कालक्रममा कांग्रेस-१०

यी हुन् कांग्रेसका आठ सभापति

काठमाडौँ । नेपाली राष्ट्रिय कांग्रेसको स्थापनामा बीपी कोइरालाको अहम् भूमिका छ । त्यति मात्र होइन, नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको एकता गरी नेपाली कांग्रेस स्थापना गर्न पनि बीपी कोइरालाको महत्त्वपूर्ण भूमिका छ । तर, दुवैपटक बीपी सभापति भएनन् ।

यो बीपी पदका लागि निकै उदार थिए भन्ने कुराको प्रमाण हो । उनी आफ्नो उद्देश्यमा भने दृढ थिए । यो कुरा उनले व्यवहारबाटै पुष्टि गरेका छन् । तर, पहिलो अधिवेशनबाटै नेतृत्वको आकांक्षी भएका र नपाएका डा. डिल्लीरमण रेग्मीले भने पार्टीलाई फुटतर्फ लगेका थिए । सिङ्गो पार्टीको कार्यवाहक सभापति भएर सभापति हुन नपाएका उनी एक मात्र नेता हुन् । कार्यवाहक सभापति भएपछि बीपीलाई उक्त पद ‘फिर्ता’ नगरी नेपाली राष्ट्रिय कांग्रेस फुटाएर रेग्मी सभापति भएका थिए । २०१५ सालको निर्वाचनसम्म उनको दल कायम थियो ।

कालक्रममा कांग्रेस -१
नेपाली कांग्रेस : स्थापनाको ७५ वर्ष, १३ महाधिवेशन, आठ जनाको नेतृत्व

रेग्मीबाहेक कार्यवाहक सभापति भएका बीपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्णशमशेर र कृष्णप्रसाद भट्टराई सबै जना नेपाली कांग्रेसको सभापति हुन सफल भए । सुवर्णले २०१७ सालमा बीपी जेल गएपछि लामो समय कार्यवाहक भएर चलाए । भट्टराई पनि करिब १४ वर्ष कार्यवाहक भएपछि मात्र सभापति भएका थिए ।

गणेशमान सिंह भने सभापति मात्र होइन कार्यवाहक सभापति पनि हुन पाएनन् । २०१२ माघ १०-१२ मा वीरगञ्जमा भएको छैटौँ महाधिवेशनमा उनी र सुवर्णशमशेर सभापतिको प्रतिस्पर्धामा थिए । तर, सुवर्णसँग उनी पराजित भएका थिए । संस्थापक र शीर्ष नेता भएर पनि सभापति हुन नपाएका उनले जीवनको उत्तरार्धमा कांग्रेस नै छोडे ।

१. टंकप्रसाद आचार्य : दुई पार्टीका एक्लो सभापति
नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गर्न १२-१३ माघ २००३ मा भारतको कलकत्ता भवानीपुरस्थित खालसा हाईस्कुलमा सम्मेलन बोलाइएको थियो । यो सम्मेलनमा पार्टीको नाम, उद्देश्य, नीति र नेतृत्व तय गर्ने योजना थियो ।

सम्मेलनमा भाग लिनेहरू धेरैजसो काशी हिन्दु विश्वविद्यालय तथा कलकत्ता विश्वविद्यालयका नेपाली विद्यार्थी र भारतका विभिन्न भागमा बसेका प्रवासी नेपाली थिए । केही व्यक्ति काठमाडौँबाट पनि पुगेका थिए । गणेशमान सिंहले भने नेपाल प्रजा परिषद्को नेताको हैसियतले भाग लिएका थिए ।

कालक्रममा कांग्रेस-२
२००७ सालको क्रान्ति : सुवर्णको सशस्त्र संघर्षको नीतिमा बीपी सहमत, गिरिजाको विरोध

सम्मेलनले पार्टीको नाम ‘नेपाली राष्ट्रिय कांग्रेस’ राख्ने तय भएपछि नेतृत्वको विषयमा छलफल भयो । गणेशमान सिंहले जेलमा रहेका नेपाल प्रजा परिषद् अध्यक्ष टंकप्रसाद आचार्यलाई नै नेपाली राष्ट्रिय कांग्रेसको सभापति बनाउन प्रस्ताव गरे । तर, यसको विरोध भयो । डिल्लीरमण रेग्मीले पनि आफू अध्यक्ष हुनुपर्ने बताएका थिए । रेग्मीको प्रस्तावमा भने कसैले रुचि नै देखाएन ।

