लोकतन्त्र ‘अपहरित’ भएको छ, पुनः स्थापना आवश्यक- केपी ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको लोकतान्त्रिक व्यवस्था ‘अपहरित’ अवस्थामा रहेको भन्दै यसको सुदृढीकरणभन्दा फर्काउनुपर्ने अवस्था रहेको टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने ‘नेपालको बलिदानपूर्ण लामो संघर्ष, त्याग र तपस्याबाट ल्याएको लोकतन्त्र वास्तवमा अपहरित भएको छ । आज लोकतन्त्रको सुदृढीकरण होइन लोकतन्त्रको वापसीको आवश्यकता छ । लोकतन्त्र कहाँ छ ? चुनावको आयोजन आफैँमा लोकतान्त्रिक अभ्यास त होला तर त्यो चुनावको आयोजन कस्तो परिस्थितिमा कस्तो अवस्थामा केका लागि गरियो त्यो महत्त्वपूर्ण छ । चुनावले मात्रै लोकतन्त्र हुँदैन ।’

उनले निर्वाचन मात्रै लोकतन्त्रको सुनिश्चित आधार नहुने बताए । उनले चुनाव कुन स्थिति, उद्देश्य र कस्तो वातावरणमा भयो भन्ने आधारमा लोकतन्त्रको मापन हुनसक्ने बताइन् । उनले विभिन्न देशमा नियमित चुनाव भएपनि लोकतन्त्र कमजोर वा अपहरित अवस्थामा रहेको उल्लेख गर्दै नेपाल समेत त्यस्तै अवस्थामा पुगेको टिप्पणी गरे ।

उनले संविधान संशोधन नभई संविधानको रक्षा अहिलेको अपरिहार्य आवश्यकता रहेको बताए । उनले गत वर्षको भदौमा भएको जेन–जी आन्दोलनलाई हिंसात्मक घटनाको संज्ञा दिँदै वैधानिक सरकारलाई अवैधानिक ढंगबाट फालिएको टिप्पणी गरे ।

उनले भने ‘भदौ २३, २४मा जुन भयानक क्षति गराउने, मार्ने, मराउने, आगजनी गराउने कार्य भयो । राणा शासनका विरुद्धको सङ्घर्षमा यस्तो भएन । राणाहरूका घर आगो लगाइएन । सात सालमा पनि दरबारहरू जलाइएन । त्यसपछिका सङ्घर्षहरूमा ४६ मा पनि गरिएन । ६२, ६३ मा पनि त्यस्तो गरिएन । माओवादीले सत्ता कब्जा गर्नका लागि हिंसात्मक बाटो उपयुक्त छ भनेर त्यो बाटो समात्यो तर यस्ता आगजनी, लुटपाट, तोडफोडका उपद्रवकारी, आतङ्कपूर्ण क्रियाकलापहरू गरेर समाजलाई आतंकको, भयको नियन्त्रणमा राख्ने क्रियाकलाप गरेन ।’

उनले सरकारले समाजलाई आतंक र भयको नियन्त्रणमा राख्ने उद्दत रहेको आरोप पनि लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 17 =