कालक्रममा कांग्रेस-९

कांग्रेसबाट किन बाहिरिएका थिए गणेशमान ?

काठमाडौँ । गणेशमान सिंह विसं. २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस पार्टीको संस्थापक नेता थिए । २००६ सालमा नेपाल प्रजातन्त्र कांग्रेससँग एकता गरी नेपाली कांग्रेस स्थापना गर्दा पनि उनी सक्रिय र महत्वपूर्ण नेता थिए । चाहे राणा शासनविरुद्धको आन्दोलनमा होस् वा पञ्चायतविरोधी आन्दोलनमा, गणेशमानको भूमिका सधैँ अग्रणी थियो ।

तर, उनी कहिल्यै पदको लोभी भएनन् । २०४६ सालको जनआन्दालनमा उनी सर्वोच्च कमान्डर थिए । जनआन्दोलनपछि उनैलाई प्रधानमन्त्री हुन आग्रह गरिएको थियो । तर, त्यसलाई उनले अस्वीकार गरे । २०४८ सालको निर्वाचनमा पनि उनले उम्मेदवार बन्न अस्वीकार गरे । उक्त निर्वाचनपछि महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । त्यसको तीन वर्षपछि नै गणेशमान सिंहले सदाका लागि कांग्रेस छाडे ।

कालक्रममा कांग्रेस -१
नेपाली कांग्रेस : स्थापनाको ७५ वर्ष, १३ महाधिवेशन, आठ जनाको नेतृत्व

उनले कांग्रेस पार्टीमा ४८ वर्ष बिताए । तर, कांग्रेस छाड्दा भने उनले चित्त दुखाएर बाहिरिनुपरेको थियो । गिरिजाप्रसाद कोइरालाले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको दिन २०५१ भदौ २७ मा नै गणेशमानले कांग्रेस परित्यागको घोषणा गरेका थिए । त्यसको चार दिनपछि ३१ भदौमा पत्रकार सम्मेलन गरी ७९ वर्षीय गणेशमानले कांग्रेस परित्यागबारे जानकारी दिँदै पार्टीलाई औपचारिक पत्र पठाउने बताएका थिए । उनी प्रतिनिधि सभा विघटनको विपक्षमा थिए । उनले विघटन गर्ने निर्णय भएलगत्तै पनि त्यसविरुद्ध वक्तव्य दिएका थिए ।

वास्तवमा गणेशमानलाई त्यो अवस्थामा पुर्‍याउने गिरिजाप्रसाद कोइराला नै थिए । गिरिजाप्रसाद नेतृत्वको सरकारसँग गणेशमान खुसी थिएनन् । उनले पार्टीको सल्लाह नमानेको र भ्रष्टाचार बढाएको आरोप लगाइरहन्थे । तर, गिरिजाप्रसादले गणेशमानको कुनै कुरा पनि सुनेनन् । बरु पार्टीमा अपमानित गरे ।

कालक्रममा कांग्रेस-२
२००७ सालको क्रान्ति : सुवर्णको सशस्त्र संघर्षको नीतिमा बीपी सहमत, गिरिजाको विरोध

गणेशमान र गिरिजाप्रसादको टकराव २०३९ सालदेखि नै सुरु भएको थियो । बीपीको मृत्युपछि गणेशमान शान्तिपूर्ण आन्दोलनको पक्षमा थिए । तर, कोइराला सुधारिएको पञ्चायतमा राजासँग मिलेर जानुपर्ने मतमा थिए । त्यसलाई उनी ‘बीपीको मेलमिलाप नीति’ भन्ने गर्थे । तर, त्यसबाट प्रजातन्त्र प्राप्ति नहुने गणेशमानको अडान थियो ।

पछि गणेशमानकै लाइनअनुसार प्रजातन्त्र बहाली भयो । २०४८ सालको निर्वाचनमा गणेशमान उम्मेदवार भएनन् भने कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईले चुनाव हारे । जसले गर्दा गिरिजाप्रसादलाई प्रधानमन्त्री हुने बाटो खुल्यो । तर, उनको शैलीप्रति गणेशमान सुरुदेखि नै रुष्ट थिए । पार्टीमा नातावाद भित्र्याएको, भ्रष्टाचारीको संरक्षण गरेको, विकृति भित्र्याएको, जनताको अपेक्षाअनुसार काम नगरेको उनको आरोप थियो । यसले पार्टीभित्र विवाद निम्त्याएपछि तीन शीर्ष नेताको बैठक बस्दै सम्झौता हुन्थ्यो, तर गिरिजाप्रसाद त्यसलाई लागू गर्दैन थिए ।

कालक्रममा कांग्रेस-३
यसरी असफल भए पञ्चायतविरुद्ध कांग्रेसले गरेका दुईवटा सशस्त्र आन्दोलन

२०५१ मा भएको मध्यावधि निर्वाचनमा कृष्णप्रसाद भट्टराईको हारले पनि पार्टीमा विवाद बढाएको थियो । उक्त निर्वाचनमा प्रधानमन्त्री तथा पार्टी महामन्त्री गिरिजाको भूमिका नकारात्मक हुँदा भट्टराईले हार्नुपरेको कार्यकर्ताहरुमाझ स्पष्ट भइसकेको थियो । निर्वाचनपछि कतिपय कार्यकर्ताले गिरिजाविरुद्ध सडक आन्दोलन नै गरेका थिए । उनीहरुले पार्टी कार्यालयबाट गिरिजाप्रसादको फोटो बाहिर निकालेर जुत्ताको माला लगाएर कालो मोसो दलेका थिए । पार्टीमा छत्तिसे र चौरहत्तरे सांसदको गुटबीच चर्को द्वन्द्व थियो ।

भट्टराई समूहको आन्दोलनविरुद्ध कोइराला समूहले पनि आन्दोलन गरेको थियो । कोइरालाले आफ्ना पक्षका कार्यकर्ता भेला गर्ने कार्यको व्यवस्थित सुरुवात गरेका थिए । उनले आफ्नै निवास महाराजगन्जमा छुट्टै कार्यालय बनाएका थिए ।

यसले कांग्रेसभित्र कृष्णप्रसाद–गणेशमान र गिरिजा गुटबीच द्वन्द्व बढेको थियो । यसै बेला पार्टी, प्रजातन्त्र जोगाउँदै समाजवादतर्फ बढ्न सरकार बदलिन सक्ने गणेशमानले बताएका थिए ।

कालक्रममा कांग्रेस-४
बीपीको हत्या प्रयास गर्ने भरतशमशेर यसरी लागे कांग्रेसतिरै

किनभने, गणेशमानको मौखिक र लिखित सुझाव मात्र होइन आलोचनाले पनि गिरिजाप्रसादलाई केही फरक पर्दैन । गणेशमान भन्थे, ‘मानिसहरू नेपाली कांग्रेसको सरकार छ भन्छन् । म सर्वोच्च नेता भएपछि सरकारले गरेका नराम्रा कामको जवाफ पनि मैले दिनुपर्छ । मनपरी काम हुने र अपजस मैले भोग्नुपर्ने ?’

पार्टीमा आचारसंहिता पालना नभएकोमा उनी चिन्तित थिए । उनले भनेका थिए, ‘अत्यन्त निन्दनीय पेशा मानिएको चोर डाँकाहरूमा समेत अनुशासन, नैतिकता र समझदारी हुन्छ । उनीहरू लुटेर ल्याएको सामानको भागबण्डा गर्दा आफ्नो सदस्यको अनुपस्थितिमा पनि उसको हिस्सा छुट्याउन भुल्दैनन् । अनुशासन र समझदारीको त्यो पाठ एक समूहमा बाँच्ने सबैले सिक्नुपर्छ ।’ सरकार एकलौटी र मनपरी चलाउन थालेपछि गिरिजाप्रसादलाई लक्षित गरेर उनले यसो भनेका थिए ।

यसैबीच राष्ट्रियता र प्रजातन्त्र खतरामा परेको महसुस गरी गणेशमानले २०५० को अन्ततिरबाट ‘जनजागरण अभियान’ सुरु गरे । उनी कार्यकर्तासँग भेटघाट र अन्तरक्रियाका लागि जिल्ला भ्रमणमा निस्किए । उनले विराटनगरमा गरेको भाषणमा संसद गालीगलौज, मारपिट र माइक भाँच्ने क्रियाकलापले ‘भट्टी’जस्तो भएको बताएका थिए । यो परिस्थिति आउनुमा सत्तापक्ष र प्रतिपक्ष दुवै जिम्मेवार रहेको उनले बताए ।

कालक्रममा कांग्रेस -५
…अनि कांग्रेस ‘समाजवादी’ भयो

उनले भनेका थिए, ‘मैले हाम्रो सरकार गठन हुनेबित्तिकै भनेको थिएँ- अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाउनुपर्छ । नियुक्तिमा पार्टीको टिकट पाएर चुनाव हारेकाहरूलाई दोहोरो अवसर दिनु हुँदैन । जातीय सन्तुलन कायम गर्नुपर्छ । शान्तिसुरक्षा हरहालतमा कायम गर्नैपर्छ र महङ्गी घटाउन नसके पनि बढ्न दिनुहुँदैन । तर ‘प्रथम ग्रासे मक्षिकापातः’ भनेजस्तै राजदूत नियुक्तिमा सात पदमा ६ जना ब्राह्मण परे । मैले त्यसको विरोध गरेँ । एउटा जातलाई मात्र महत्व दिनु ठीक हुँदैन, सबैलाई समान गर्नुपर्छ ।’

गिरिजाप्रसादलाई राजीनामा गराउन सभापति कृष्णप्रसाद भट्टराईले बाध्य नपारेको र चुनावमा अन्तरघात गर्दा कारवाही नगरेकोमा गणेशमान, भट्टराईप्रति पनि रुष्ट थिए । २०५१ जेठ १२ गते पाँचथरको फिदिममा भएको कार्यक्रममा पनि उनले पार्टी र सरकारको कार्यशैलीको कठोर आलोचना गरेका थिए । तर, बोल्दाबोल्दै उनीमाथि मञ्चमा नै आक्रमण भयो । गिरिजाको पक्षमा रहेका नेविसंघका जिल्ला सभापति राजेन्द्र नेम्वाङलगायतले मञ्चमा ढुंगामुढा गर्नुका साथै माइक खोसेर तार काटिदिएका थिए । उनीहरुले सभामा अवरोध गरेका थिए ।

कालक्रममा कांग्रेस- ६
बीपीको मेलमिलाप नीति : झन्डै गयो उनकै ज्यान

त्यहाँबाट चितवन फर्केर काठमाडौँ आउने क्रममा भरतपुर विमानस्थलमा षडयन्त्रपूर्वक गणेशमानलाई कुर्सीबाट लडाइयो । उनी काठमाडौँ आएर पोखराको महासमिति बैठकमा भाग लिन जाने कार्यक्रम थियो । बैठकमा उनले गिरिजाको राजीनामा माग्ने योजना बनाएका थिए ।

उनलाई त्यहाँसम्म जान रोक्न यसरी षडयन्त्रपूर्वक लडाइएको थियो ।

भरतपुरमा कार्यकर्ताको दुई दिने भेला सकेर उनी असार ६ गते ११ बजे विमानस्थल पुगेका थिए । त्यहाँको प्रतिक्षालयमा गणेशमानका लागि घुम्ने कुर्सी राखिएको थियो । तर, कुर्सीको पछाडिको खुट्टामा चक्का थिएन । गणेशमान त्यहाँ बस्नेबित्तिकै मेचसहित भुईंमा लडे । ७९ वर्षका गणेशमान गम्भीर घाइते भए ।

काठमाडौँका मेयर पीएल सिंहले तत्कालै सैनिक हेलिकोप्टर पठाएर काठमाडौँ ल्याए । उनको वीर अस्पतालमा उपचार गरिएको थियो । यो दुर्घटनापछि गणेशमानको स्वास्थ्य कहिल्यै पनि पहिला जस्तो भएन ।

कालक्रममा कांग्रेस- ६
बीपीको मेलमिलाप नीति : झन्डै गयो उनकै ज्यान

पार्टीभित्रबाट दबाब बढेपछि गिरिजा समस्यामा थिए । संसद्‌मा राजालाई धन्यवाद दिने प्रस्ताव पारित नभएपछि उनले संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरे । यो घोषणाको एमालेले मात्र नभई पार्टीभित्रै सभापति भट्टराई र गणेशमानले पनि विरोध गरे । यसविरुद्ध मुद्दा पर्‍यो । तर, २०५१ भदौ २७ मा कोइरालाकै पक्षमा फैसला भएपछि गणेशमानले त्यही दिन पार्टी छाडेको घोषणा गरे ।

पार्टी परित्यागका सन्दर्भमा उनले केही गम्भीर आरोप लगाएका थिए । नेपाली कांग्रेसले आफ्नो विचार र भावनाको कदर नगरेको, पार्टीभित्रैबाट भएका प्रजातन्त्र विरोधी र तानाशाही खालका कार्यहरूबाट आफू असन्तुष्ट रहेको, पार्टी सभापति कृष्णप्रसाद भट्टराईबाट गिरिजासँग मतियारको भूमिका निर्वाह गरिएको उनको आरोप थियो । विभिन्न जिल्लामा भएका पार्टी विवाद नसुल्झाएसम्म र कोइराला नेतृत्वको सरकार कायम रहेसम्म आफू पार्टीमा नफर्कने तर, राजनीतिबाट सन्यास लिएर चुपचाप पनि नबस्ने उनले बताएका थिए । त्यसपछि कांग्रेसमा मात्र नभई देशकै राजनीतिमा गिरिजाप्रसाद झन् शक्तिशाली हुँदै गए । गणेशमान कहिल्यै पार्टीमा फर्किएनन् ।

पार्टी त्याग गरेको करिब डेढ महिनापछि २०५१ कात्तिक १४ गते गणेशमान सिंहले ‘मेरो आह्वान’ शीर्षकको पुस्तिका प्रकाशन गरे । उक्त शीर्षकमा आठवटा उपशीर्षक छन्‚ जसमा एउटा ‘मैले कांग्रेस किन छाडेँ ?’ भन्ने छ । त्यहाँ उनले भनेका छन्, ‘विवेकशून्य भावुकतामा बगेर नेपाली कांग्रेसको प्राणहीन साइनबोर्डको पछि लाग्नुभन्दा देश, जनता, प्रजातन्त्र र शहीदहरूप्रतिको आफ्नो कर्तव्य पूरा गर्न उचित ठानेर आफ्नो अन्तरात्माको आवाजबमोजिम मैले नेपाली कांग्रेसबाट अलग हुने निर्णय गरेको हुँ । यद्यपि, हाल हावी भएका सम्पूर्ण अप्रजातान्त्रिक शक्ति, प्रवृत्ति र विकृतिहरूलाई निर्मूल गरेर आफ्नो सिद्धान्त, आदर्श र पुरानो संघर्षशील चरित्रलाई आत्मसात् गर्न सक्ने हो भने नेपाली कांग्रेस फेरि प्रजातन्त्रको मूलधार बन्न नसक्ने होइन, तर त्यसका लागि पनि यसको पूरै कायाकल्प गरिनुपर्छ र त्यसको पहिलो चरण हो– आसन्न मध्यावधि निर्वाचनमा गिरिजा प्रवृत्तिको सम्पूर्ण पराजय ।’

कालक्रममा कांग्रेस- ७
कृष्णप्रसादको त्यो चर्चित हार र गिरिजाप्रसादको उदय

खासमा उनले गिरिजाप्रसाद पक्षका कांग्रेस उम्मेदवारलाई पराजित गर्न आह्वान गरेपछि ६७ जिल्लामा विद्रोही उम्मेदवार खडा गरिएका थिए । उनले एक वक्तव्य निकालेर विद्रोही उम्मेदवारलाई सघाउन अपील पनि गरे । तर, केही उम्मेदवारले मात्र जित हासिल गर्न सके ।

बरु ती उम्मेदवारका कारण धेरै ठाउँमा कांग्रेस पराजित भयो । उक्त निर्वाचनमा कांग्रेसले २०५ मध्ये ८३ स्थानमा जित हासिल गरेको थियो ।

यो नतिजा पछि गणेशमानको यो निर्णयले अन्तत पार्टीका उम्मेदवार हारेको र यसले समग्रमा पार्टीलाई नै घाटा पुगेको भनेर उनको आलोचना पनि भयो ।

कालक्रममा कांग्रेस-८
गिरिजाले यसकारण भनेका थिए- माले, मण्डले र मसाले एकै हुन्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *