टिप्पणी

कोइराला पक्षको ‘ओभर कन्फिडेन्स’ले गुम्यो प्रदेश १

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को अधिवेशन बिहीबार नै गर्ने तयारी थियो । दिउँसो २ बजे गर्ने भनिएको उद्घाटन कार्यक्रम नै हुन सकेन । नेताहरूले प्राविधिक करणले भने पनि उद्घाटन कसले गर्ने भन्नेमा विवाद भएको बत्ताइन्थ्यो । बिहीबारको कार्यक्रम शुक्रबार बिहान ८ बजे गर्ने भनेर सर्‍यो ।

यता कार्यक्रम पछि धकेलिँदै थियो भने नेताहरू आफ्ना कुन नेता दरिला हुन् भनेर जाँच्नमै व्यस्त थिए । देउवा-सिटौला पक्षले आफ्ना उम्मेदवार उद्धव थापालाई साझा उम्मेदवारको रूपमा अघि सारिसकेको थियो भने कोइराला पौडेल पक्षभित्र भने विवाद देखिएको थियो । प्रदेशको राजनीतिमा सक्रिय रहेका नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला आफू प्रदेशमा चुनाव जित्ने दाबीका साथ अघि सरेका थिए भने केन्द्रीय राजनीतिमा सक्रिय रहेका गुरुराज घिमिरे पनि प्रदेशको पहिलो सभापति आफू नै बन्ने तयारीमा थिए ।

दुवै जनालाई डा. शेखर कोइरालाले राखेर उम्मेदवार टुङ्ग्याउँदै गर्दा उनले घिमिरेलाई नै सभापतिको योग्य ठाने । उनी केन्द्रमा राजनीति गरेको नेता भएको कारण संघीयताको मर्म अनुसार नहुने भन्दै कोइराला छलफल स्थलबाट रिसाएर बाहिरिएका थिए । कोइरालाले सभापतिको उम्मेदवारको लागि टिकट नपाएकोमा कार्यकर्ताहरूलाई पनि चित्त बुझेको थिएन । शुक्रबार कार्यक्रम स्थलमा कार्यकर्ता तथा नेताहरू आशंका गर्दै थिए, ‘कोइराला पक्षबाट उम्मेदवार सही चयन भएन की ।’

शुक्रबारको उद्घाटन सत्रको कार्यक्रम स्थलमा डा. शेखर कोइराला बिहानै देखि सक्रिय देखिन्थे । प्रदेश अधिवेशनको उद्घाटन स्थलमा नेता कार्यकर्तालाई भेट्ने, कुराकानी गर्नमा व्यस्त थिए । कार्यक्रम स्थलमै थिइन् सुजाता कोइराला, मिनेन्द्र रिजाल, महेश आचार्य पनि देखिन्थे । त्योसँगै थुप्रै नेताहरू मञ्चमा देखिए । मनोनयन दर्ता भयो सभापतिको उम्मेदवार सहित प्यानल नै चुनावी मैदानमा देखिए । त्यो बेलासम्म पनि कोइराला समूहका नेताहरू आफूहरू चुनाव जित्नेमा ‘ओभर कन्फिडेन्स’ देखिन्थे ।

चुनावी मैदानमा देखिएका थापा र घिमिरेमध्ये कोइराला पक्ष आफ्नै उम्मेदवारले चुनाव जित्ने दाबी गर्दै थिए । जब मतदानको प्रक्रिया अघि बढ्यो अघिल्लो दिन त्यहाँ देखिएका केन्द्रीय नेताहरूको अनुहार देखिएन । शनिबार बिहान पत्रकार सम्मेलन गरेर पार्टी उपसभापतिको घोषणा गरेर आचार्य मतदान नै नगरी १० बजे काठमाडौँ तर्फ गए भने विराटनगरमै रहेका डा. कोइराला तथा सुजाता कोइरालाले पनि आफ्ना उम्मेदवारलाई मतदान गरेनन् । आफूहरूले मतदान नगर्दा पनि जित्ने निश्चित भएको बताई रहँदा जब उम्मेदवारले २ मतले हारे अनि कोइराला समूहका नेता कार्यकर्ता आक्रोशपूर्ण अभिव्यक्ति दिन थाले ।

डा. कोइरालाका उम्मेदवार घिमिरेले ८४२ मत पाएका थिए भने अर्को सिटौला देउवा पक्षका उम्मेदवारले ८४४ मत पाएका थिए । यो अवस्थामा आउँदासम्म नेताहरू आफ्नै कारण उम्मेदवारले हारेको भन्दै क्षमा माग्ने अवस्थामा पुगे । डा. कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आफ्नो कारणबाट कुनै कमी कमजोरी भए क्षमा चाहन्छु ।’ त्यस्तै सोही समूहका नेता महेश आचार्यले पनि आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । महेश आचार्यले भनेका छन्, ‘मेरो अनुमानमा त्रुटि चैँ भएको हो, मतदान गरेर काठमाडौँ फर्किनु पर्ने थियो ।’

कोइराला-पौडेल पक्षलाई आफ्नो ‘गड’ मा भोग्नुपरेको पराजयले झस्का दिएको छ । अर्को तिर युवा पुस्तामा लोकप्रिय मानिएका नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका घिमिरे तुलनात्मक रूपमा कम चिनिएका थापासँग पराजित हुनुले कांग्रेस मतदाताको रोजाइमा गुट नै प्राथमिकतामा पर्ने हो कि भन्ने देखाएको टिप्पणी विराटनगरमा हुन थालेको छ ।

अर्कोतिर कोइराला-पौडेल पक्षले टिम छनोटमा ध्यान नपुर्‍याएको आलोचना पनि उनीहरूकै पक्षका नेताहरू गर्न थालेका छन् । मुख्यगरी पदाधिकारीमा घिमिरे प्यानलमा समावेशी अनुहार समेट्न नसकेको, केन्द्रीय पदाधिकारीमा चर्चा हुने गरेका घिमिरेलाई प्रदेशमा ल्याउँदा प्रदेशको आन्तरिक सन्तुलन केही बिग्रेको लगायत फ्याक्टरले पनि काम गरेको देखिन्छ । सँगै, देउवा पक्षले प्रदेश १ मा पहिलेभन्दा आफ्नो अवस्था सुधार गर्नु यो नतिजाको सबैभन्दा मुख्य कारण हो ।

सम्बन्धित समाचार
-कांग्रेस प्रदेश १ को सभापतिमा थापा विजयी, गुरुराज दुई मतले पराजित
-पुनः मतगणना गर्न माग गर्दै गुरुराजले दिए निवेदन
-प्रदेशले पुनः मतगणना नगर्ने, घिमिरेको निवेदन केन्द्रीय निर्वाचन समितिमा
-गुरुराज पराजित भएपछि शेखरले मागे माफी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *