रामचन्द्रको आक्रोश : साझा उम्मेदवार नबनाइए राजनीतिबाटै बिदा लिन्छु (भिडिओसहित)

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको नेतृत्व गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले सहमतिमा साझा सभापति पदको उम्मेदवार टुङ्ग्याउन नसकिए आफूले राजनीतिबाटै बिदा लिने बताएका छन् । साझा उम्मेदवार टुङ्ग्याउन बुधबार अपराह्न चाक्सीबारीमा बसेको बैठकमा कुरा नमिलेपछि नेता पौडेलले यस्तो बताएका हुन् ।

नेता पौडेललाई उद्धृत गर्दै नेता प्रकाशरण महतले भने, ‘जो पनि म पनि लड्ने, म पनि लड्ने भन्छ । रामचन्द्रजी पनि त्यसै भन्ने, प्रकाशमानजी पनि, शेखरजी पनि लड्ने नै नछोड्नै नै भन्छन् । त्यसो हो भने म चाहिँ राजनीतिबाटै बिदा लिन्छु यदि साझा उम्मेदवार नबन्ने हो भने भनेर रामचन्द्रजीले भन्नुभयो ।’

नेता महतले पौडेलले प्रतिकात्मक रूपमा मिलेरै जानुपर्छ भनेर त्यसरी भनेको बताए । ‘उहाँले मिलेरै जानुपर्छ भनेर त्यसो भन्नुभएको हो । बिदा नै लिने भन्ने त होइन । हामीले पनि मिलेरै जाऔँ भनेका छौँ । तर, कुरा मिलेन ।’

संस्थापनइतर पक्षमा पौडेल, सिंह र कोइरालाबीच सहमति हुन सकेको छैन । युवा नेताहरूले साझा उम्मेदवार छान्नुपर्ने भन्दै दबाब बढाएपछि नेताहरू झनै सकसमा परेका हुन् । सभापतिकै अर्का आकांक्षी शशांक कोइरालाले भने आफ्नो दाबी छाडेका छन् । उनले पनि पौडेल नै सभापतिको उम्मेदवार बन्नुपर्ने बताएका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *