नीफ : बुझ्दै-बुझाउँदै, उठ्दै-उठाउँदै
राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न

काठमाडौँ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ (नीफ) ले राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न गरेको छ । विगत लामो समययता खासगरी आदिवासी जनजाति महिलाहरूको हक, हित र अधिकारको पक्षमा वकालत गर्दै आएको नीफले शुक्रबार मरामर्श कार्यक्रम सम्पन्न गरेको हो । काठमाडौँको ठमेलस्थित मर्स्याङ्दी होटलमा सम्पन्न कार्यक्रममा सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिमलगायतका जिल्लाहरूबाट सहभागीहरू थिए ।
कार्यक्रममा अधिवक्ता भीम राईले ‘आदिवासीहरूको सवाल’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । अधिवक्ता राईको कार्यपत्रमा समग्रमा आदिवासी जनजातिहरूको सामाजिक मान्यतादेखि उनीहरूको प्रथाजनित कानूनसम्मको चर्चा थियो । निष्कर्षमा अधिवक्ता राईले विगतमा अदिवासी जनजातिहरू राज्यबाट पनि हेपिएको सुनाए । यद्यपि पछिल्लो समय आदिवासी जनजातिहरू आफैँ सचेत हुँदै गएको र राज्यलाई खबरदारी गर्न थालेको दृष्टान्त सुनाए । ‘अब त आदिवासी जनजातिहरू आफैँ पनि केही सचेत भए,’ कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता राईले भने, ‘अब आफ्नो भाषा, संस्कृति र प्रथाजनिक विषयवस्तुहरूको खोजीनीति गर्न थाले । यो सुखद् पक्ष भएपनि राज्य अझै पनि आदिवासी जनजातिहरूप्रति पूर्ण रूपले सहमत भएको आमअनुभूति हुँदैन ।’
नीफले यसअघि नै कर्णाली प्रदेशको सुर्खेतमा दुईपटक आदिवासी जनजाति महिलाहरूलाई ‘नेतृत्व विकास र जनपैरवी’ सँगै आदिवासी जनजातिहरूको नीति, नियम तथा प्रथाजनित कानूनलगायतका बारेमा तालिम दिइसकेको थियो । उक्त कार्यक्रममा जननिर्वाचित आदिवासी जनजाति जनप्रतिनिहिरूको समेत सहभागिता रहेको थियो । उक्त कार्यक्रममा सहभागिता जनाएका सहभागीहरूले पनि शुक्रबार (आज) को कार्यक्रममा आफूले जाने/बुझेको कुरा सुनाएका थिए । यस्तै उनीहरूले आफूहरू आदिवासी जनजाति समुदायलाई बुझाउने कोसिसमा रहेकोसमेत बताएका थिए ।
कार्यक्रममा आदिवासी विज्ञ कृष्ण भट्टचन, राष्ट्रिय महिला आयोगकी सहसचिव अञ्जु ढुङ्गानालगायतको सहभागिता रहेको थियो । उनीहरूले समग्रमा आदिवासी जनजाति समुदाय सकारात्मक दिशाउन्मुख रहेको बताए । कार्यक्रमको विसर्जन गर्दै नीफकी अध्यक्ष चिनिमाया माझीले आदिवासी जनजातिहरू विगतका दिनदेखि नै राज्यको दमनमा रहेको भएपनि पछिल्लो समय आशा गर्न सकिने ठाउँमा पुगेको बताइन् ।