अधिकांशको मत बीपी कोइराला नै सभापति हुनुपर्छ भन्ने थियो । तर, गणेशमानले टंकप्रसादलाई नै सभापति बनाउन अडान लिइराखे । यसमा बीपीले लचकता देखाए । उनले भने, ‘म सभापति भएर मात्र पार्टी सक्रियताको साथ अगाडि बढ्ने हैन । सबैको सहयोग प्राप्त भयो भने यसलाई सशक्त गराएर हामी हाम्रो देशमा प्रजातन्त्र स्थापना गर्नेछौँ । हामीले योगदानको कदर पनि गर्नुपर्छ । त्यसैले टंकप्रसादजीलाई सभापति बनाएर पनि हामी पार्टीलाई संगठित रूपमा अगाडि बढाउन सक्छौँ ।’

बीपीको सहमतिपछि टंकप्रसाद आचार्य पहिलो सभापति भए । उनी एक साथ दुई पार्टी नेपाल प्रजा परिषद् र नेपाली राष्ट्रिय कांग्रेसको सभापति भए । कार्यवाहक सभापति भने बीपीलाई बनाइयो ।

कालक्रममा कांग्रेस-३
यसरी असफल भए पञ्चायतविरुद्ध कांग्रेसले गरेका दुईवटा सशस्त्र आन्दोलन

नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातन्त्र कांग्रेसको एकता भएर २००६ चैत २७ मा नेपाली कांग्रेस नबनेसम्म पार्टी सभापति आचार्य नै रहिरहे । सभापति नियुक्तदेखि हटुन्जेलसम्म उनी जेलमा नै थिए । उनको कार्यवाहक सभापति भएर बीपीले दुई पटक, मातृकाले दुई पटक र डा.रेग्मीले एकपटक काम गरे ।

२. बीपी कोइराला : संस्थापक कार्यवाहक सभापति
२००३ माघ १३ गते नेपाली राष्ट्रिय कांग्रेसको स्थापना हुँदा बीपी कोइराला संस्थापक कार्यवाहक सभापति भए । सभापति आचार्य जेलमा रहेकाले वास्तविक नेतृत्वमा बीपी नै थिए ।

विराटनगरमा चैत २००३ मा मजदुर आन्दोलन भयो । त्यसको नेतृत्वका लागि उनी विराटनगर नै पुगे । तर, लगत्तै १२ चैतमा उनलाई गिरफ्तार गरियो । उनको ठाउँमा मातृकाप्रसाद कोइराला कार्यवाहक सभापति भए । तर, आन्दोलनको अवधिका लागि मात्र सभापति भएका उनले सत्याग्रह रोकिएपछि जेठ २० गते राजीनामा दिए । उनको ठाउँमा डा. डिल्लीरमण रेग्मी कार्यवाहक सभापति भए ।

कालक्रममा कांग्रेस-४
बीपीको हत्या प्रयास गर्ने भरतशमशेर यसरी लागे कांग्रेसतिरै

बीपी कोइराला त्यही वर्ष भदौमा जेलमुक्त भए । उनी पुनः कार्यवाहक सभापति पदमा फर्कन चाहन्थे । तर, एक वर्षका लागि चुनिएका रेग्मीले पद त्याग गर्न अस्वीकार गरे । बीपीले २८ असोज २००४ मा कार्यवाहक सभापति आफू नै भएको घोषणा गरे । रेग्मीले त्योभन्दा एक कदम अगाडि बढेर जेलमा रहेका टंकप्रसाद आचार्यलाई सभापतिबाट बर्खास्त गरी आफैँ सभापति भएको घोषणा गरे । यसरी बीपी र डा.रेग्मीको द्वन्द्वले पार्टी फुट्यो ।

बीपी कोइराला आन्दोलन हाँक्नका लागि २००५ कात्तिकमा काठमाडौँ पुगे । काठमाडौँ पुगेको केही समयमा नै उनी गिरफ्तारीमा परे । नयाँ नेतृत्व छान्न नेपाली राष्ट्रिय कांग्रेसको तेस्रो अधिवेशन २००५ फागुन १८ मा दरभङ्गामा भयो । यो अधिवेशनले दोस्रो पटक मातृकालाई कार्यवाहक सभापति छान्यो । २००६ जेठ १६ मा बीपी जेलबाट रिहा भएपछि पनि मातृका नै सभापति भइरहे ।

बीपी २००९ जेठ १०-१३ मा जनकपुरमा भएको पाँचौँ महाधिवेशनबाट मात्र पहिलो पटक सभापतिमा निर्वाचित भएका थिए । त्यति बेला पार्टीमा बीपी गुट र मातृका गुटबीच टकराब थियो । यो महाधिवेशनपछि पार्टीले निवर्तमान सभापति तथा प्रधानमन्त्री मातृकालाई कारबाही गरेर पार्टीबाट निकाल्दा कांग्रेस विभाजन भएको थियो ।

उनले छैटौँ महाधिवेशनमा नेतृत्वको आकांक्षा राखेनन् । तर, २०१३ सालमा भदौ–असोजमा मातृकाको नेपाल प्रजा पार्टी र नेपाली कांग्रेसको एकता भएपछि सुवर्णले पार्टी सभापतिबाट राजीनामा दिए । तर, एकताबद्ध पार्टीको नेतृत्व बीपीले गर्नुपर्ने भन्दै उनीसँगको सल्लाहमा नै सुवर्णले सभापति पदबाट राजीनामा दिएका थिए । त्यसपछि २०१४ जेठ ११ र १२ गते विराटनगरमा भएको विशेष महाधिवेशनबाट बीपी फेरि सभापति भए ।

कालक्रममा कांग्रेस -५
…अनि कांग्रेस ‘समाजवादी’ भयो

२०१७ वैशाख २५ देखि ३१ सम्म भएको सातौँ महाधिवेशनबाट पनि उनी सभापति निर्वाचित भए । प्रधानमन्त्री पनि रहेका उनलाई भूदेव राईले चुनौती दिए पनि भारी बहुमतले उनी सभापतिमा विजयी भए । तर, राजा महेन्द्रको ‘कू’ पछि उनी पुस १ बाट जेल परे । त्यसपछि उनको मृत्युपर्यन्त सुवर्णशमशेर र कृष्णप्रसाद भट्टराईले कार्यवाहक सभापति भएर पार्टी चलाए । उनी भने सभापतिमा कायम रहिरहे ।

३. मातृकाप्रसाद कोइराला : कार्यवाहक सभापतिदेखि पार्टी फुटसम्म
मातृकाप्रसाद कोइराला नेपाली राष्ट्रिय कांग्रेस स्थापना हुँदा यो पार्टीमा संलग्न थिएनन् । सभापति टंकप्रसाद आचार्य जेलमा हुँदा नै कार्यवाहक सभापति बीपी कोइराला पनि पक्राउ परे । यो अवस्थामा नेपाली राष्ट्रिय कांग्रेसको २००३ चैत २७ र २८ मा जोगवनीमा भएको सम्मेलनले मातृकालाई कार्यवाहक सभापति बनाएको थियो । उनी पार्टी सदस्य र कार्यवाहक सभापति एकै पटक भएका थिए ।

उनी मजदुर आन्दोलनमा पक्राउ परेकाहरूको रिहाइका लागि सत्याग्रह आन्दोलन गर्ने र आन्दोलन अवधिभरि मात्र सभापति बन्ने सर्तमा नेतृत्वमा आएका थिए । आन्दोलन चलिरहेको बेला पद्यशमशेरले २००४ जेठ ३ मा वैधानिक सुधारको घोषणा गरे । नेपाली राष्ट्रिय कांग्रेसले जेठ २० मा सत्याग्रह स्थगित गरेपछि उनले पनि राजीनामा गरे । उनको ठाउँमा डिल्लीरमण रेग्मी कार्यवाहक सभापति भए ।

पछि बीपी कोइराला आन्दोलन हाँक्न २००५ कात्तिकमा काठमाडौँ आउँदा गिरफ्तारीमा परेपछि मातृका २००५ फागुन १८ मा दरभङ्गमा भएको तेस्रो अधिवेशनबाट पुनः कार्यवाहक सभापति भएका थिए । २००६ जेठ १६ मा बीपी जेलबाट रिहा भएपछि पनि मातृका नै कार्यवाहक सभापति भइरहे ।

राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेसको एकतापछि २००६ चैत २७ मा बनेको नेपाली कांग्रेसको पनि मातृका नै सभापति भए । बीपीलाई सभापति बनाउने गणेशमान सिंहको प्रस्ताव थियो । तर, महावीरशमशेरले आपत्ति जनाएका थिए । नेपाली राष्ट्रिय कांग्रेसका सभापति नै नयाँ पार्टीको सभापति हुने सहमति भएकाले बीपीले मातृकालाई सभापति हुन सहयोग गरे ।

कालक्रममा कांग्रेस- ६
बीपीको मेलमिलाप नीति : झन्डै गयो उनकै ज्यान

जनकपुरमा २००९ जेठ १०–१३ मा पाँचौँ महाधिवेशनबाट बीपी सभापतिमा निर्वाचित भए । यतिबेला बीपी र मातृका समूहको पार्टीमा अन्तर द्वन्द्व थियो । त्यही कारण प्रधान मन्त्रीसमेत रहेका मातृकालाई बीपी समूहले पार्टीबाट निष्कासन गर्‍यो । मातृकाले २०१० वैशाख १६ मा आफ्नै नेतृत्वमा ‘राष्ट्रिय प्रजा पार्टी’ को स्थापना गरेका थिए ।

४. सुवर्णशमशेर : संकटका सभापति
सुवर्ण र महावरशमशेरको पहलमा २००४ साउन १ मा कलकत्तामा नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना भएको थियो । उक्त पार्टीको सभापति महेन्द्रविक्रम शाह र महामन्त्री सूर्यप्रसाद उपाध्याय थिए । पार्टी सदस्यमा सुन्दरराज चालिसे, ऋषिकेश शाह, थिरबम मल्ल र जीबी याक्थुम्बा थिए । उनले पार्टीलाई आर्थिक रूपमा ठूलो भरथेग गरेका थिए । भन्दा सुवर्णशमशेर कांग्रेसलाई करोडौँ रकम उपलब्ध गराएका थिए । पार्टीलाई आर्थिक रूपमा भरोसा दिने उनै थिए । उनकै आर्थिक सहयोगमा २००७ सालको क्रान्ति भएको थियो ।

तैपनि उनले नेतृत्वमा बस्ने लोभ देखाएका थिएनन् । नेपाली राष्ट्रिय कांग्रेससँग एकतापछि नेपाली कांग्रेस स्थापना हुँदा पनि उनले नेतृत्वको लोभ देखाएनन् ।
नेपाली कांग्रेसको वीरगञ्जमा २०१२ माघ १०–१२ मा भएको छैटौँ महाधिवेशनबाट भने उनी सभापति निर्वाचित भए । सुवर्णशमशेर र गणेशमान सिंहले सभापतिका लागि प्रतिस्पर्धामा थिए । सुवर्णशमशेरले २३६ मत पाएर सभापतिमा निर्वाचित हुँदा गणेशमानले १७२ मत मात्र पाए ।

सभापति भएपछि सुवर्णले मातृकाप्रसाद कोइरालाको नेपाल प्रजा पार्टीलाई नेपाली कांग्रेससँग एकता गराउने सफलता हात पारे । २०१३ सालको भदौ-असोजमा नेपाल प्रजा पार्टी र नेपाली कांग्रेसको एकता भयो । एकताबद्ध पार्टीको सभापति बीपी नै हुनुपर्छ भनेर उनले सभापतिबाट राजीनामा दिए ।

कालक्रममा कांग्रेस- ७
कृष्णप्रसादको त्यो चर्चित हार र गिरिजाप्रसादको उदय

तत्कालीन राजा महेन्द्रले २०१७ पुस १ गते ‘कू’ गरेर सभापति तथा प्रधानमन्त्री रहेका बीपीलाई थुनेपछि सुवर्णशमशेर कार्यवाहक सभापति भए । २०१७ माघ १२ देखि १४ सम्म पटनामा भएको विशेष सम्मेलनबाट उनी कार्यवाहक सभापति भएका थिए । २०२५ सालमा बीपी जेलबाट निस्किएपछि पनि उनको कार्यवाहक सभापतिको पद कायम रह्यो । २०३४ सालसम्म मृत्युपरन्त उनी कार्यवाहक सभापति थिए ।

५. कृष्णप्रसाद भट्टराई : १४ वर्षको कार्यवाहकपछि सभापति
कृष्णप्रसाद भट्टराई नेपाली राष्ट्रिय कांग्रेसको स्थापनाअघि बाटै राजनीतिमा सक्रिय थिए । उनी भारतीय स्वतन्त्रता संग्राममा समेत भाग लिएर जेल परिसको थिए ।

बनारस हिन्दु विश्वविद्यालयमा अध्ययनरत नेपालीहरूले ‘नेपाली छात्र संघ’ स्थापना गर्दा उनी उपाध्यक्ष थिए । नेपाली राष्ट्रिय कांग्रेस स्थापनाअघि खुलेको पूर्ववर्ती दल अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको महामन्त्री थिए । नेपाली राष्ट्रिय कांग्रेसको भने उनी संस्थापक हुन् । तर, उनले पार्टीको ‘कमान्डर’ नै बन्ने मौका भने निकै ढिलो मात्र पाए ।

बीपीले २०२९ सालदेखि सुरु गरेको सशस्त्र आन्दोलन असफल भयो । २०३३ सालमा बीपी आफैँ राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आए । २०३४ सालमा कार्यवाहक सभापति रहेका सुवर्णशमशेरको निधन भयो । सुवर्ण, बीपीको सशस्त्र संघर्षसँग असहमत थिए । उनको मृत्युपछि सशस्त्र संघर्षसँग असहमत अर्का नेता कृष्णप्रसाद भट्टराईलाई नै बीपीले कार्यवाहक सभापति बनाए । त्यसपछि २०३९ सालमा बीपीको मृत्यु भएपछि पनि भट्टराई नै कार्यवाहक सभापति रहे । कार्यवाहक सभापति भएर उनले लगातार १४ वर्ष पार्टीलाई नेतृत्व दिए ।

कालक्रममा कांग्रेस-८
गिरिजाले यसकारण भनेका थिए- माले, मण्डले र मसाले एकै हुन्

पञ्चायत ढलेपछि २०४६ सालमा उनी प्रधानमन्त्री भए । तर, २०४८ सालको निर्वाचनमा उनी एमालेका तत्कालीन महासचिव मदन भण्डारीसँग काठमाडौँ क्षेत्र नं. १ बाट पराजित भए । त्यही वर्षको फागुन १ देखि ३ सम्म भएको आठौँ महाधिवेशनमा उनी सभापतिमा निर्विरोध निर्वाचित भए । २०५३ सालमा भएको नवौँ महाधिवेशनसम्म उनी कायम रहे ।

६. गिरिजाप्रसाद कोइराला : लगातार तीन महाधिवेशनमा सभापति
गिरिजाप्रसाद कोइराला पार्टी स्थापनाकालदेखि नै बीपीका सहयोगी थिए । उनी २००७ सालको क्रान्ति र त्यसपछि पनि पार्टीमा प्रभावशाली नै थिए । यद्यपि, उनी कनिष्ठ नेता थिए । उनले २००७, २०१८ र २०२९ सालका तीनवटै सशस्त्र आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

२०२९ सालमा बीपीले सशस्त्र संघर्षको सुरुवात गर्दा फारबेसगञ्जमा गिरिजाप्रसादले नै क्याम्प राखेका थिए । त्यहाँ मुक्ति सेनाको एउटा र अर्को राजनीतिक क्याम्प थिए । राजनीतिक क्याम्पको नेतृत्व गिरिजाले गरेका थिए ।

गिरिजाप्रसाद २०३४ सालमा कांग्रेस महामन्त्री भएका थिए । तर, उनको महामन्त्री नियुक्ति विवादास्पद भएको थियो । बीपीले सुवर्णशमशेरसँगको समझदारी अनुसार दुवै पक्षको समूह बनाइ केन्द्रीय समिति बनाएर जेलबाट पठाएको चिठी केन्द्रीय कार्यसमिति बैठकमा नदिई लुकाएको आरोप उनीमाथि लागेको थियो । उक्त पत्रमा कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापति र परशुनारायण चौधरी तथा गिरिजाप्रसाद कोइरालालाई महामन्त्री बनाइएको कुरा सुवर्ण समूहले अस्वीकार गरेको थियो । उनीहरूको भनाइमा पत्रमा, चौधरीले महामन्त्री अस्वीकार गरे मात्र गिरिजाप्रसादलाई बनाउने कुरा उल्लेख थियो ।

तर, गिरिजाले २०३४ पुस २८ मा वक्तव्य जारी गरी भट्टराई कार्यवाहक भएको कुरा जानकारी दिँदै आफूलाई महामन्त्रीको रूपमा प्रस्तुत गरे । फेरि माघ २ गते अर्को वक्तव्य दिई आफू नेपाली कांग्रेसको महामन्त्री भएको घोषणा नै गरे । तर, माघ ५ गते अर्का नेता गजेन्द्रनारायण सिंहले वक्तव्य जारी गरी गिरिजाले आफूलाई महामन्त्री घोषणा गरेर पार्टी निर्णयको अवज्ञा गरेको उल्लेख गरे । यसरी गिरिजा विवादकैबीच महामन्त्री भएका थिए ।

कालक्रममा कांग्रेस-९
कांग्रेसबाट किन बाहिरिएका थिए गणेशमान ?

महामन्त्री भएको १९ वर्षपछि २०५३ वैशाख २६-२८ मा काठमाडौँमा भएको नवौँ महाधिवेशनबाट उनी सभापति निर्वाचित भए । उक्त महाधिवेशनमा गिरिजासँग चिरञ्जीवी वाग्ले र रामहरि जोशीले प्रतिस्पर्धा गरेका थिए । कुल खसेको १४१० मतमध्ये गिरिजाप्रसादले ११४४, वाग्लेले २५४ र जोशीले १२ मत पाए ।

२०५७ माघ ६-९ मा पोखरामा भएको दशौँ महाधिवेशनबाट पनि उनी सभापतिमा निर्वाचित भएका थिए । उक्त महाधिवेशनमा सभापतिका लागि गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशीबीच प्रतिस्पर्धा भएको थियो। गिरिजा ९३६ मतसहित विजयी हुँदा देउवाले ५०७ र जोशीले १० मत पाएका थिए । तर, त्यसको दुई वर्षपछि नै कांग्रेस विभाजन भएको थियो ।

कांग्रेसको ११औँ महाधिवेशनबाट पनि कोइराला नै सभापति भए । २०६२ भदौ १४–१७ ललितपुरमा भएको महाधिवेशनमा गिरिजासँगै नरहरि आचार्य उम्मेदवार थिए । कोइरालाले एक हजार २१५ मत पाउँदा आचार्यले १६५ मत मात्र पाए । पछि २०५४ सालमा दुई कांग्रेसबीच एकता भएपछि २०६४ असोज ७ गते ललितपुरमा भएको सम्मेलनबाट पनि गिरिजाप्रसाद कोइराला सभापति भएका थिए ।

७. सुशील कोइराला : कोइराला परिवारबाट तेस्रो सभापति
नवौँ महाधिवेशन २०५३ वैशाख २६-२८ मा सभापतिमा गिरिजाप्रसाद कोइराला निर्वाचित भएपछि उनले सुशील कोइरालालाई महामन्त्री मनोनीत गरेका थिए । पहिलो पटक प्रत्येक विकास क्षेत्रबाट एक-एक जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्थाअनुसार सुशील कोइराला मध्य पश्चिमाञ्चलबाट निर्वाचित भएका थिए ।

दशौँ महाधिवेशन (२०५७ माघ ६-९) मा पहिलोपटक केन्द्रीय कार्यसमितिका ५० प्रतिशत सदस्य निर्वाचित गर्ने प्रावधान राखिएपछि १८ जना सदस्यको पनि निर्वाचन भयो । ती निर्वाचित हुनेमा सुशील पनि थिए । सभापति निर्वाचित गिरिजाप्रसादले पुनः महामन्त्रीमा सुशील कोइरालालाई मनोनीत गरेका थिए ।

११औँ महाधिवेशन (२०६२ भदौ १४-१७) हुँदा कांग्रेस विभाजित थियो । उक्त महाधिवेशनबाट गिरिजाप्रसाद तेस्रोपटक सभापति बन्दा सुशील उपसभापतिमा मनोनीत भएका थिए । २०६४ सालमा दुई कांग्रेसको एकतापछि भने उनी कार्यवाहक सभापति बने ।

काठमाडौँमा २०६७ असोज १-५ मा भएको १२औँ महाधिवेशनबाट बल्ल उनी सभापति निर्वाचित भए । उक्त महाधिवेशनमा सभापतिका लागि सुशील र शेरबहादुर देउवाबिच प्रतिस्पर्धा भएको थियो । सुशील १६५२ मतसहित निर्वाचित हुँदा देउवाले १३१७ मत पाएका थिए । तेस्रो धारका भीमबहादुर तामाङले ७८ मत पाए । २०७२ फागुन २० गते १३औँ महाधिवेशन सुरु हुनु २५ दिनअघि कोइरालाको निधन भएको थियो ।

८. शेरबहादुर देउवा : तेस्रो प्रयासमा सभापति
२०५२ सालमा प्रधानमन्त्री हुँदा शेरबहादुर देउवा ४९ वर्षका ‘युवा’ थिए । पार्टीमा उनले आफ्नो प्रभाव देखाउन थालिसकेका थिए । तर, गिरिजाप्रसाद कोइरालाको ‘टावरिङ फिगर’लाई चुनौती दिन सजिलो थिएन । पोखरामा भएको दशौँ महाधिवेशन (२०५७ माघ ६-९) मा उनले पहिलो पटक सभापतिका लागि गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका थिए । तर, कोइराला ९३६ मतसहित विजयी हुँदा देउवाले ५०७ मत पाए । अर्का प्रतिस्पर्धी रामहरि जोशीले १० मत पाए ।

२०५९ सालमा नेपाली कांग्रेस विभाजन भयो । प्रधानमन्त्री रहेका देउवाले पार्टी निर्णय विपरीत संसद् विघटन गरेको भन्दै कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । त्यसपछि देउवाले आफ्नै नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाएका थिए ।

२०६४ असोज ७ गते ललितपुरमा भएको सम्मेलनबाट दुई कांग्रेसबीच फेरि एकता भयो । गिरिजाप्रसाद कोइराला सभापति र शेरबहादुर देउवा वरिष्ठ नेता भए । त्यसको तीन वर्षपछि २०६७ असोज १-५ मा काठमाडौँमा भएको १२औँ महाधिवेशनमा भने सभापतिका लागि सुशील कोइराला र शेरबहादुर देउवाबिच प्रतिस्पर्धा भएको थियो । यो महाधिवेशनबाट सभापतिमा सुशील कोइराला १६५२ मतसहित निर्वाचित हुँदा देउवाले १३१७ मत मात्र पाए ।

तर, २०७२ फागुन २०-२३ मा काठमाडौँमा भएको १३औँ महाधिवेशनमा भने देउवालाई सफलता मिल्यो । यो महाधिवेशनमा देउवा र रामचन्द्र पौडेलबीच सभापतिका लागि प्रतिस्पर्धा भएको थियो । देउवा १८२२ मत पाएर विजयी हुँदा पौडेलले भने १२९६ मत पाए । यसअघि पहिलो चरणको मतदानमा देउवाले १५६४, पौडेलले ११६० र कृष्णप्रसाद सिटौलाले ३२४ मत पाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *