कालक्रममा कांग्रेस-३

यसरी असफल भए पञ्चायतविरुद्ध कांग्रेसले गरेका दुईवटा सशस्त्र आन्दोलन

काठमाडौँ । नेपाली कांग्रेसको नेतृत्वमा भएको २००७ सालको सशस्त्र क्रान्ति सफल भएको थियो । त्यही आन्दोलनबाट १०४ वर्षीय राणा शासन पल्टियो । नेपाली कांग्रेस सरकारको सहयोगीको रूपमा र नेतृत्व गरेर पनि पटक-पटक सरकारमा गयो । २०१५ सालमा भएको आमनिर्वाचनमा दुईतिहाई बहुमत ल्याएपछि बीपी कोइराला नेतृत्वमा सरकार बन्यो ।

तर, उनको सरकार करिब डेढ वर्षमात्र रह्यो । तत्कालीन राजा महेन्द्रले ‘कू’ गरी सत्ता हातमा लिए । तत्कालीन प्रधान मन्त्री बीपी कोइराला, सभामुख कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसहित अधिकांश नेता र मन्त्रीलाई जेल हाले । कांग्रेसका करिब २५० नेता, कार्यकर्ता पक्राउ परेका थिए । सुवर्णशमशेर भने उपचारका लागि भारत गएकाले गिरफ्तारी हुनबाट बचे ।

अधिकांश नेता जेल परेपछि कांग्रेस मुर्छित भएको थियो । तर, सुवर्णशमशेरले पार्टीलाई मुर्छित अवस्थामा नै रहिरहन दिएनन् ।

उनले २०१७ माघ १२ देखि १४ सम्म भारतको पटनामा कांग्रेसको विशेष सम्मेलन बोलाए । यो सम्मेलनमा अन्य पार्टीका नेता पनि नपाली कांग्रेसमा प्रवेश गरे । यसरी प्रवेश गर्नेमा विघटित संसद्‌मा नेपाल राष्ट्रवादी गोरखा परिषद्का प्रमुख सचेतक सुरेन्द्रप्रसाद उपाध्याय, नेपाल प्रजा परिषद् (मिश्र)का अध्यक्ष भद्रकाली मिश्र, संयुक्त प्रजातन्त्र पार्टी नेपालका महा मन्त्री काशीप्रसाद श्रीवास्तव, तराई कांग्रेसका महा मन्त्री रामजनम तिवारीलगायत थिए ।

यो सम्मेलनले तीनवटा माग प्रस्तुत गर्दै नेपाली कांग्रेसलाई साथ दिन जनतालाई आह्वान गरेको थियो । ती माग थिए- पुस १ को शाही कदम फिर्ता लिनुपर्ने, राजबन्दी रिहा गर्नुपर्ने र विघटित संसद् पुनः स्थापना गर्नुपर्ने । यदि माग पूरा नभए सशस्त्र आन्दोलन गर्ने घोषणा पनि सम्मेलनमा भयो । उक्त आन्दोलनका लागि नीति र कार्यक्रम निर्धारणको सम्पूर्ण अधिकार नवनियुक्त कार्यवाहक सभापति सुवर्णशमशेरलाई दिइयो ।

सशस्त्र आन्दोलन घोषणा गरे पनि कांग्रेसले त्यसको सुरुवात गरिहाल्न सकेको थिएन । यहीबीच भरतशमशेरले नेपाल राष्ट्रवादी गोरखा परिषद्‌मा विलय गराए । उनी हिंसात्मक पृष्ठभूमिबाट उदाएका नेता थिए ।

राजाले कांग्रेसको मागमा कुनै प्रतिक्रिया नजनाउँदा कांग्रेसमा भरतशमशेरको उग्रवादी छविको प्रभाव बढ्न थाल्यो । त्यसलाई धान्न पनि मुस्किल भइरहँदा सुवर्णशमशेरले २०१८ कात्तिक २६ गते ‘क्रान्ति दिवस’को दिन पारेर सशस्त्र आन्दोलन सुरु गर्ने घोषणा गरे ।

यति नै बेला रामराजप्रसाद सिंहले पनि क्युबेली क्रान्तिका नायक चेग्वेभारा र उनको समूह ल्याएर नेपालमा राजतन्त्र अन्त्य गर्ने क्रान्ति गर्ने योजना बनाएका थिए । सिंहले भारतमा अध्ययन गर्दाका आफ्ना सहपाठी क्लारा (जो चेको संगठनमा थिए)सँग कुरा गरिसकेका थिए । यसबारे सिंहले सुवर्ण र भरतशमशेरसँग कुरा गरे । भरतशमशेर सकारात्मक भए पनि सुवर्ण नमानेको सिंहले आफ्नो जीवनमा उल्लेख गरेका छन् । (नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस, भाग–३, राजेश गौतम)

सशस्त्र आन्दोलन र भारतको असहयोग
रामराजाप्रसाद सिंहले ल्याएको प्रस्ताव त्यसै सेलायो । तर, सुवर्णको नेतृत्वमा सशस्त्र क्रान्तिको तयारी सुरु भयो । त्यसका लागि नेपाललाई पूर्व, मध्य र पश्चिम क्षेत्रमा विभाजन गरियो । पूर्वमा केशवप्रसाद कोइराला, नोना कोइराला, रिहाइपछि गिरिजा, सीके प्रसाईं, भवानीविक्रम लिम्बू तथा मध्यमा बेनीबहादुर कार्की, शशीशमशेर, सरोजप्रसाद कोइराला, रामेश्वर बाबु, तेजबहादुर अमात्य, बखानसिंह गुरुङ, शेख इद्रिस आदिलाई जिम्मा दिइएको थियो । पश्चिमतर्फ दिवाकर शर्मा, गणेशकुमार शर्मा, काशीप्रसाद श्रीवास्तव, काशीनाथ गौतम, अच्युतराज रेग्मीलगायतलाई जिम्मेवारी सुम्पिएको थियो ।

अब सेनाको तालिमका लागि भारतका १० वटा ठाउँमा क्याम्प राखियो । यी क्याम्प पूर्वदेखि पश्चिमसम्मका लागि थिए । भारतका नक्सालवाडी, पारवीसगञ्ज, दरभङ्गा, रक्सौल, नर्कटियागन्ज, गोरखपुर, बलरामपुर, टनकपुर, पिथौरागढ र झुलाघाटमा यस्ता क्याम्प राखियो । त्यहाँ गुरिल्ला तालिम दिने र हतियार सङ्कलन सुरु भयो ।

कालक्रममा कांग्रेस -१
नेपाली कांग्रेस : स्थापनाको ७५ वर्ष, १३ महाधिवेशन, आठ जनाको नेतृत्व

कांग्रेस कार्यकतालाई तालिम दिन र अप्रत्यक्षरुपमा पार्टी क्रियाकलाप निगरानी गर्न भारत सरकारले सैनिक गुप्तचर विभागका अवकाश प्राप्त नेपाली मूलका दुई अधिकृत कैलाश र पीएन मल्ललाई खटाएका थिए । तर, भारत सरकारले हतियार संकलनमा भने सहयोग गरेन । तर, सुवर्णशमशेरले केही सय नाल बन्दुक भने दिल्लीबाट सहयोग ल्याएका थिए । केही हतियार किनेर पनि राखेका थिए ।

यो आन्दोलनको सुरुवातमा मुख्य उद्देश्य ‘हान र भाग’ थियो । यस्ता छिटपुट घटनालाई सरकारले महत्त्व दिएन । त्यसैले विभिन्न पुलिस चौकीमा आक्रमण गर्ने, पुल र सरकारी सम्पत्ति ध्वस्त गर्ने काम हुन थाले । २०१८ चैत २ गतेदेखि काठमाडौँलगायत देशैभरि कांग्रेसले हिंसात्मक र ध्वंसात्मक गतिविधि गरेको थियो । सरकारको हतियार र रुपैयाँ लुटिएको थियो । पछि यो नीतिबाट पार्टीभित्र र बाहिरबाट फाइदा उठाउन थालिएको थियो । जसले आन्दोलन बदनाम हुने खतरातिर गयो ।

