने रहेछ । मलाई पनि गाह्रो भएर केही समय रेस्ट लिएँ,’ उनले भने, ‘ऊर्जा सकिएपछि रिइनर्जाइज हुन केही समय लाग्दो रहेछ । २–३ वर्ष ग्याप भएर फेरि कमब्याक हुँदैछु ।’
नेपाली लोकसंगीत र माटोको सुगन्धलाई आधार बनाएर थुप्रै लोकप्रिय गीत दिएका शिवाकोटीले ‘सुर्के थैली’, ‘च्याप्टे पेरुङ्गो’ लगायतका गीतमार्फत नेपाली संगीत क्षेत्रमा विशेष योगदान दिएका छन् ।








