चलचित्र समीक्षा

चल्तीका रैथाने सिनेमाभन्दा फरक ‘गौँथली’

काठमाडौँ । झण्डै दुई दशकअघि निर्माण भई प्रदर्शनको ५१औँ दिन मनाउन सफल भएको चलचित्र ‘गौँथली’ पछि नेपालका प्रतिष्ठित चिकित्सक डा. भोला रिजालले यही नामलाई नयाँ सोच, नयाँ कथा र समसामयिक सन्देशसहित पुनः दर्शकमाझ ल्याएका छन् ।

नेपालमा सामाजिक विषयवस्तुमा आधारित धेरै चलचित्र निर्माण हुने गरे पनि तीमध्ये थोरैले मात्र व्यावसायिक सफलता हासिल गर्न सकेका छन् । यस्तो चुनौतीपूर्ण परिवेशमा पुरानो भावनात्मक विरासतलाई नयाँ पुस्तासामु नयाँ शैलीमा प्रस्तुत गर्दै त्यसलाई सिनेमाटिक रूपमा न्याय दिनु सहज काम होइन । त्यसैले ‘गौँथली’ ले आफ्नो कथा, प्रस्तुति र सन्देशमार्फत दर्शकलाई मनोरञ्जनका साथै प्रभाव पार्न सफल हुन्छ कि हुँदैन भन्ने उत्सुकता चलचित्र सुरु हुनुअघि नै सिर्जना गरिदिन्छ ।

चलचित्र ‘गौँथली’ गत शुक्रवार, साउन १ गतेदेखि देशभर प्रदर्शनमा आइसकेको छ ।

पात्र/चरित्रचित्रण

‘गौँथली’ का कथालाई अघि बढाउने दुई प्रमुख पात्र हुन्- गौँथली र ठुले । यी दुवै पात्र फरक पृष्ठभूमिका भए पनि कथाको भावनात्मक केन्द्रबिन्दु यिनै हुन् ।

ठुले अटिजम भएका पात्र हुन् । तर चलचित्रले उनलाई दया वा सीमितताको प्रतीकका रूपमा होइन, बरु अत्यन्तै आत्मीय, निष्कपट र लोभलाग्दो पात्रका रूपमा प्रस्तुत गरेको छ । लेखकले ठुलेकै दृष्टिकोण र व्यवहारमार्फत समाजका पूर्वाग्रह, विभेद र यथार्थलाई ऐनाजस्तै दर्शकसामु उभ्याएका छन् । अटिजम भए पनि उनी सम्पन्न परिवारका सदस्य हुन् ।

अर्कोतर्फ, गौँथली मध्यमवर्गीय परिवारकी जेठी छोरी हुन् । उनीभित्र शिक्षा हासिल गर्ने तीव्र चाहना र आफ्नै भविष्य आफैँ निर्माण गर्ने दृढ अठोट छ । गाउँमा किशोरीहरूको सानै उमेरमा विवाह गरिने परम्पराका कारण कसैले पनि एसइई (तत्कालीन एसएलसी) उत्तीर्ण गर्न सकेका छैनन् । तर गौँथली यही परम्परालाई चुनौती दिँदै आफ्नो पढाइ पूरा गर्ने र एसइई उत्तीर्ण गर्ने लक्ष्य बोकेर अघि बढ्छिन् । उनको यो सङ्घर्षले चलचित्रलाई केवल व्यक्तिगत कथामा सीमित नराखी सामाजिक कुरीति र लैङ्गिक असमानतामाथि प्रश्न उठाउने माध्यम बनाएको छ ।

कथावस्तु

मृत्युपूर्व नातिनीको विवाह भएको देख्ने हजुरआमाको इच्छालाई सम्मान गर्दै, भर्खरै कक्षा ८ मा प्रथम भएकी गौँथली विवाहका लागि तयार हुन्छिन् । उनको विवाह ठुलेसँग तय हुन्छ । तर विवाहअघि उनले ठुलेलाई एकपटक पनि देखेकी हुँदैनन् । विवाहपछि मात्र उनले आफ्ना श्रीमान् अटिजम भएका व्यक्ति रहेको थाहा पाउँछिन् ।

जीवनको यो अप्रत्याशित मोडसँगै गौँथलीले अनेक चुनौतीको सामना गर्नुपर्छ । श्रीमान्–श्रीमतीको सम्बन्धको अर्थ र जिम्मेवारीसमेत बोध नभएका ठुलेसँग उनले आफ्नो वैवाहिक जीवन कसरी अघि बढाउँछिन् ? शिक्षा नै आफ्नो भविष्य परिवर्तन गर्ने माध्यम ठानेकी गौँथलीको एसइई (तत्कालीन एसएलसी) उत्तीर्ण गर्ने सपना पूरा हुन्छ कि बीचमै अधुरै रहन्छ ? फरक स्वभाव र फरक जीवनभोग भएका यी दुई पात्रबीचको अनौठो ‘लभ केमेस्ट्री’ ले पर्दामा कस्तो रङ भर्ला ? यी प्रश्नहरूको उत्तर भने चलचित्र हेरेपछि नै थाहा हुनेछ ।

चलचित्र ‘गौँथली’को रिभ्यु

नेपाली चलचित्र बजारमा पछिल्लो समय बनिरहेका सामाजिक कथामा आधारित रैथाने फिल्महरूको भीडमा ‘गौँथली’ फरक छ ।

यस चलचित्रको सबैभन्दा सबल पक्ष भनेको प्रस्तुतीकरण शैली हो, जहाँ ठुला-ठुला संवादभन्दा पनि दृश्यहरू मार्फत दर्शकसम्म सन्देश पुर्‍याउने कलात्मक प्रयास गरिएको छ । चलचित्रमा आउने उतारचढाव र घटनाक्रमहरू यति स्वाभाविक र विश्वसनीय छन् कि यसले दर्शकलाई धेरै ठाउँमा भावुक बनाउँदै कथासँगै बगाएर लैजान्छ ।

लेखक आफैँ मेडिकल डाक्टर भएकाले पनि होला, चलचित्रमा स्वास्थ्य र सामाजिक चेतनाका मुद्दाहरूलाई निकै गम्भीरताका साथ उठाइएको छ । अटिजम भएका व्यक्तिहरूप्रति समाजले कस्तो व्यवहार गर्नुपर्छ र उनीहरूको मस्तिष्कले कसरी काम गर्छ भन्ने कुरालाई स्पष्ट रूपमा देखाइएको छ । यसका साथै, गर्भवती महिलाको स्वास्थ्य जाँचको महत्त्व, विगतमा महिलाहरूमा देखिने गर्भपतनको समस्या र बिरामी पर्दा धामी झाँक्रीको मात्र विश्वास गरेर अस्पताल नपुर्‍याउँदा निम्तिने भयानक परिणामलाई चलचित्रले बडो मार्मिक ढङ्गमा उजागर गरेको छ ।

चलचित्रले केही दशकअघिको ग्रामीण नेपाली परिवेशलाई दुरुस्तै उतारेको छ, जहाँ छोरी मान्छेले पढ्नु हुँदैन भन्ने सोच व्याप्त थियो र महिलाहरू गाईबस्तु र भान्छामा मात्र सीमित हुन्थे । त्यही पितृसत्तात्मक समाजको पीडित पात्र हो- गौँथली । विवाहपश्चात् ‘जसको जे काम हो, उसले त्यही गर्नुपर्छ’ भन्दै सासूले उसलाई विद्यालय जान रोक्दा ससूरासमेत मौन बस्न बाध्य छन् ।

तर, यहीँनिर चलचित्रको सबैभन्दा सुन्दर ट्वीस्ट आउँछ । अटिजम भएको पात्र ‘ठुले’ लाई समाजको तीतो वास्तविकता बोल्ने र चेतना छर्ने एक सशक्त पात्रको रूपमा उभ्याइएको छ । जब सासूले गौँथलीलाई पढ्नबाट रोक्छिन्, तब अटिजम भए पनि ठुलेले आमालाई दरो जवाफ दिन्छ- ‘उसलाई त पढ्न आउँछ र पो पढ्छे, तपाईँलाई आउँछ ?’ ठुलेको यही चरित्रले समाजका कथित बुद्धिजीवीहरूलाई ऐना देखाउने काम गरेको छ ।

प्राविधिक रूपमा ‘गौँथली’ को मेकिङ राम्रो छ । मुख्य पात्रहरूको रियलिस्टिक अभिनयले फिल्मलाई जीवन्त बनाएको छ भने अन्य सबै कलाकारहरूले पनि आ–आफ्नो भूमिकामा न्याय गरेका छन् । यसमा चलचित्रका गीतहरू र ब्याकग्राउन्ड म्युजिकले सुनमा सुगन्ध थप्ने काम गरेका छन्, जसले दृश्यको भावनालाई अझ प्रगाढ बनाउँछ ।

चलचित्र सलल बगेको छ, एकपछि अर्को गर्दै आउने घटनाक्रमहरूले दर्शकलाई सर्प्राइज दिइरहन्छन् र अन्त्यसम्मै हलमा बाँधेर राख्न सफल हुन्छन् यद्यपि, चलचित्रको क्लाइमेक्समा भने केही लेन्दी फिल हुन्छ।

समग्रमा, गौँथली एउटा बलियो सामाजिक सन्देश बोकेको, प्राविधिक रूपमा अब्बल र भावनात्मक रूपमा उत्कृष्ट चलचित्र हो, जसलाई नेपाली सिनेमामा केही फरक र अर्थपूर्ण हेर्न चाहने हरेक दर्शकले हेर्नै पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eleven =