सरकारले पनि कांग्रेस कार्यकर्तालाई ‘अराष्ट्रिय तत्त्व’ घोषणा गरी पक्राउ र हत्या गर्ने गर्न थाल्यो । जनकपुरमा २०१८ माघ ९ गते राजा महेन्द्रमाथि बम प्रहार भएपछि सरकार झनै आक्रामक भयो । २०१८ चैत १९ मा सरकारले एउटा विज्ञप्ति प्रकाशित गरी नेपाली कांग्रेसका नेता सुवर्णशमशेर, भरतशमशेर, केशवराज पिँडाली, नरबहादुर थापा, शशीशमशेर, योगप्रसाद उपाध्याय, भद्रकाली मिश्र, सरोजप्रसाद कोइराला, द्वारिकादेवी ठकुरानीलगायत ३० जनाको सम्पत्ति जफत गरिएको जनायो । देशभरि खटिएका धेरै कार्यकर्ता पक्राउ पर्न थाले । कतिपयको प्रहरी र शाही सेनासँगको मुठभेडमा मृत्यु पनि भयो ।

कांग्रेसको आन्दोलन देशैभरि पुगिसकेको थियो । धेरै स्थानमा मुठभेड भइरहेका थिए । यसैबीच राजा महेन्द्रले उक्त आन्दोलनलाई भारतले सहयोग गरेको आरोप लगाए । विदेशमन्त्री रहेका तुलसी गिरीले त खुलेरै भारतले सहयोग गरिरहेको बताए । त्यसपछि भारत र कांग्रेसले ती आरोपको खण्डन गरे । सुवर्णशमशेरले २०१८ पुस २५ गते प्रेस वक्तव्य प्रकाशित गरी ‘राजा स्वयम् झूट’ भएको बताए । २००७ सालमा राजा देश छाडी भारत जाँदा कांग्रेसले नै फर्काएको पनि उनले उल्लेख गरे ।

यति नै बेला परराष्ट्र मन्त्रालयले एउटा ‘तुरुप’ अपनायो । अज्ञात हवाई जहाजले मुस्ताङ क्षेत्रमा तिब्बती विद्रोहीहरूका लागि हतियार खसालेको जनाउँदै ती खम्पा विद्रोहीलाई नेपालले तह लगाउने अवस्था नआउँदा चीनले आफ्नो सुरक्षार्थ सेना पठाउने प्रस्ताव गरे नेपालले टाल्न सक्ने अवस्था नरहेको परराष्ट्रका प्रवक्ताले विज्ञप्ति मार्फत जनाए । तर, यसलाई भारतले महत्त्व दिएन ।

यसैबीच २०१९ कात्तिक ४ गते भारत र चीनबीच युद्धको घोषणा भयो । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले कांग्रेसले चलाइरहेको आन्दोलन स्थगित गर्न सुवर्णशमशेरलाई आग्रह गरे । यसमा सन् १९५० को नेपाल–भारत सन्धिले पनि काम गरेको थियो । उक्त सन्धिअनुसार कुनै पनि देशमाथि अरू देशले हमला गरे एक-अर्कालाई सघाउनुपर्ने उल्लेख थियो ।

भारतको आग्रहअनुसार कांग्रेसले २०१९ कात्तिक २३ मा सशस्त्र आन्दोलन स्थगनको घोषणा गर्‍यो । यसले कांग्रेस दुई खेमामा विभाजन भयो । देशभित्रै गएर सशस्त्र आन्दोलन जारी राख्ने पक्षमा भरतशमशेर, सरोजप्रसाद कोइराला, केशवप्रसाद कोइराला, पद्मशंकर अधिकारी, बलबहादुर राई, तेजबहादुर अमात्य आदि थिए । स्थगनको पक्षमा परशुनारायण चौधरी, वासुदेव रिसाल, गणेशकुमार शर्मा, अच्युतराज रेग्मी, भद्रकाली मिश्र, काशीनाथ गौतम, जगन्नाथ आचार्य आदि थिए । सुर्वणशमशेरले सशस्त्र आन्दोलन स्थगन गर्नुपर्ने प्रमुख कारणमा भारत–चीन युद्धलाई नै उल्लेख गरेका छन् । जसलाई २०१९ कात्तिक २३ गते कलकत्तामा भएको कांग्रेस भेलाले अनुमोदन गरेको थियो ।

बीपी नेतृत्वको सशस्त्र संघर्ष पनि असफल
२०१७ पुस १ देखि थुनामा रहेका बीपी कोइराला र गणेशमान सिंह २०२५ कात्तिक १४ गते रिहा भए । त्यसको केही समयपछि नै बीपीले प्रजातन्त्र पुनः स्थापनाका लागि हिंसात्मक आन्दोलन गर्नुपर्ने विचार व्यक्त गर्न थालेका थिए । त्यसका लागि उनले भारतीय प्रधान मन्त्री इन्दिरा गान्धीसँग हतियार र एक करोड रुपैयाँ पनि मागेको बीपी स्वयंले उनको पुस्तक आत्मवृत्तान्तमा उल्लेख गरेका छन् । तर, इन्दिराबाट सहयोगको सम्भावना कम हुन थालेपछि बीपी अन्य स्रोतको खोजीमा लागेका थिए ।

यसैबीच २०२७ साउन २८ मा उनी युरोप भ्रमणमा गए । त्यही क्रममा असोज २ गते लन्डनमा पत्रकारहरूसँग भेटघाट गरे । त्यही भेटमा पहिलोपटक औपचारिक रूपमा उनले ‘नेपालमा प्रजातन्त्र ल्याउन हतियारको शरण लिनुपर्ने’ उल्लेख गरे । यसलाई त्यहाँका पत्रिकाले महत्त्व दिएर छापेपछि नेपाल सकार सजग भएको थियो ।

यता सुवर्ण भने भारतको सहयोगबिना सशस्त्र आन्दोलन सफल नहुने बताउँथे । गणेशमान बीपीकै समर्थनमा आए । बीपी अब हतियार संकलनमा लागे । त्यसका लागि चक्र बास्तोलाले उनलाई सहयोग गरे । बास्तोलाकै सहयोगमा हतियार डिलरबाट केही थान हतियार बीपीले सङ्कलन गरे ।

बीपी युरोप गएका बेला बास्तोलाले गिरिजालाई हतियारको अवैध धन्दा गर्ने डिलरसँग भेट गराएर केही हतियार किनाएका थिए । तिनीहरूलाई चाहेको बेला भनेजति हतियार उपलब्ध गराउन राजी पनि गराएका थिए । युरोपबाट आएका बीपीले तिनीहरूसँग भेटेपछि हतियार किन्न आर्थिक सङ्कलन गरे । उनले हतियार किनेर आफ्नै निवासमा बाकसहरूमा राखी काम्लोले छोपेका थिए ।

कालक्रममा कांग्रेस-२
२००७ सालको क्रान्ति : सुवर्णको सशस्त्र संघर्षको नीतिमा बीपी सहमत, गिरिजाको विरोध

२०२७ चैत १३ गते पाकिस्तानबाट स्वतन्त्र हुन पूर्वीपाकिस्तान भनिने बङ्गलादेशमा गृहयुद्ध सुरु भयो । तर, त्यहाँका स्वतन्त्रता सेनानीसँग पुग्दो हतियार रहेनछ । उनीहरूले बीपी कोइरालासँग हतियार भएको भारतीय नेताबाट थाहा पाएछन् । अनि बीपीलाई पछि फिर्ता दिने सर्तमा हतियार मागे । उनले पनि त्यस बेलासम्म जम्मा भएका एक ट्रक हतियार दिए । ती हतियार पुर्‍याउन चक्र बास्तोला, सुशील कोइराला र सुधीर उपाध्याय बङ्गलादेशसम्मै गएका थिए । हतियार चलाउन सिकाउन बीपीले दिलबहादुर राईलाई त्यसतर्फ पठाएका थिए ।

यस्तै क्रम चल्दै गर्दा बीपीले २०२८ असोज ३ गते दिल्लीबाट प्रकाशित हुने ‘दी इन्डियन एक्सप्रेस’मा अन्तरवार्ता दिँदै राजा महेन्द्रले बहुसङ्ख्यक नेपालीको माग नस्विकारे सशस्त्र संघर्ष गर्ने चेतावनी दिए । तर, कांग्रेस कार्यवाहक सभापति सुवर्णले भने असोज २६ मा वक्तव्य निकाली बीपीसँग असहमति जनाए । उनले प्रजातन्त्र प्राप्तिका लागि हिंसा उचित नहुने बताएका थिए । सुवर्णको वक्तव्यप्रति पनि बीपीले असहमति जनाए ।

यहीबीच योगेन्द्रमान शेरचन, दिवानसिंह राईजस्ता नेताको हत्या भयो । झोडा काण्डमा प्रहरीबाट १२ जनाको हत्या भयो । जदुकोहा काण्डमा पुलिसको गोलीबाट ६ जनाको मृत्यु भयो । राज्यको दमन चर्को हुन थाल्यो ।

२०२९ सालमा बीपीले सशस्त्र संघर्षको तयारी थाले । त्यसका प्रमुख सञ्चालकमा आफूसहित गणेशमान सिंह, भरतशमशेर, गिरिजाप्रसाद कोइराला, बेनीबहादुर कार्की आदिलाई राखेका थिए । सुरुमा आवश्यक रकम भरतशमशेरले उपलब्ध गराएका थिए । कोष सञ्चालक बेनीबहादुर कार्की थिए ।

संघर्षको प्रत्यक्ष व्यवस्थापन गर्ने जिम्मा गिरिजाप्रसाद कोइरालालाई दिइएको थियो । उनले सुरुमा फारवेसगन्ज र पछि पूर्णियामा क्याम्प राखेका थिए । फारवेसगन्जमा यज्ञबहादुर थापाको नेतृत्वमा मुक्तिसेनाको क्याम्प र आफ्नै नेतृत्वमा राजनीतिक क्याम्प खोलेका थिए । मुक्तिसेनाको क्याम्पमा सैनिकहरू जम्मा गर्ने, तालिम दिने र सम्बन्धित ठाउँमा पठाइन्थ्यो । मुक्तिसेनामा भूतपूर्व नेपाली सेना, भारतीय सेना र ब्रिटिस सेनालाई भर्ना गरिएको थियो । तर, सुवर्णशमशेरको सहयोग नहुँदा आर्थिक कारण सशस्त्र संघर्ष सुरु भइसकेको थिएन ।

२०२९ भदौ ९ गते सप्तरीको हरिपुर चौकीमा आक्रमण गरेर सशस्त्र संघर्ष सुरु भयो । एक जना प्रहरीको मृत्यु भएर चौकी कब्जा भयो । आक्रमणकारी भारत फर्के । यसबारे नेपाल सरकारले कडा आपत्ति जनाएपछि भारतले आक्रमण गर्नेलाई गिरफ्तार गर्न आदेश दियो । केही कार्यकर्ता गिरफ्तारीमा पनि परे । उनीहरूलाई गिरिजाले छुटाएका थिए । यो आक्रमण आफूसँग सल्लाह नगरी गरेको भनेर बीपी गिरिजासँग रिसाए । कार्यवाहक सभापति सुवर्णले पनि त्यसप्रति असहमति जनाए ।

नेपाली कांग्रेस समर्थित मुक्तिसेना देशका विभिन्न भागमा पुगिसकेको थियो । उनीहरूले हतियार बन्द आक्रमण गर्न थाले । यो क्रममा कतिपय कार्यकर्ता बमसहित पक्राउ परे भने कतिपयको हत्या हुन थाल्यो । भारतको मधुवनीमा सरोज कोइरालाको शङ्कास्पद हत्या भयो । उता कांग्रेस कार्यकर्ताले सर्लाही सदरमुकामको बैंक र भन्सार लुट्ने प्रयास गर्दा एक जना हवलदारको मृत्यु भयो । यस्ता घटना लगातार हुन थाले ।

यो संघर्षमा आर्थिक संकट हुने भएपछि पैसा बोकेर विराटनगरबाट काठमाडौँका लागि उडेको विमान दुर्गा सुवेदी, वसन्त भट्टराई र नगेन्द्र भट्टराईले अपहरण गरेर भारत फारवेसगन्ज पुर्‍याए । उक्त विमानमा विराटनगरको नेपाल राष्ट्र बैंकको शाखाबाट ३० लाख भारु पठाइँदै थियो । यो घटनाको पनि सुवर्णले विरोध गरे । अब बीपी र सुवर्णको सम्बन्ध बिग्रन थालेको थियो ।

२०३० चैत ३ मा राजा वीरेन्द्रमाथि विराटनगरमा बम प्रहार भयो । उक्त घटनामा दोषी ठहर गर्दै सरकारले भीमनारायण श्रेष्ठको हत्या गर्‍यो । त्यस्तै २०३१ वैशाख २२ गते तत्कालीन निर्माण तथा यातायातमन्त्री प्रयागराजसिंह सुवालमाथि ग्रिनेड प्रहार भयो । उनलाई केही भएन । यो काण्ड गराएको आरोपमा धेरै जना गिरफ्तारीमा परे । यही क्रममा २०३१ साउन ३० मा महोत्तरीको मटिहानी प्रहरी चौकीमा आक्रमण भयो । यो आक्रमणमा केशवप्रसाद कोइराला प्रहरीबाट मारिए ।

२०३१ पुस १ गते भएको टिम्बुरबोटे काण्डमा राम र लक्ष्मण उपाध्यायसहित १६ जना मारिए । यस घटनामा संलग्न भएको आरोपमा दर्जनौँ गिरफ्तारीमा परे । यज्ञबहादुर थापालाई मृत्युदण्ड भयो ।

कांग्रेसको सशस्त्र संघर्षको सुवर्णशमशेरले खुलेरै विरोध गरिरहेका थिए । यस विषयमा जेलमा रहेका कृष्णप्रसाद भट्टराई पनि असहमत थिए । उता भारतमा इन्दिरा गान्धीले २०३२ असार ११ गते संकटकाल घोषणा गरी सबै विपक्षी नेताहरूलाई गिरफ्तार गरिन् । बीपीसँग घनिष्ठ सम्बन्ध भएका समाजवादी नेता जयप्रकाश नारायणलगायत गिरफ्तारीमा परेपछि भारतीय भूमि कांग्रेसअनुकूल भएन ।

सोलु–ओखलढुंगा अभियान असफल भएर टिम्बुरबोटेमा १६ जनाको हत्या भएपछि बीपी निराश थिए । जेलबाट छुटेर बनारस पुगेका कृष्णप्रसादले पनि यो अभियान रोक्नुपर्ने बताए । अब हतियारबन्द संघर्ष त्यागेर देशभित्रै गई अहिंसात्मक आन्दोलन गर्ने उनले निर्णय गरे । त्यसपछि उनी राजासँग ‘मेलमिलाप’को नीति लिई २०३३ पुस १६ गते नेपाल फर्किए । यसरी नेपाली कांग्रेसले गरेको दोस्रो सशस्त्र संघर्ष पनि असफल भयो । यसले कांग्रेसलाई ठूलो क्षति गराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *