कांग्रेस महाधिवेशन:

संस्थापनइतर, तितरबितर !

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आफ्नो टीम एक राखिराख्न सकेन । जसका कारण इतर पक्षका प्रमुख नेताहरू तितरबितर भएका छन् । सहमतिमा साझा उम्मेदवार टुङ्ग्याउने भन्दै गत सोमबारदेखि सहमति खोज्दै आएका नेताहरू मनोनयनको समय शुरू भइसकेपछि आ–आफ्नो अनुकुलका टिममा जान थालेका छन् ।

खासगरी सभापति पदका आकांक्षी प्रकाशमान सिंह र डा. शेखर कोइरालालबीच सहमति नबन्दा इतर पक्ष यो अवस्थामा  पुगेको हो । नेताद्वय रामचन्द्र पौडेल र डा. शशांक कोइराला जसरी भएपनि साझा उम्मेदवार तय गर्नुपर्ने र त्यसमा आफूले दाबी नगर्ने बताएका थिए । तर, प्रकाशमान–शेखरबीच सहमति नबन्दा इतर पक्ष तितरबितर बन्यो ।

अहिले प्रकाशमान र शेखर दुबैजना टिम बनाएरै चुनाब लड्ने तयारीमा लागेका छन् ।

इतर पक्षको नेतृत्व गरिरहेका रामचन्द्रले दिक्कै भएर आफू सभापतिको ‘रिङ’ बाट बाहिरिएको बताएका छन् । यसअघि नै साझा उम्मेदवार नटुङ्ग्याए आफूले राजनीतिबाटै सन्न्यास लिनेसमेत बताएका उनले अब सभापति पदका लागि उम्मेदवारी दर्ता पनि नगर्ने बताएका छन् । त्यसो त उनले अन्य नेताहरूलाई समर्थनसमेत नगर्ने उनीनिकट एक नेता बताउँछन् । ‘स्वाभाविक रूपमा अन्य नेताहरूलाई सहयोग गर्ने कुरै कहाँ रह्यो र ?’ ती नेताले प्रश्न गर्छन्, ‘सहयोग चाहिने भए त आपसमा मिलेर जाउँ भन्दा नेताहरू मिलिहाल्नुहुन्थ्यो ।’

इतर पक्षमा रहेका नेता प्रकाशमानले पनि आफूले आफ्नै प्यानल बनाउने घोषणा गरिसकेका छन् । सुजाता कोइरालालाई साथमा लिएर चुनावी मैदानमा प्यानलसहित उत्रिन लागेका प्रकाशमान अब नरोकिने नेता सबुज बानियाँ बताउँछन् । उनले भने— ‘अब प्यानल नै बनिसक्यो । अब पनि तपाईं सोध्नुहुन्छ पछाडि हुने कि नहुने भनेर ?’
प्रकाशमानले सुजातासँगै डिला संङ्ग्राैलालगायतका नेताहरूलाई साथमा लिएर चुनावमा होमिने नेताहरू बताउँछन् ।

यता शेखर सभापतिको ‘रेस’बाट पछाडि हटेका छैनन् । बुधबार जिल्लास्थित नेताहरूसँगको छलफलमा ‘डोन्ट वऋ, आएम् स्टील अन रेस’ भनेर हिँडेका उनी रोकिनेवालामा छैनन् । एक्लै भएपनि सभापतिमा लड्ने र मतपरिणाममा चित्त बुझाउने बताउँदै आएका शेखरले आफ्नै नाममा सहमति जुट्नुपर्ने जिकिर गर्दै आएका छन् ।

केही अघिसम्म सभापतिकै आकांक्षी रहेका नेता शशांक कोइरालाले भने आफ्नो दाबी छाडेका छन् । उनले रामचन्द्रलाई सभापतिको साझा उम्मेदवारको रूपमा उभ्याउनुपर्ने बताउँदै आफूले आफ्नो दाबी छाड्ने घोषणा गरेका थिए । तर, पनि खासगरी प्रकाशमान र शेखरमा सहमति नजुट्दा यो समस्या आएको हो ।

संस्थापनलाई सजिलाे

संस्थापनइतर पक्षको ‘तितरबितर’ ले संस्थापन पक्षलाई प्रत्यक्ष रूपमा फाइदा पुग्ने देखिएको छ । संस्थापनइतर पक्षका चार नेताहरू (रामचन्द्र, प्रकाशमान, शशांक र शेखर) एकठाउँमा उभिए आफूलाई सकस पर्ने विश्लेषण गरेर बसेको संस्थापन पक्षलाई नै अन्ततः फाइदा पुग्ने देखिएको छ ।

कांग्रेसको तेस्रो धार कृष्णप्रसाद सिटौलालाई पनि साथमा लिएर चुनावी मैदानमा होमिने योजना बनाएका संस्थापन पक्षका नेता शेरबहादुर देउवाले अब सहज रूपमा जित हात पार्ने एक नेता बताउँछन् । ‘इतर पक्ष एक हुन नसक्नु भनेको संस्थापन पक्षलाई फाइदा हुनु हो,’ ती नेताले भने, ‘फेरि कृष्ण दाइको टीम पनि यतै हुँदा अझ सहज हुन्छ भन्ने भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *